कस्तो छ कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था ?

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ग्यास सिलिन्डर चुहिएर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ ।

गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको उहाँका सहयोगी माधव न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहानसम्म नेता भण्डारीको सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ रहेको छ । भण्डारीलाई अहिले ज्वरो नआएको र सुन्निएको भागसमेत घट्दै गएकाले स्वास्थ्य सामान्यतर्फ गइरहेको न्यौपानेले बताउनुभयो ।

गत बुधबार राति आफ्नै निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । घटनालगत्तै उहाँहरु दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?