अब ब्रोकर कम्पनीले शाखा खोल्न पाउने

Read Time = 5 mins

काठमाडौं । अबदेखि धितोपत्र दलाल व्यवसायीले ब्रोकर शाखा खोल्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै नयाँ व्यवस्था गरेको हो ।

तर, शाखा खोल्दा प्रतिशाखा एक करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ । साथै नेटवर्थसम्बन्धी विवरण नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट सदस्यताप्राप्त चार्टर्ड एकाउन्टेन्टबाट प्रमाणित भएको हुनुपर्नेछ ।

ब्रोकरको मुख्य कार्यालय रहेको जिल्लामा अर्को शाखा खोल्न भने पाइने छैन । सरकारले तोकेको दुर्गम जिल्लामा थप शाखा कार्यालय खोल्न बोर्डले स्वीकृति दिन सक्नेछ । काठमाडौं उपत्यकाबाहिर कम्तीमा तीनवटा शाखा खोलेपछि मात्रै काठमाडौंभित्र शाखा खोल्न पाइनेछ । शाखाका लागि ब्रोकरको नेटवर्थ चुक्ता पुँजीभन्दा बढी हुनुपर्नेछ ।

ब्रोकरले शाखा खोल्नेसम्बन्धी प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन धितोपत्र दलाल व्यवसायमा रहने वित्तीय जोखिमको न्यूनीकरण गरी सबलरूपमा शाखा कार्यालय सञ्चालन गर्नुपर्नेछ । सञ्चालनमा रहेका ५० मध्ये ४९ ब्रोकर कम्पनीको मुख्य कार्यालय काठमाडौंमा रहेको छ ।

निर्देशिकाअनुसार शाखा सञ्चालन गर्न सक्ने अवस्था नभएमा शाखा कार्यालय बन्द पनि गर्न सकिनेछ । सञ्चालनमा रहेको शाखा कार्यालय सञ्चालन गर्न नसक्ने अवस्था आई शाखा बन्द गर्न चाहेमा सञ्चालक समितिको निर्णयसहित सोको कारण खुलाई तोकिएको ढाँचामा बोर्डसमक्ष निवेदन दिन सकिनेछ । यस्तो निवेदन प्राप्तिपछि बोर्डले आवश्यक जाँचबुझ गरी शाखा कार्यालय बन्द गर्नुपर्ने कारण मनासिब देखेमा निवेदन प्राप्त मितिले १५ दिनभित्र शाखा कार्यालय बन्द गर्न स्वीकृति प्रदान गर्नेछ ।

ब्रोकरको शाखा कार्यालय खोल्नेसम्बन्धी प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन, ब्रोकरमा रहने वित्तीय जोखिमको न्यूनीकरण गरी सबल ढंगले शाखा कार्यालय सञ्चालन गर्नका लागि नयाँ निर्देशिका लागू गरिएको बोर्डले जनाएको छ । ७७ वटै जिल्लामा धितोपत्र दलाल व्यवसाय पुगिसकेको सन्दर्भमा सोहीअनुरूप दोस्रो बजारको पहुँच पनि विकास र विस्तार गर्न आवश्यक देखिएकाले ब्रोकर शाखा खोल्नेसम्बन्धी निर्देशिका ल्याइएको बोर्डको भनाइ छ ।

यसैबीच बोर्डले दुई अर्ब २० करोड मूल्यको सामूहिक लगानी कोषको इकाई बिक्रीका लागि अनुमति दिएको छ । कम्पनीलाई प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २२ करोड इकाई बिक्रीका लागि बुधबार अनुमति दिएको हो ।

अनुमति पाउनेमा सिद्धार्थ क्यापिटल र कुमारी क्यापिटल रहेका छन् । बोर्डले सिद्धार्थ क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालनमा आउने एक अर्ब २० करोडको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३’ र कुमारी क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालनमा आउने एक अर्ब आकारको ‘कुमारी सुनौलो योजना’ नामक सामूहिक लगानी कोष योजनालाई इकाई बिक्रीका लागि अनुमति दिएको हो ।

अनुमतिप्राप्त दुवै कम्पनीले आगामी दुई महिनाभित्र फण्डको इकाई बिक्रीमा ल्याउनेछन् । हाल सिद्धार्थको योजना व्यवस्थापनमा एक खुलामुखी र दुईवटा बन्दमुखी गरी कुल तीन र कुमारीको योजना व्यवस्थापनमा दुई बन्दमुखी योजना सञ्चालनमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?