वैशाखमा ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङमा ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने भएको छ । जन्तेढुंगा गाउँपालिका र जन्तेढुंगा खेलकुद विकास समितिको आयोजनामा आगामी २ वैशाखदेखि ९ वैैशाखसम्म गोल्डकप हुन भएको हो । जन्तेढुंगा गाउँपालिका-५ चिसापानीको खर्क खेलमैदानमा हुने गोल्डकपको विजेताले दुई लाख ५५ हजार पाँच सय र उपविजेताले एक लाख ५५ हजार पाँच सयका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनलिष्ट दुई टिमले नगद ५०/५० हजारसहित प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताका बेष्ट स्टाइकर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डरलाई १०/१० हजार र एकजना म्यान अफ द म्याचलाई पाँच हजारको पुरस्कार राशि राखिएको जन्तेढुंगा खेलकुद विकास समितिले गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मलेन गरेर जानकारी दिएको छ ।

गोल्डकप आयोजना गर्न अनुमानित ३० लाखभन्दा बढीको लागत लाग्ने बताइएको छ । खेलाडीहरूका लागि खाना, बासलगायतको व्यवस्थापन तथा १५ दिनभित्र टिम दर्ताको प्रक्रिया सुरु गरिने बताइएको छ ।

फुटबलमा व्यावसायिक खेलाडी उत्पादन तथा व्यावसायीकरणका लागि गोल्डकपको आयोजना गरिएको जन्तेढुंगा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले बताउनुभयो । खेलाडीसँगै गाउँपालिकाको पहिचान, सम्मान र गरिमा अभिवृद्धिका लागि पनि गोल्डकपको आयोजना गर्न लागिएको अध्यक्ष राईले बताउनुभयो ।

खेलकुदको माध्यमबाट खेलाडीसँगै सामूहिक भावनाको विकास तथा पालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा प्रचार-प्रसारमा समेत टेवा पुग्ने समितिका सचिव अमित राईले बताउनुभएको छ । देश तथा विदेशमा रहेका खेलपे्रमी महानुभावहरूबाट गोल्डकप सफल बनाउन सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष अरुणादेवी राई र उपाध्यक्ष खेमबहादुर खड्कालगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?