पाँच वर्ष प्रदेश सरकार चल्छ, मध्यावधि निर्वाचन हुँदैन : मुख्यमन्त्री शाह

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकार पाँच वर्षसम्म निरन्तर चल्ने बताउनु भएको छ । सोमवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाटको कार्यक्रममा उहाले पाँच वर्ष सरकार चल्ने भएकाले मध्यावधि निर्वाचन नहुने स्पष्ट पार्नु भएको हो ।

‘हाम्रो सबैसँग सकारात्मक छलफल भइरहेको छ । पूर्ण बहुमत कसैसँग छैन, तर सुदूरपश्चिम सरकार पाँच वर्षसम्म निरन्तर चलाउनुपर्छ र टिक्नुपर्छ भन्ने मान्यतामा हामी छौँ,’ मुख्यमन्त्री शाहले भन्नुभयो, ‘सबै दलहरूसँग खुला छलफलको वातावरण निमार्ण गरेका छौँ, हामीलाई विश्वास छ । प्रदेश सरकार पाँच वर्ष निरन्तर चल्छ । प्रदेशमा मध्यावधि निर्वाचन हुन्छ भन्ने जस्ता बिचमा विभिन्न कुराहरू उठ्ने गरेका छन् । यी सबै अखबारका कुरा हुन । हाम्रो सरकार पाँच अघि बढ्ने सन्दर्भमा ढुक्क छौँ । विश्वस्त छौँ ।’

कसको नेतृत्वमा पाँच वर्ष चल्छ भन्ने पत्रकारको प्रश्नमा उहाले संविधानले नै आफूहरूलाई जिम्मेवारी दिएकोले सोहीअनुसार अघि बढ्ने बताउनु भयो । ‘संविधानतः हामीलाई जिम्मेवारी दिएको छ । यो जिम्मेवारी पूर्ण गर्नको लागि त हाम्रो दायित्व र कर्तव्य छ नि ? त्यसको नेतृत्वको भूमिकामा हामी छौँ । त्यो त प्रस्टै छ ’ उहाँले भन्नुभयाे ।

निर्वाचनबाट आफूहरू आएको धेरै नभएकोले अब निर्वाचनमा जाने कुरा बेकार भएकोले जनताको चाहाना विपरीत आफूहरू जान नहुने उहाँकाे भनाइ छ । ‘हामी निर्वाचनबाट आएको धेरै भएको छैन । अब निर्वाचनमा जान कुनै सांसदले पनि जान चाहदैनन् होला नि त अथवा त्यो जनताले पनि चाहदैनन्, जनताको चाहाना विपरीत यदि हामी गयौ भने भोलिका दिनमा जनताले पनि हामीलाई लखेट्दैनन् ,’ उहाँले भन्नुभयाे ।

यस्तै मुख्यमन्त्री शाहले लगानीकर्ताहरूलाई प्रदेश सरकारले दिन सक्ने सुविधाहरू दिन तयार रहेकोले सुदूरमा लगानी गर्न आह्वान गर्नुभयो ।
‘लगानीकर्ता मित्रहरूलाई यो प्रदेश सरकारले के सुविधा दिनुपर्छ, त्यो हामी दिन तयार छौँ । आउनुहोस् तपाईँहरू लगानी गर्नुहोस्,’ उहाले भन्नुभयो, ‘राज्यका तर्फबाट यो चिज भएन भन्ने वातावरण हुन दिँदैनौ । खुला रूपले हामी आह्वान गर्छौ । कुनै पनि क्षेत्रमा उद्योग स्थापना गर्न चाहने व्यक्तिहरू, समूहहरू आउनुहोस् सुदूरपश्चिमको समग्र विकासका लागि तपाईकोहरुको पनि भूमिका रहोस् । यसका लागि हामी छलफल गरी अगाडि बढ्न हामी तयार छौँ ।’

पुस २७ गते एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । उहाँले ३० दिन भित्र विश्वासको मत नपाएपछि संविधानको धारा १६८ उपधारा ३ अनुसार काँग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो । उहाले पनि अहिले सम्म विश्वासको मत लिनुभएको छैन । तर, उहाँले केही दिन भित्र विश्वासको मत पाउने दाबी गर्नु भयो ।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । नेपाली काँग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?