बयलगाडाको सवारी त्याग्नुहोस् ओलीजी

हिमालय टाइम्स
Read Time = 16 mins

✍️ मणि शर्मा

२०३३ सालपछि बीपीले बोकेको नीति, सिद्धान्त्त तथा विचारका संवाहक हुन चन्द्र भण्डारी । जुन दिन संसद्मा उनले राष्ट्र, राष्ट्रियता, मुलुकको स्वतन्त्रता, राज्यको बेथितिलगायत विषयमा सारगर्भित सम्बोधन गर्दै सरकारलाई प्रश्न गरेका थिए त्यही दिन राति उनको निवासमा भएको शंकास्पद विष्फोटले, राजा महेन्द्रको शंकास्पद मृत्यु, मदन-आश्रितको मृत्यु, दरबार हत्याकाण्ड जस्तै यो घटना पनि देशी-विदेशी षड्यन्त्रकारीहरूको सुनियोजित योजना त थिएन भन्ने प्रश्न उब्जिन्छ । जसरी रवि लामिछाने जे जहाँबाट परिचालित भए तापनि राष्ट्रका लागि केही असल काम गर्न खोज्दा उनको राजनीति नै समाप्त पार्ने खेल भयो चन्द्र भण्डारीको जीवन लीला पनि त्यसरी नै समाप्त पार्न खोजिएको त होइन् ?

हुन त भोलिका दिनमा छानविन आयोग गठन होला, त्यसले प्रतिवेदन देला तर नेपालका बनी बनाउ छानविन प्रतिवेदन कस्तो हुनेछ जनताले आकलन गरी सकेका छन् । प्रहरी, अनुसन्धान, अदालत, सेना जताततै सरकारको पकड छ । उनीहरूले न्याय अन्याय छुट्याउँदैनन् केवल मालिकको आदेश पर्खेर फैसला गर्छन् । मिडिया त विदेशी दूतावास, आइएनजिओ र केही नेताहरूको मुट्ठीका खेलौना हुन् । उनीहरूबाट सत्य तथ्य आउला भन्ने विश्वास जनताले गुमाइसकेका छन्, केही अपवाद बाहेक । यदि संसदमा देशभक्त सांसद कतै छन् भने अबदेखि उनीहरू पनि बोल्न डराउनेछन्, रवि र चन्द्रको अवस्था देखेर ।

करिब एक करोड युवाशक्ति विदेशमा छ, विदेशी युवाहरू मात्र नेपालमा छन् । यस्तो अवस्थाबाट देश गुज्रिरहेको छ । शासक वर्गले मच्चाएको लुटतन्त्र, माफिया तथा बिचौलियातन्त्र देशमा हावी छ । सनातन धर्म विरोधी गणतन्त्रवादीहरूले देशलाई जर्जर बनाउँदै पराधीनतातिर अग्रसर गराइरहेका छन् ।

नेपालमा सत्ताइस देशका शरणार्थीहरूको थुप्रो लागिसकेको छ । पोल्याण्डबाट अमेरिकाले हवाई ट्रक पठाउन लागेका छ । त्यसमा चढेर अरू कति शरणार्थी नेपाल भित्रिने हुन् ? सबैलाई सरकारले अमेरिकी दबाबमा परिचयपत्र दिनेछ । इण्डियनहरूका लागि नागरिकता झन खुकुलो पारेर लाखौं इण्डियनलाई नेपाली नागरिक बनाउन सरकार तयार छ । शरणार्थीहरू पनि पछि नागरिकतालाई विस्थापन गरी सबैलाई एउटै तराजुमा राख्ने राष्ट्रिय परिचयपत्र पाउनेछन् । नेपाललाई कंगो बनाउने खेल सुरु भइसकेको छ । गणतन्त्रवादीहरूले यसको बिउ रोपिसकेका छन् । देश हरिकंगाल भइसकेको छ र करिब एक करोड युवाशक्ति विदेशमा छन्, विदेशी युवाहरूमात्र नेपालमा छन् । यस्तो दुरुह अवस्थाबाट देश गुज्रिरहेको छ । शासक वर्गले मच्चाएको लुटतन्त्र, माफिया तथा बिचौलियातन्त्र देशमा हावी छ । सारांशमा सनातन धर्मविरोधी गणतन्त्रवादीहरूले देशलाई जर्जर बनाउँदै पराधीनतातिर अग्रसर गराइरहेका छन् । यिनीहरूको केही जाँदैन । देशमा बस्न नसक्ने अवस्था आए यिनीहरू जाने अमेरिका, युरोप र इण्डियामै हो । यी नेता तथा काला व्यापारी तथा उद्योगपतिले कमाएको कालो धनलाई सेतो पार्ने कानुन ल्याउन लागेको छ सरकारले ।

यस्तो कानुन यिनले पहिला पनि ल्याएका थिए । देश लुट्दैजाने र कालो धनलाई सेतो बनाउँदै जाने हो भने देशमा मच्चिएको लुटतन्त्रले कहिल्यै विराम लिने छैन । यी सबैको विरोध गर्नेहरूको अवस्था मदन–आश्रित वा चन्द्र भण्डारी जस्तो नहोला भन्न सकिँदैन । सुशील कोइरालाको शंकास्पद मृत्युुु ताजै छ । कसरी उनलाई समाप्त पारियो बाहिर ल्याइएन । देश र जनताको पक्षमा जो बोल्छ उसको मृत्यु अनिवार्य गराएका छन् भित्री र बाहिरी शक्ति मिलेर । देशवासीमा आतंकको सिर्जना गरिएको छ । युरोप, अमेरिका र इण्डियाबाट आउने कूटनीतिक व्यक्तिहरूको साझा शब्द छ सुरक्षा । यही सुरक्षाको त्रास देखाएर यहाँ आतंकवादी हमला गराउने षड्यन्त्र भइरहेको छ र यिनीहरूलाई शासकवर्गले साथ दिइरहेका छन् । यस्तो विषम परिस्थितिमा पूर्वबाट दुर्गा प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियानको श्रीगणेश गरेका छन् । हुन त हिजोका माओवादी, अहिलेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले कुन शक्तिको आश्वासनमा यो अभियान थालेका छन् यसै भन्न सकिने अवस्था छैन । हुन सक्छ उनी केपी ओलीको सल्लाह र राजाको आशिर्वादले यो अभियानमा लागेका हुन सक्छन् ।

बयलगाडामा चढेर अमेरिका पुगिँदैन भन्ने ठानेर ओलीले नै दुर्गा प्रसाईलाई अगाडि बढाएको बढी सम्भावना छ । किनकि पुष्पकमल जस्तो नितान्त परिवारवादी र अस्थिर स्वभावका नेताले उनलाई जुनसुकै बेला धोका दिएर देउवासँग टाँसिन जान सक्ने प्रबल सम्भावना देखेका छन् जुन सत्यको नजिक पनि छ । अहिले प्रज्ञा प्रतिष्ठानलगायत प्रतिष्ठानहरूमा दिइएका नियुक्तिहरू एकलौटी रूपमा पुष्पकमल दाहालकै पक्षका कार्यकर्ता छन् ।

ओलीले यदि पुष्पकमल दाहालसँग राष्ट्रपति पदको सौदाबाजी गर्न दुर्गा प्रसाईलाई एउटा ब्यानर दिएर अगाडि सारेका होइनन् भने उनले यो अस्थिरताबाट मुक्ति पाउन बयल गाडाको सवारीलाई त्याग्ने निर्णय गर्नै पर्छ । राजाले पनि एक पटकलाई दुर्गा प्रसाईभन्दा पनि ओलीलाई विश्वास गरेर झापाको कार्यक्रममा परिवारसहित सवारी भएर यो आन्दोलनमा आफ्नो पनि सहमति छ भन्ने सन्देश दिन खोजेका हुन् । जसरी राजा त्रिभुवन-इण्डियन राजदूतावासको सहयोगले प्रजातन्त्र ल्याउन २००७ सालमा परिवारसहित दरबार छाडेर दिल्ली प्रस्थान गरेका थिए । यस पटक राजा ज्ञानेन्द्र वनबासबाट झापा सवारी भए आफ्नो पितामहको अनुकरण गर्दै तर उनी विदेशीको शरणमा गएनन् । यदि राष्ट्र जोगाउनु छ भने ओलीले राजालाई धोका दिनु हुँदैन ।

अब एमाले यदि राष्ट्र जोगाउने अभियानमा लागेन भने कांग्रेस र माओवादीले प्रत्यक्षरूपमा र इण्डियाले अप्रत्यक्षरूपमा एमाले नेतृत्वको एकलौटी सरकार कदापि बन्न दिने छैनन् । जुन शक्तिहरू मिलेर राजा महेन्द्र, राजा वीरेन्द्र र उनको परिवार र नेताहरूको हत्या गरे अरूको पनि हत्या नगर्लान् भन्ने छैन । अब ओलीले यो मरणासन्न व्यवस्थालाई काँध थापेर बस्नु उनको र उनको दलका लागि प्रत्युत्पादक हुनेछ । खुलेरै २०४६ सालको अवस्थामै देशलाई पु¥याउने नेतृत्व अब ओलीले लिनै पर्छ । लुकी लुकी खेल खेल्नुभन्दा खुलारूपमा खेल खेल्नु उत्पादक हुनेछ । बयलगाडाको सवारीले उनी र उनको पार्टी थिल्थिलो भइसकेको अवस्था छ ।

जसरी केशरबहादुर विष्ट र उनको दल तथा राप्रपाका कार्यकर्ताहरूले झापाको कार्यक्रममा सहभागी भएर राजा र दुर्गा प्रसाईको हौसला बढाएका छन्, त्यसरी नै राप्रपाले सदन तथा सडकमा यो अभियानलाई साथ दिनुपर्छ । सच्चा देशभक्त तथा राजावादी दल तथा संगठन व्यक्तिगत स्वार्थलाई त्यागेर यो अभियानमा गोलबन्द हुनुपर्छ । दुर्गा प्रसाईले पनि तिहुनचखुवा बानीलाई त्यागेर यो अभियानलाई निचोडमा पुर्‍याउन एउटै सिद्धान्त, एउटै आदर्श भएको दल तथा संगठनहरूसँग दम्भ त्यागी एकजुण्ट हुने प्रयास गर्नुपर्छ । आन्दोलनको नेतृत्व कसले लिने भन्ने अहं, राजाको प्यारो को हुने भन्ने प्रतिस्पर्धा सबैले त्यागेर सामूहिक नेतृत्वको आधारमा फागुन २० गतेको काठमाडौं आधारित आन्दोलनलाई वसन्त क्रान्तिमा फेर्न कुनै कसर बाँकी छोड्न हुँदैन । यो आन्दोलनको श्रीगणेश राजा स्वयं परिवारसहित सामेल भएर दीप प्रज्ज्वलन गरी उद्घाटन गरेकाले राजाको मान प्रतिष्ठाको प्रश्न पनि हो । राजा अपमानित हुनु भनेको नेपाली अपमानित हुनु हो, यो कुरा दुर्गा प्रसाई र पर्दा पछाडिका यो आन्दोलनका सूत्रधार केपी ओलीले बुझ्नुपर्छ । के ओली अब सधैँभरि सरकारमा जान पुष्पकमल दाहालका अगाडि घुँडा टेकेर भिक्षां देहि भनेर याचना गरिरहने ?

२०६३ सालमा राजा र गिरिजाबीच भएको पाँच बुँदे सहमतिविपरीत राजालाई वनबास पठाएर सनातन धर्मविरोधी संघीय गणतन्त्रको घोषणा गरे गिरिजाले । राजा जनताको नासो राजदण्ड, श्रीपेचलगायत जनतालाई सुम्पी उचित समयमा फिर्ता लिने गरी वनबास गए ।

२०६३ सालमा राजा र गिरिजाबीच भएको पाँच बुँदे सहमतिविपरीत राजालाई वनबास पठाएर सनातन धर्मविरोधी संघीय गणतन्त्रको घोषणा गरे गिरिजाले । राजा जनताको नासो राजदण्ड, श्रीपेचलगायत जनतालाई सुम्पी उचित समयमा फिर्ता लिने गरी वनबास गए । त्यसयता उनी मन्दिर तथा तीर्थस्थलहरूको भ्रमण र बेलामौकामा आफ्नो सन्देशमार्फत देशको बिग्रदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशप्रेमले ओतप्रोत सन्देशहरू दिनेबाहेक उनले केही गरेनन् । तर, आज वनबाट निस्केर देश जोगाउन सडकमा आउन तयार भए । अहिले आन्दोलनको नेतृत्व कसले ग¥यो, आन्दोलन सफल भएपछि यश कसले लिने भन्ने कुरा गौण हो । मुख्य कुरा सबैभन्दा माथि देश हो, देशको स्वतन्त्रता तथा सार्वभौमसत्ता हो र जनताको जनजीविकाको सवाल हो । अहिले आन्दोलनको धारा फुटेको छ, यो धारामा चारैतिरबाट खोला, खोल्सीहरू आएर मिस्सिएर एकजुट भई आन्दोलनको भेल ल्याउनु नै प्रमुख कर्तव्य हो । यो आन्दोलन सफल भएमा यश कुनै व्यक्तिले होइन नेपाली जनताले पाउने हुन् ।

राजाले त केही मागेका थिएनन् । पाँच बुँदे सहमतिअनुसार संवैधानिक राजा भएर बस्न चाहेका थिए तर विदेशी शक्तिकेन्द्रका मतियारहरूले सन्धिलाई दुत्कार्दै वर्तमान संविधान लागू गरे । श्रीकृष्णले दुर्योधन सामु शान्तिको प्रस्ताव लिएर गएका थिए । उनले पाण्डवको लागि इन्द्र्रप्रस्थ मात्र मागेका थिए तर दुर्योधनले आफूसँग भएको विशाल सेना र विदेशी सेनाको शक्तिको घमण्डले चुर भएर श्रीकृष्णको अपमान गरेको थियो । श्रीकृष्णले युद्ध चाहन्छौ कि शान्ति भनेका थिए ।
युद्धमा दुवैतिरका निर्दोष मानिसहरू मारिन्छन् र तिमीहरू पनि मारिनेछौ भनी अन्तिममा श्रीकृष्णले भनेका थिए । तर, आफ्नो विशाल सेना तथा विदेशीहरूको सेनाको घमण्डमा दुर्योधन आँखा भएर पनि घमण्डले अन्धो भएको कारण कुरुक्षेत्रको युद्ध भयो जसमा करिब पचास लाख सेना निहत भए र कौरवहरूको सर्वनाश भयो । अन्ततः युधिष्ठिर हस्तिनापुरको राजा बने । इतिहास दोहोरिन्छ र विजय धर्मको हुन्छ ।

आ यद् वामीयचक्षसा मित्र वयं च सुरयः । व्यचिष्ठे बहुपाय्ये यतेमही स्वराज्ये । (ऋग्वेद) भावार्थ, विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ त्यस्तो स्वराज्य शासनमा जनताको भलाइका खातिर लागिरहौँ । वेदमा भनेजस्तो शासन व्यवस्था नेपालमा छैन । चुनाव यति महँगो भएको छ एउटा सर्वसाधारणमा यो नाटकमा भाग लिने हैसियत नै छैन । के ओलीले यस्तै राज्यको परिकल्पना गरेका छन् जहाँ बहुमतको नाममा मुठ्ठीभर नेताहरूको शासन होस् ? होइन् भने, ओली पनि अब न हिँड्ने बयलगाडाको सवारी परित्याग गरी अविलम्ब सडकमा आउनु उनको, उनको दलको र नेपाली जनताको हितमा हुनेछ । अन्यथा कथाकुथुंग्र्री भन्दै, चुटकिला सुनाउँदै बाँकी जीवन व्यतित गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?