पाठेघर खसेका हलेसीका २८ महिलाको बनेपामा शल्यक्रिया, दिक्तेलमा तीनदिने आँखा जाँच

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 5 mins

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघर खसेका २८ जना महिलाको बनेपामा शल्यक्रिया सुरु गरेको छ । शल्यक्रियामार्फत उपचार गर्नुपर्ने देखिएका ३२ जनामध्ये २८ जनालाई सोमबार बनेपास्थित शिर मेमोरियल अस्पताल पु¥याएर शल्यक्रिया सुरु गरेको हो ।

अन्य चारजना उपचारमा नगएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो गत माघ १ देखि ९ गतेसम्म नगरपालिकाका सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर पाठेघरको रोग पहिचान र उपचार गरिएको थियो । जसमा ३२ जना पाठेघर खसेका महिलाहरुको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो ।

उहाँहरुलाई सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको सहयोगमा निःशुल्क उपचार गर्न लगिएको हो । अस्पताल पुगेका २८ जनामध्ये १० जनाको सोमबारबाट उपचार प्रक्रिया सुरु भएको छ । त्यसपछि अन्यको उपचार प्रक्रिया सुरु हुनेछ ।

उपचारका लागि पाठेघर खसेका २८ जना महिला, उहाँहरुको एक÷एक जना कुरुवासहित मेयर विमला राई, उपमेयर रमेश कुमार राउत, सामाजिक विकास संयोजक एवं वडा नम्बर १ का वडाध्यक्ष रुद्रकुमार राई, स्वास्थ्य शाखा संयोजक घिमिरे, अर्खौले स्वास्थ्य चौकीका प्रमुख विवेक पराजुली लगायतको समुह बनेपा पुग्नुभएको छ ।

नगरपालिकाले १० दिनसम्म घरघरमै पुगेर सञ्चालन गरेको पाठेघर रोगको पहिचान र उपचार कार्यक्रमबाट २२५ जनाले सेवा लिएका थिए । तत्कालै १०६ जना महिलाको पाठेघरमा रिङ प्रेसरी राखिएको छ । १०४ जना महिलाको पिआइडी(पाठेघर सम्बन्धी संक्रामक रोगको उपचार) गरिएको छ । आवश्यकता अनुसार औषधि वितरण र परामर्श दिइएको संयोजक घिमिरेले बताउनुभयो ।

दिक्तेलमा तीनदिने आँखा जाँच तथा शल्यक्रिया शिविर

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । मंगलबारदेखि बिहीबारसम्मका लागि जिल्ला आयुर्वेद अस्पताल दिक्तेलमा शिविर सञ्चालन गरेका हुन् ।

नगरपालिका र विपि कोइराला लाइन्स आँखा अध्ययन केन्द्र माहाराजगञ्ज काठमाण्डौको आयोजना तथा नेत्र ज्योति संघ दिक्तेलको सहकार्यमा सुरु भएको शिविरमा आँखा जाँच, मोतिविन्दुको शल्यक्रिया, आवश्यकता अनुसार निःशुल्क औषधि वितरण र ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण गरिनेछ ।

शिविरमा १ हजार जनाको आँखा जाँच तथा सय जनाको मोतिविन्दुको शल्यक्रिया गर्ने लक्ष्य राखिएको नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी खेमराज आचार्यले जानकारी दिनुभयो ।

आँखा जाँच तथा शल्यक्रियाका लागि विपि कोइराला लाइन्स आँखा अध्ययन केन्द्र माहाराजगञ्जका सह–प्राध्यापक डाक्टर रञ्जु खरेल सिटौलाको नेतृत्वमा १३ जना चिकित्सकको टोली दिक्तेल आएको शिविर इन्चार्ज रमेश प्रधानले बताउनुभयो ।

शिविरमा उपचार तथा शल्यक्रिया गर्न संम्भव नभएकालाई काठमाण्डौस्थित शिक्षण अस्पतालमा झिकाएर उपचार गर्ने लक्ष्य रहेको इन्चार्ज प्रधानले सुनाउनुभयो । उहाँका अनुसार शिविरमा चेक गरेको कागजात र नगरपालिकाको सिफारिसका आधारमा काठमाण्डौमा पनि उनीहरुको निःशुल्क उपचार गरिनेछ ।

मेयर तीर्थराज भट्टराईको अध्यक्षतामा शिविरको जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले उद्घाटन गर्नुभएको थियो । शिविरमा सेवा लिन ज्येष्ठ नागरिक सबैभन्दा बढी आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?