टर्की भूकम्प : छत्तीस हजारभन्दा बढीको मृत्यु

एक सय ७५ घण्टापछि एकजनाको जीवितै उद्धार

Read Time = 2 mins

इस्तानबुल । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीका दशवटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ ।

भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्कीमा उद्धारकर्मी अझै संघर्ष गरिरहेका छन् भने भूकम्पको एक सय ७५ घण्टापछि एक जनालाई जीवितै उद्धार गरिएको छ । टर्की सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौं निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् ।

विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्वयंसेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ । सिरिया सोमबारदेखि राष्ट्रिय शोकको घोषणा गर्दै ती स्वयंसेवी संस्थाहरूले देशको राष्ट्रिय झण्डा आधा झुकाएका छन् ।

दुवै देशका भूकम्पपीडित आंशिकरूपमा क्षतिग्रस्त भएका आफ्ना घरमा फर्कन डाराइरहेका छन् । प्रतिकूल परिस्थितिका कारण आफ्ना भत्केका भवनको पुनर्निर्माणमा लाग्न उनीहरूलाई कठिनाइ भएको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?