हर्षोल्लासका साथ मनाइयो महाशिवरात्रि

डिबी शर्मा
Read Time = 13 mins

काठमाडौं । सदाझैँ यो वर्ष पनि हर्षोल्लासका साथ महाशिवरात्रि पर्व मनाइएको छ । फागुन कृष्ण चतुदर्शीका दिन मनाइने महाशिवरात्रि पर्व शनिबार देशभर आराध्यदेव भगवान् शिवको पूजा-आरधना गरी मनाइएको हो । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गरेका थिए । महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानुनपर्ने धार्मिक विश्वास छ । शिवरात्रि कालरात्रि, मोहरात्रि र सुखरात्रिमध्ये एक पवित्र पर्व रहेको पुराण ग्रन्थमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

१४ लाख बढीले गरे पशुपतिनाथको दर्शन
महाशिवरात्रिमा पशुपति क्षेत्र विकास कोषले विशेष व्यवस्थापन गरेको थियो । दर्शनार्थीका लागि बिहानैदेखि मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको थियो । पशुपतिमा दर्शन गर्न आउने दर्शनार्थीको भिड लागेको थियो । पशुपतिनाथका चार ढोका खोल्नु अघिदेखि नै पशुपति क्षेत्रमा भक्तजनको लाम सुरु भएको थियो । बिहान छोटो लाम भए पनि दिउँसो लाइन बढ्दै गएको थियो । उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको थियो । पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको थियो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक धनश्याम खतिवडाका अनुसार यस वर्ष १४ लाख बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका छन् । देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतलगायत तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको थियो ।

यसैबीच महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा-आराधना एवं दर्शन गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गर्नुभई विधिपूर्वक पूजा-आराधना एवं दर्शन गर्नुभएको हो । उहाँले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा-आराधना गर्नुभएको थियो । यसैगरी, नेपाली सेना दिवसको कार्यक्रममा अतिथिका रूपमा आएका भारतीय सेनाका चार पूर्व-प्रधानसेनापतिले पनि पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुभएको छ । महाशिवरात्रिका अवसरमा कोषको विशिष्ट अतिथिका रूपमा आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले अहिले पञ्चामृत स्नानसहितको विशेष पूजा गर्नुभएको थियो ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्तको आगमन भएको थियो । नागाबाबालाई मूल मन्दिरभित्र राखिएको छ । साधुसन्तलाई बिहीबारदेखि नै कोषले भोजन, आवास र धुनीको व्यवस्था गरिएको थियो । दर्शनार्थीलाई व्यवस्थित रूपमा दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको थियो ।

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रूपमा मनाउने हिन्दूहरूको परम्परा छ । भगवान शिको उत्पत्ति फाल्गुन कृष्णचतुर्दशीकै दिनमा भएको मानिन्छ । महाप्रलय हुँदा जसै सम्पूर्ण पदार्थ नष्ट भएको थियो । भगवान् शंकरले ताण्डव नृत्य गर्नुका साथै आफ्ना डमरुको निनादले सम्पूर्ण वायुमण्डलमा ज्ञान विज्ञानलाई सूक्ष्म सूत्र रूपले व्यक्त गरेको विश्वास गरिन्छ । त्यस बेलादेखि नै महाशिवरात्रिको महात्म्य आजसम्म सुरक्षित चल्दै आएको विश्वास गरिएको छ । परब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना र दर्शन गरे लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय विश्वास छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेख छ ।

पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान
ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान गरेको छ । केन्द्रले १२ शिवलिंग स्थापना गरेर सुरु गरेको अनुष्ठानका क्रममा शिवशक्तिको महिमालाई वर्णन गरिएको हो । आत्म, परात्म, सृष्टिको चक्र, मनुष्यका कर्म, कर्तव्यका साथै जीवनमा ध्यान विधिका महत्व र अभ्यासका विषयलाई सिकाइएको छ । आध्यात्मिक ज्ञान र राजयोगबाट जीवनलाई नैतिकवान र शान्त बनाउन सकेमा वर्तमान र भविष्यलाई उज्ज्वल बनाउन सकिने विषयमा भक्तजनलाई दिक्षा दिइएको उक्त कार्यक्रममा सञ्चालन गरिएको सांस्कृतिक कार्यक्रममा भजनकीर्तनसमेत गरिएको छ ।

सैनिक मञ्चमा सेनाको हर्ष बढाइँ
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाएको छ । मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेसन, पृतना, बाहिनी, युनिट तथा सव-युनिटमा आ-आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी शनिबार सेना दिवस भव्यताका साथ मनाइएको हो । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहबीच नेपाली सेनाले महाशिवरात्रि तथा सैनिक दिवस मनाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभयो । राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पणका साथै नेपाली सेनाद्वारा प्रदान गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७९’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । सैनिक र नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन प्रदर्शन गरिएको थियो । त्यस क्रममा स्वस्तिक चिह्न, शिव वन्दना र राष्ट्रभक्ति भावको गीत संगीतसमेत प्रस्तुत भएको थियो । सैनिक मञ्चमा मास पिटीका साथैै तेक्वान्दो, खुकुरी ड्रिल प्रस्तुत गरिएको थियो । समारोहमा नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा उपस्थित हुनुहुन्थ्यो । समारोहमा मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुगेका थिए । समारोहमा भारतीय सेनाका पाँच पूर्वप्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो ।

मादलमा विश्व रेकर्ड
नेपाली सेनाले एकैपटक ५५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र गिनिजबुक अफ वल्र्डका नेपाल प्रतिनिधि सागर कटुवालले हस्तान्तरण गर्नुभयो । सेनाले संगठन स्थापनाको २६०औँ वार्षिकोत्वका अवसरमा टुँडिखेलमा फागुन ४ गते उक्त संख्यामा मादल बजाएर विश्व रेकर्ड कायम गरेको थियो । कटुवालले मुलुकभरबाट जम्मा भएका सेनाका मादल वादकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिनुभयो । मादल नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजामध्ये प्रमुख मानिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?