नेपाली गीत संगीतको फाँटमा आफ्नै राजमार्गमा हिँडिरहेको नाम हो कृष्ण काफ्ले । अहिलेसम्म पाँच सयभन्दा बढी गीतमा स्वर दिएको बताउनुहुने काफ्लेको पहिलो गीत २०६५ सालमा ‘आँशुमा डुबाउन्न भन्थ्यौ’ आएको थियो । यसबाट उहाँले सबैको राम्रो प्रतिक्रिया पाउनुभयो । जसले अगाडि बढ्न उहाँलाई थप ऊर्जा मिल्यो । गायनमा मात्रै नभएर काफ्लेले गीत लेख्न र संगीत भर्नमा पनि आफूलाई अगाडि बढारहनुभएको छ । तर, उहाँको चर्चा गायनमा नै हुने गर्छ । उहाँको स्वरमा रहेका गीत ‘देखन चम्पा सुनन चम्पा’, ‘पर्ख पर्ख मायालु’, ‘तिम्रो पिक्चर हिट’, ‘ताला चाही’, ‘मैले बोलेको छैन ढाँटेर’, ‘सके हसाउँछु नसके तिमीलाई रून दिन्न’, ‘चोलीको तुना’, ‘चाखुम चाखुम’, ‘फूल जस्तो रूप तिम्रो’, ‘माया बस्यो’, ‘लाइँदैन माया पिरती’लगायत थुप्रै गीतमार्फत् उहाँ श्रोता/दर्शकको मनमस्तिष्कमा राज गर्न सफल हुनुभएको छ । हरेक विधाका गीतहरू गाउन सक्ने आफूमा खुबी रहेको दाबी गर्नुहुने स्रष्टा कृष्ण काफ्लेसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः–
गायनमा कहिलेदेखि हुनुहुन्छ ?
१७/१८ वर्षको निरन्तर यात्रा चलिरहेको छ ।
कसरी आउनुभयो यो क्षेत्रमा ?
६÷७ कक्षा पढ्दादेखि नै स्कुलबाट भागेर फिल्म हेर्न जाने बानी लाग्यो र पछि–पछिका दिनहरूमा फिल्ममा सुनेका गीतहरू गुनगुनाउने बानी बस्यो, त्यसपछि आफ्नै घरको झ्यालढोका थुनेर आफ्नो कोठामा मन परेको गीत गाउने गर्थेँ, सबैलाई थाहा भइसकेपछि जहाँ पनि गाउनलाई साथीभाइले प्रेरित गर्ने र गाउँदै जाँदा काठमाडौंमै आएर सिकेर राष्ट्रियस्तरकै गायक बन्ने सपना बोकेर धेरै चोटिको प्रयासपश्चात् काठमाडौं आएर सिक्न सफल भएको थिएँ ।
यहाँको श्रोता/दर्शकमाझ आएको पहिलो गीत कुन थियो ?
२०६५ सालमा मेरो औपचारिकरूपमा पहिलो गीत ‘आँशुमा डुबाउन्न भन्थ्यौ’ आएको थियो । यसबाट मैले सबैको राम्रो प्रतिक्रिया पाएँ । जसले अगाडि बढ्न मलाई थप ऊर्जा मिल्यो । म गीत लेख्ने तथा संगीत पनि भर्छु । दोस्रो गीत स्वरूप आफ्नो शब्द/संगीतमा मनोजराजको स्वरमा ‘चोट दिने माया’ श्रोता/दर्शकमाझ आएको थियो । त्यसपछि २०६७ सालतिर मैले गाएको चलचित्रको गीत आयो, ‘दबाब’को ‘तिम्रो पावरफुल बैंशको झड्काले’ । त्यसपछि ‘लव यु बाबा’को टाइटल गीतले पनि मलाई एकखालको पहिचान दिलायो ।
कृष्ण काफ्ले को हो ?
कृष्ण काफ्ले गीत संगीतको क्षेत्रमा निस्वार्थ भावनाले संघर्ष गरेर आजको दिनसम्म आइपुग्दा गीत संगीतको माध्यमबाट आफूले जाने, बुझेको र सकेसम्म सकारात्मक सन्देश बाँड्दै नेपाली कला संस्कृति र भाषाको प्रवद्र्धन साथै जगेर्ना गर्न खोज्ने व्यक्ति भन्दा फरक नपर्ला ।
जीवनलाई कसरी परिभाषित गर्नुहुन्छ ?
हरेक मानिसको जीवनमा केही न केही चाहना हुने गर्छ, त्यसैअनुरूप मानिसले एउटा सपना बोकेर आफ्नो जीवनलाई पूर्ण बनाउनका निम्ति संघर्ष गर्छन् र त्यो सफलता पूरा भएको महसुस गर्छन् । र, त्यसपश्चात् पनि बाँचुन्जेल दुःख गर्ने गर्छन् । यसको मतलब जीवन जिउनलाई दुःख, सुख दुवैमा आफूलाई संयम राख्न सक्नु पनि ठूलो कला हो जस्तो लाग्छ ।
गीत संगीत के हो ?
गीत संगीत मानिसको जीवनको एउटा पाटो हो । मानिसले जीवनमा भोगेका तितामिठा अनुभवहरू, भोगाइहरूलाई नै गीत संगीतको माध्यमबाट सबैमाझ प्रस्तुत गर्ने गरिन्छ ।
यहाँको करिअरको ‘ट्रनिङ प्वाइन्ट’ कुन गीतलाई लिनुहुन्छ ?
सुपर–डुपर हिट गीतहरू आउनुअगावै सयौं गीतहरू गरेको थिएँ । तर पनि धेरैले चिन्नुहुन्थेन । जब ‘देखन चम्पा सुनन चम्पा’, ‘पर्ख पर्ख मायालु’, ‘तिम्रो पिक्चर हिट’ जस्ता गीतहरूले नेपालका उत्कृष्ट ब्यानरमार्फत् नेपाली श्रोताहरूको मन जित्न सफल भए त्यसपछि मेरो व्यस्तता झनै बढ्यो । त्यसैले यिनै गीतहरूलाई आफ्नो व्यस्तताको ‘ट्रनिङ प्वाइन्ट’ मान्छु ।
यहाँले सबै प्रकारका गीत गाउनुभएको छ ? प्रायः विदेशका कार्यक्रममा व्यस्त हुनुहुन्छ, कतिवटा देशमा भ्रमण गर्नुभयो कार्यक्रमका सिलसिलामा ?
मसँग सहकार्य गर्ने सबै सर्जकहरूले फरक–फरक धारका सिर्जनाहरूमा मलाई विश्वास गर्नुभयो । जसले मैले गर्न सक्छु भनेर सम्झिनुहुन्छ र मैले पनि सर्जकहरूका आशा र भरोसालाई अहिलेसम्म निराश हुने ठाउँ दिएको छैन । त्यसो त, मैले गाएका हरेक गीतबाट श्रोताहरू तथा शुभचिन्तकहरूबाट मैले पनि नसोचेको निकै राम्रा प्रतिक्रियाहरू पाइरहेको हुन्छु । यसले एकदम खुसी लाग्छ, अझै राम्रो गर्ने हौसला मिल्छ, त्यसैले देशमा होस् या विदेशमा हुने सांगीतिक कार्यक्रमहरूमा आयोजकहरू साथै श्रोताहरूको रोजाइमा पर्ने गर्छु जस्तो लाग्छ । अहिलेसम्म ४५ भन्दा बढी देशहरूमा सांगीतिक प्रस्तुति दिइसकेको छु ।
अहिलेसम्म यहाँको स्वरमा कति जति गीत श्रोता दर्शकमाझ आएका होलान्, केहीको नाम लिनुपर्दा ?
अहिलेसम्म ५०० भन्दा बढी गीतमा स्वर दिइसकेको छु । केही गीतहरू श्रोताहरूको मनमस्तिष्कमा बस्न सफल छन् । जस्तै– ‘देखन चम्पा सुनन चम्पा’, ‘पर्ख पर्ख मायालु’, ‘तिम्रो पिक्चर हिट’, ‘ताला चाही’, ‘मैले बोलेको छैन ढाँटेर’, ‘सके हसाउँछु नसके तिमीलाई रून दिन्न’, ‘चोलीको तुना’, ‘चाखुम चाखुम’, ‘फूल जस्तो रूप तिम्रो’, ‘माया बस्यो’, ‘लाइँदैन माया पिरती’लगायत थुप्रै रहेका छन् ।
नेपाली गीत संगीतको वर्तमान अवस्थालाई कसरी लिनुहुन्छ ?
नेपाली गीत संगीतको वर्तमान अवस्थामा राम्रो नराम्रो दुवै भइरहेको छ । तर, यतिबेलाको परिस्थितिअनुसार अहिलेको समयको माग होला भन्ने बुझेको छु । मलाई लाग्छ अन्धकार रातपछिको उज्यालो बिहानी आए जस्तै एउटा समयको आशा छ त्यस्ता कुराहरू सभ्य हुँदै जानेछन् ।
पछिल्लो समय नेपालीपनका गीत कम आउन थाले भन्ने गरेको पाइन्छ नि, के यस्तै हो ?
नेपालीपन जसले नेपाली कला संस्कृतिलाई माया गरेर गीत संगीतका माध्यमबाट आफूले केही योगदान गर्छु भन्ने सोच भएका नेपालीपनमै अनुसन्धान गरेर गीत संगीतमा रहनुभएको छ ।
यहाँको स्वरमा एकखालको जादु छ भन्ने गरिन्छ, यहाँले आफैंले आफूलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
आफ्नो बारेमा आफैंले तारिफ गर्न अलिक गाह्रो होला । तारिफ त अरूले पो गर्नुपर्छ अनि त्यसको मज्जा बेग्लै हा हा हा । तर, मलाई यही थाहा छ, हो मेरो आवाज अरूभन्दा छुट्टै छ ।
नेपाली गीत संगीतको अवस्था कस्तो देख्नुहुन्छ ?
गीत संगीतको अवस्था सबैलाई एकैनाश छैन । यही भिडमा राम्रो गर्न सक्ने र राम्रो प्रतिभा भएको धेरैजसो सिर्जनाले स्थान पाइरहेकै छन् । हामी सबैलाई थाहा भएकै कुरा हो, देशको अवस्था नै संकटमा परेको छ । त्यसमाथि गीत संगीतमा बलियो कानुन र सिस्टम ल्याउन जरूरी छ ।
बजारमा अवार्ड पाइरहेका गीत संगीतका बारेमा यहाँको धारणा के छ ?
अवार्डका विषयमा आफूले पाउँदा खुसी अरूले पाउँदा निराश हुने प्रवृत्ति छ जस्तो लाग्छ । सबै हैनन् केही अवार्डहरू नेपाली कला संस्कृतिका लागि नभई अब स्रष्टा सम्मान जस्तो अमूल्य कुरालाई पैसाले किनेर पाउनु, त्यो स्थान एक किसिमको व्यापारीकरण भएको पनि सुनिन्छ । त्यसैले यस क्षेत्रमा बलियो कानुन र भरपर्दो सिस्टम ल्याउन जरूरी छ ।
गीत संगीतका विभिन्न गुट उपगुटलाई कसरी लिनुहुन्छ ?
म एकदम जिरो लेबलदेखि नै संघर्ष गरेर आफ्नो मिहिनेतले यहाँसम्म आएको मान्छे भएर होला मलाई यस्ता कुराहरूसँग केही पनि फरक पर्दैन र मतलब पनि गर्दिनँ । कसैले काम देला भन्ने आशमा बस्ने मान्छे हैन र कसैसँग आफ्नो आत्मसम्मान गिराएर आफू सस्तो भएर काम गर्नै सक्दिनँ । म आफ्नो तरिकाले आफ्नो कर्ममा रमाउन र बाँच्न जानेको मान्छे हुँ ।
यहाँले प्राप्त गरेको सफलतालाई कसरी लिनुभएको छ ?
यो सफलता पाउनुको पछाडि मैले धेरै दुःख र संघर्ष पनि गरेको थिएँ । मैले माथि पनि भनेँ जिरो लेबलबाट नै यो क्षेत्रमा पाइला चालेको हुँ । संघर्ष गरेर नै आफूलाई आज यो क्षेत्रमा टिकाउन सकेँ । यति धेरै प्रतिस्पर्धा छ । म कुनै रियालिटी शोहरूबाट भाइरल भएको पनि होइन । नितान्त संगीत साधना गरेर राम्रा स्रष्टाहरूसँग सहकार्य गरी आज यो स्थानसम्म आइपुगेको छु । र, यसको श्रेय मेरा गुरुहरू र दर्शक–श्रोताहरूमा जान्छ । सायद आज जे पाएको छु, त्यो आफ्नो कर्मको फल नै पाएको छु ।
यो क्षेत्रमा आउने नयाँ पुस्ताका लागि के भन्न चाहनुहुन्छ ?
यो क्षेत्रमा पूर्णरूपमा लाग्छु भन्दा पनि जीवनको उद्देश्य के हो त्यसलाई बचाएर सुरुमा पार्ट टाइमको हिसाबले कोसिस गर्दा पनि त्यति नराम्रो हुँदैन र अहिलेको परिस्थितिलाई राम्रोसँग बुझेर मात्रै सोच बनाउनु उपयुक्त हुन सक्छ ।
श्रोता–दर्शकका लागि अबको नयाँ कोशेली के छ ?
हरेक विधाका गीतहरू गाउन सक्ने खुबी छ ममा । त्यसैले मैले ल्याएका हरेक गीतहरू दर्शकले मन पराइदिनुभएको हुन्छ । अहिले पनि नयाँ गीतको तयारीमै छु । नयाँ गीतहरू पनि श्रोता–दर्शकले मन पराइदिनुहुनेछ भन्ने विश्वास छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच