शाहको सन्देशले तरंगित राजनीति

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाह लामो समयदेखि मौनजस्तै बसिरहनु भएको छ । २४० वर्ष लामो शासन सत्ता हातबाट गुम्दासमेत उहाँ आम नागरिकका रूपमा शालीन र शान्त बसिरहनु भएको छ । शासन सत्ताबाट बाहरिएको डेढ दशक पुग्नै लाग्दासमेत शालीन र शान्त स्वभाव उहाँको परिचय जस्तै बनिसकेको छ । सार्वजनिक रूपमा शान्त रहने शाह विशेष समयमा आउने वक्तव्यमा भने देश र जनताका विषयमा चिन्ता र चासो व्यक्त गरिहनुहुन्छ । बेलाबेलामा आउने वक्तव्यलाई लिएर विवाद र बहससमेत हुने गरेको छ । शाहका हर बखतका बाणी र विचारले सत्ता राजनीतिलाई त्रसित र भयभित गराउँदै आएको छ । गत कोभिड कालमा उहाँले जारी गरेको विज्ञप्तिलाई लिएर विभिन्न टीका टिप्पणी भएको थियो । खासगरी संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर भनिएका दलहरूले शाहको वक्तव्यप्रति चासो राख्दै आएका छन् ।

तत्कालीन राजा शाहले शनिबार प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको विज्ञप्तिलाई लिएर अहिले पुनः बहस र चर्चा भइरहेको छ । शनिबारको वक्तव्यमा उहाँले खासगरी दुईटा विषय प्रमुखताका साथ उठाउनुभएको छ । पहिलो देश अधोगतिमा जान लागेको भन्दै शाहले दलहरूलाई राजसंस्थासँग सहकार्य गर्न आहृवान गर्नुभएको छ । देशको दीर्घकालीन शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको उहाँको जिकिर थियो । वक्तव्यमा उहाँले देश र जनताको अवस्था बिग्रिरहेका बेला ‘अब मौन बस्न नसक्ने’ चेतावनी दिनुभएको छ । उहाँको वक्तव्यलाई लिएर समर्थन र विरोधका स्वरहरू सुनिन थालेका छन् ।
राजसंस्था समर्थित र वर्तमान व्यवस्थाबाट आजितहरूले शाहको भनाइमा समर्थन जनाएका छन् । तर, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूले भने शाहको अभिव्यक्तिको औचित्य नभएको टिप्पणी गरेका छन् । उनीहरू शाहका प्रत्येक पटकका वक्तव्यमा वर्तमान व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति गर्छन् । देशलाई उल्टो बाटोमा लैजाने षड्यन्त्र भइरहेको उनीहरूको दाबी छ ।

ज्ञानेन्द्रजीलाई पुरानो झल्को आइराख्छ, दुई/चार जना मान्छे देख्यो कि हौसिनुहुन्छ : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह अलमलमा रहेको टिप्पणी गर्नुभएको छ । शाहको सन्देशमाथि टिप्पणी गर्दै अध्यक्ष ओलीले वरिपरि दुई/चार जना मान्छे देखेर हौसिएको टिप्पणी गर्नुभयो । आइतबार विराटनगर पुग्नुभएका ओलीले शाहलाई पहिलेकै झल्को आइरहेको बताउनुभयो । ‘ज्ञानेद्रजी आफैँ अलमलमा हुनुहुन्छ । अझै पनि पुरानो झल्को उहाँलाई आइराख्छ,’ ओलीले भन्नुभयो, ‘त्यो झल्काले दुई/चारजना मान्छे देख्यो भने अलअलि जोस्याउँछ । त्यति मात्रै हो । अरू केही होइन ।’ मुलुकको अवस्था बिग्रिएको भनेर शाहले दिएको अभिव्यक्तिमा पनि ओलीले प्रतिप्रश्न गर्नुभयो । ‘२४० वर्षभन्दा बढी उहाँहरूले नै चलाएको होइन ? के बनाउनुभएको थियो उहाँहरूले ?’ ओलीले प्रश्न गर्दै भन्नुभयो, ‘अरू देशहरूको तुलनामा कहाँ पु¥याउनुभएको थियो ? कोसँग, केसँग सहकार्य ? ज्ञानेन्द्रजी आएर राजनीतिमा हिँडिराख्नु भएको छ । अस्ति मेचीमा गएर दियो बाल्नुभयो क्यार । भएकै छ त ।’

संविधान र गणतन्त्र स्वीकार नगर्नेसँग कुनै सहकार्यको औचित्य छैन : गुरुङ
नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले तत्कालीन राजा ज्ञानेन्द्र शाहको विज्ञप्ति औचित्यपूर्ण नभएको टिप्पणी गर्नुभएको छ । आइतबार कास्कीमा पत्रकारहरूसँग कुरा गर्दै महासचिव गुरुङले ज्ञानेन्द्रसँग कुनै सहकार्यको औचित्य नभएको बताउनुभयो । देशमा संविधान, गणतन्त्र स्थापना भइसकेको बताउँदै लोकतन्त्र र संविधानको रक्षा गर्न मात्रै सहकार्य हुने उहाँको भनाइ छ । ‘तत्कालीन राजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने ? देशमा संविधान, गणतन्त्र स्थापना भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘लोकतन्त्र र संविधानको रक्षा गर्न सहकार्य हुन्छ । संविधान र गणतन्त्र स्वीकार नगर्ने ज्ञानेन्द्रसँग कुनै सहकार्यको औचित्य छैन ।’

राजाले दलहरूसँग सहकार्यको प्रस्ताव गर्नु सकारात्मक : थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव गर्नु सकारात्मक भएको टिप्पणी गर्नुभएको छ । शाहको सन्देशमाथि लामो टिप्पणी गर्दै अध्यक्ष थापाले देश जोगाउन राजनीतिक दल र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्थाबीच आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु नहुने उहाँले बताउनुभयो । शाहको भनाइ सान्दर्भिक भए पनि ढिला आएको उहाँको भनाइ छ । ‘वास्तवमा नेपालको भूराजनीतिक अवस्था तथा सामाजिक सांस्कृतिक परिवेशलाई दृष्टिगत गर्दा परिवर्तनकारी शक्ति र विचार एवं परम्परागत शक्ति र विचार बीचको समाञ्जस्यता देशको निम्ति उपयुक्त हुन्छ भन्ने मेरो मान्यता हो,’ उहाँले भन्नुभएको छ, ‘गणतन्त्रवादी र राजावादी बीचको ‘सिनर्जी’ नेपालको हितमा हुन्छ ।’ तर, सहकार्यको प्रस्ताव वा विचार केवल भाषण वा नाराको विषय मात्र हुन नहुने थापाले बताउनुभयो । गणतन्त्रले जनताको जीवनमा सुधार ल्याउन नसके पनि गणतन्त्र स्वतः हटेर राजसंस्था नआउने र राजा फर्कनेबित्तिकै परिस्थितिमा चामत्कारिक सुधार पनि नहुने उहाँको भनाइ छ । ‘दल र नेताहरूको कमजोरी वा असफलताको परिणामस्वरूप राजसंस्था पुनःस्थापना हुने होइन । प्रजातन्त्र रहेसम्म एउटा दल वा नेता असफल भए अर्को दल वा नेता छान्ने अधिकार जनतालाई रहन्छ,’ उहाँले भन्नुभएको छ, ‘किनभने देश जतिसुकै संकटग्रस्त रहे तापनि राजसंस्थासँग सहकार्य गर्ने अहिलेसम्म दलहरूको सोचाइ र प्राथमिकतामा छैन । राजनीतिक दलहरू राजसंस्था पुनःस्थापनाको ‘मुड’ मा छैनन् । त्यसर्थ, अविश्वास र आशंका निराकरण प्रयासको पहलकदमी राजाबाट हुनु सहकार्यको पहिलो पाइला हुनेछ ।’ तर, सन्देशमा उल्लेख ‘मौन नबस्ने’ चेतावनी भने विरोधाभाष रहेको थापाको टिप्पणी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?