पूर्वराजाको अभिमतको प्रभाव

हिमालय टाइम्स
Read Time = 6 mins

पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसको सन्दर्भमा व्यक्त गर्नुभएको धारणाले नेपालको राजनीतिक वृत्तमा एक प्रकारको तरंग पैदा गरेकोे छ । त्यो तरंग विचारको तरंग हो । राजतन्त्र फालेर गणतन्त्र स्थापना गरेको धेरै वर्ष भइसकेको तथा पूर्वराजा अब एक्लो बृहस्पति बन्नु भएको अवस्था छ । गणतन्त्रको सबलता बढ्दै गएको वर्तमान परिस्थितिमा अब एकजना व्यक्तिदेखि गणतन्त्रवादी धैरै पार्टी र व्यक्ति डराउनुपर्ने कारण नै देखिँदैन । उहाँहरूको यस्तो भयभीत मनस्थिति देख्दा गणतन्त्रको जग बलियो नभएको जस्तो देखिन आउँछ । गणतन्त्र सुरुमा माओवादीको एजेण्डा र सपनाको महलमात्रै थियो तर अन्त्यमा सार्थकमै परिणत भयो ।

त्यस बेलासम्ममा देशमा धनजनको धेरै क्षति भइसकेको थियो । एकातिर त्यसलाई रोक्नु थियो भने अर्कातिर मओवादीको यो एजेण्डामा केही सम्भावना अरू पार्टीहरूले पनि देख्नथालेका थिए । नेपाली कांग्रेस नेपालको राजनीतिक वृत्तमा सधैंजसो अग्रपंक्तिमै रहँदै आएको भए तापनि गणतन्त्र कांग्रेसको सिद्धान्तमै थिएन र त्यो नाराबाट आकर्षित पनि भएन । जब तत्कालीन राजासँग नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको मतमतान्तर भयो तब उहाँ राजाका विरुद्धमा लाग्नुभयो, जसले गर्दा गणतन्त्रको पक्ष सबल बन्नपुग्यो । परिणामतः अन्त्यमा नेपालमा गणतन्त्रको स्थापना भयो, राजतन्त्र बिदा भयो । यसबेलासम्म राजाको बहिरगमनमा रमाउनेहरूको संख्या धेरै थियो, सहानुभूति प्रकट गर्ने थोरै थिए । तर जनताले पर्खे र हेरको नीति लिए ।

‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखान उनीहरूको स्मरणमा ताजै थियो र त अहिले एकजना राजा फालेर सयौं राजाहरू ल्याइएछ भनिरहेका छन् । राजतन्त्रको विस्थापनपछि पनि नेपालको राजपरिवार अन्यत्र विदेशमा देखिएका घटना जसरी विदेश पलायन भएनन् । आफ्नै देशमा नागरिक भएर बस्न तयार भए । पूर्वराजा बेलाबेलामा केही न केही कार्यबाट चर्चामा आइरहन चाहनुहुन्थ्यो । एकपटक सुदूरपश्चिममा बाढी आएको बेला उहाँ राहत लिएर त्यहाँ पुग्नुभएको थियो । त्यसबेला उहाँको कार्य र अभिव्यक्त विचारपछि डा.बाबुराम भट्टराईले ‘म भएको भए ज्ञानेन्द्रलाई थुनिदिन्थेँ’ भन्नुभएको थियो तर उहाँ त्यसभन्दा पहिले प्रधानमन्त्री भइसक्नु भएको थियो ।

आफू शक्तिमा भएका बेला चाहिँ के हेरेर बस्नुभयो र अहिले पूर्वराजाले यसरी जनतालाई आपत् परेका बेला राहत बाँड्दा यस्तो प्रतिक्रिया दिनु भएको ? भनेर जनताबाट डा.भट्टराईको विरोध भएको थियो । कोरोनाको समयमा पनि राहतस्वरूत राहत कोषमा जम्मा हुनेगरी उहाँले दुई करोड रुपैयाँ सहयोग गर्नुभयो । उहाँले दशैँ, तिहार, नयाँ वर्ष र प्रजातन्त्र दिवस जस्ता पर्वमा नेपाली जनताका नाममा शुभकामना सन्देश प्रवाह गर्दै आइरहनु भएको छ । उहाँको यस्ता कार्य ठूला पार्टीहरूलाई पाच्य बन्न सकेको छैन । विश्वेश्वरप्रसाद कोइरालले राजाको र मेरो घाँटी जोडिएको छ भन्नुभएको भए तापनि उहाँको उत्तराधिकार लिएको नेपाली कांग्रेसले हाल गणतन्त्रको बाटो रोजिसकेको छ ।

नेपालमा राजतन्त्र आइहाल्ने अवस्था छैन, तर २०४६ सालको प्रजातन्त्र आउनुपूर्व त्यसरी प्रजातन्त्र आइहाल्ने आशा धेरैले गरेका थिएनन् । पहिले पनि राजतन्त्रका पक्षपाती धेरै थिए । हाल तिनको संख्या दिनप्रतिदिन बढ्दै गएको भने अवश्य हो । परम्परागत राजा र आसलाग्दा उत्तराधिकारी नभएर पनि राजतन्त्रका पक्षमा धेरै समर्थनका स्वर पैदा हुनसकेको छैन, तैपनि नेपालीहरूले राजालाई राजनीतिमा भन्दा धार्मिक आस्थाका रूपमा मान्ने गरेका छन् । यस्तो आस्था झांगिँदै गएकाखण्डमा गणतन्त्रलाई हानी गर्न भने सक्छ ।

हाल केही व्यक्ति वा राजनीतिक विचार बोक्ने मानिसहरूका पछि लागेर पूर्वराजा हिँड्न थालेकाले वर्तमान राजनीतिक दलहरू झस्किन पुगेका छन् । यदि गणतन्त्र सबल भएको ठान्ने हो भने नागरिक भएर बसेका व्यक्तिबाट राजनीतिक पार्टीहरू किन झस्किनुपर्ने हो र ? उहाँहरू झस्किनाले नेपालको गणतन्त्रको जग बलियो रहेनछ भन्ने देखिन आउँछ । त्यसैले राजनीतिक पर्टीहरूले यसलाई सामान्य रूपमा लिन सक्नुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?