आयोगले तोक्यो राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको छ । आयोगले निर्वाचन अधिकृत तोक्ने र मतदान स्थल तय गर्ने काम गरिसकेको हो ।

पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत पौडेल पाटन उच्च अदालतका न्यायाधीश रहनुभएको छ । राष्ट्रपतिको निर्वाचन तालिका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि आउँदो बुधवार १० गते मतदाता नामावली प्रकाशन हुनेछ।

नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई आयोगले मतदान स्थल निर्धारण गरेको छ । मतदान स्थलमा दुई वटा केन्द्र रहने छन् ।

सहायक प्रवक्ता भुसालले राष्ट्रपति चुनावमा मतदान गर्न योग्य मतदाताको सूची संघीय संसद् र सातवटै प्रदेशको प्रदेश सभा सचिवालयबाट प्राप्त भएको जानकारी दिनुभयो । तालिका अनुसार आउँदो २५ गते राष्ट्रपति चयनका लागि मतदान हुनेछ ।

मतदानका लागि आउँदे १३ गते मनोनयन दर्ता हुनेछ । राष्ट्रपतिको चुनावमा संघीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा सात वटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?