मनलाग्दी सवारी भाडाले यात्रु मारमा

हिमालय टाइम्स
Read Time = 5 mins

हुम्ला । हुम्लाको सल्लीसल्लादेखि ताजाँकोट गाउँपालिकाको कबाडीसम्म सडकको दूरी ३९ किलोमिटर मात्र छ । तर, यो सडकमा यात्रा गर्दा एक हजार दुई सय रुपैयाँसम्म भाडा बुझाउनुपर्छ । यात्रुसँग चर्को भाडा असुल्ने यिनै यातायात व्यवसायीकै सहमतिमा १६ फागुन ०७८ मा जिल्ला प्रशासन कार्यालयले ३१३ रुपैयाँ भाडादर निर्धारण गरेको थियो । निर्धारित दरभन्दा व्यवसायीले यात्रुसँग उठाउँदै आएको भाडा झण्डै चार गुणाले बढी हो ।

गत साता सुर्खेत झर्ने क्रममा चंखेली गाउँपालिका-३ का धनमान ऐरीले सल्लीसल्लादेखि कबाडीसम्म जिपमा यात्रा गर्दा एक हजार दुई सय भाडा तिरेको बताउनुभयो । ‘सल्लीसल्लादेखि कबाडीसम्म जिपले एक हजार दुई सय भाडा लियो । १६ फागुन ०७८ मा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा जिल्लाका सरोकारवाला निकाय र यातायात व्यवसायी समेतको बैठकले अस्थायी रुट परमिट र जिल्लाभित्रका सडकखण्डको भाडादर निर्धारण गरेको थियो । तर, उक्त भाडादर कार्यान्वयन भएको छैन ।

सर्केगाड गाउँपालिका केन्द्रदेखि चंखेली गाउँपालिकाको सल्लीसल्लासम्म १० किमि कच्ची सडकको भाडादर ८० रुपैयाँ तोकिएकोमा व्यवसायीले पाँच सय असुल्दै आएका छन् । त्यस्तै, सर्केगाड-१ को खच्चादेखि भुज्माधारासम्म पाँच किमि कच्ची सडकमा ४० रुपैयाँ भाडा तोकिएकोमा व्यवसायीले तीन सयसम्म लिने गरेका छन् । अदानचुली गाउँपालिकाको गल्फागाडदेखि श्रीनगर बजारसम्म १० किमिको ८० रुपैयाँ भाडा निर्धारण भएकोमा व्यवसायीले दुई सय असुल्दै छन् ।

ताजाँकोट गाउँपालिकाको कबाडीदेखि ताजाँकोट गाउँपालिका केन्द्र छप्रेला चाँखुरेसम्म ११ किमि छ । जसको भाडादर ८८ रुपैयाँ निर्धारण गरिएकोमा व्यवसायीले तीन सय उठाउँछन् । त्यस्तै, लयटादेखि काडागाउँसम्म ५६ र छप्रेलादेखि नैकालासम्म ३२ रुपैयाँ भाडादर कायम गर्ने सहमति गरेको व्यवसायीले दुई सयका दरले असुल्दै आएका छन् ।

हुम्ला सदरमुकामा सिमकोटदेखि हिल्सासम्म पनि भाडादरमा ठगी अचाक्ली छ । जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायीसँगकै सहमतिमा ९५ किमिको यो सडकको भाडादर ९५० रुपैयाँ कायम गरेको थियो । तर, अहिले व्यवसायीले दुई हजार रुपैयाँ असुल्ने गरेका छन् । सिमकोट-खार्पुनाथ खण्डको १२ किमि कच्ची सडकको भाडादर १२० रुपैयाँ तोकिएको थियो । तर, व्यवसायीहरूले आठ सय रुपैयाँसम्म लिने गरेका छन् ।

सर्केगाड-३ उनापानीकी बाली फडेराले ४ माघमा सर्केगाडको पालिका केन्द्रदेखि सल्लीसल्लासम्म पाँच सय रुपैयाँ र सल्लीसल्लादेखि बाजुराको धुलाचौरसम्म एक हजार सात सय भाडा तिरेको गुनासो गर्नुभयो । धुलाचौरबाट बाजुराकै पिलुचौर पुग्दा थप पाँच सय तिरेको उहाँको भनाइ छ । त्यस्तै, पिलुचौरदेखि कालिकोटको लालिघाट पुग्दा अर्को दुई हजार भाडा लागेको उहाँ बताउनुहुन्छ । हुम्लाका नागरिक प्रदेश राजधानी सुर्खेत आउन बाजुरा, कालिकोट हुँदै यात्रा गर्नुपर्छ । ‘पालिका केन्द्रबाट प्रदेश केन्द्र सुर्खेतसम्म पुग्दा सात–आठ हजार खर्च भयो । होटेलमा पनि बस्नुपर्ने भएपछि गाडीभन्दा त जहाज नै चढ्दा पो सस्तो पर्नेजस्तो देखियो,’ फडेराले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?