केरा खेतीमा रोगको प्रकोप नियन्त्रण नभएपछि किसानहरु चिन्तित

फाईल तस्बिर

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । विगत दुई वर्षदेखि म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा देखिएको रोगको प्रकोप नियन्त्रण हुन नसक्दा म्याग्दीमा लगाइएको केरा खेती सुकेर खेर गएको छ । धान फल्ने खेत मासेर गरिएको केरा खेतीमा रोग लागेपछि किसानहरु चिन्तित भएका छन् ।

केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ । जिल्लाको बेनी नगरपालिका-२ बगरफाँट, खबराका साथै मङ्गला र रघुगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा रोगको प्रकोप नियन्त्रण नभएपछि किसानहरु चिन्तित भएका हुन् ।

त्यसैगरी डढुवा रोगका कारण आलुको बोट सुक्न थालेपछि किसानहरुले औषधि प्रयोग गर्न थालेका छन् । कतिपय ठाउँमा औषधी प्रयोग गरेपनि रोगको प्रकोप कम नभएको बरु रातो कमिला समेत देखिन थालेको बगरफाँटका कृषक जीतबहादुर कार्कीले बताउनुभयो ।

यताकेरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका-२ खबरा र बगरफाँट गाउँमा खपटे घुनले सयौँ रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् । केरा खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्की केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित हुनुहुन्छ । उहाँले करिब ८ रोपनी खेतमा केरा खेती गर्नुभएको छ ।

बगरफाँटका कृषक बेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा सङ्कटमा परेको बताउनुभयो । यहाँको सिङ्गो गाउँका कृषक केरा खेतीमा संलग्न छन् । सुरुवातमा सामान्य देखिएपनि केही समय पछि भने खेतीमा ठूलो क्षति पुर्‍याएको उहाँको भनाइ छ ।

आफ्ना करिब १० रोपनी धान फल्ने खेतमा केरा खेती गर्नुभएको दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यस वर्ष केराको उत्पादन घटेको बताउनुभयो । हजारी जातको केरा खेतीबाट वार्षिक तीनलाख रुपैयाँ आम्दानी हुँदै आएकोमा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उहाँले बताउनुभयो । “झ्याङ भएको केरामा किरा र रोगलागेपछि सुरुमापात सुक्दै जान्छ । त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ ।” उपचारका लागिबोट वरिपरी काँटछाँट, सफाई गर्ने र कृषि प्राविधिकको सिफारिसमा किटनाशक औषधि छर्कदै आएको कृषक थापाले जानकारी दिनुभयो ।

रोकथाम र उपचारमा समन्वयगर्न नसक्दा क्षति पुगेको व्यावसायिक केराखेती गर्दै आउनु भएका खबराका अर्का कृषक शोभित शर्माले बताउनुभयो । “लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन सुरु गरेको केराको पात सुकेर बोट मर्न थाल्छ,”उहाँले भन्नुभयो ।

धान फल्ने खेतमा केरा खेती गरेका यहाँका किसानहरु धमाधम केराका बोट मर्ने र पसाएका केराका कोसा पनि पोटिला हुन नसकेपछि मारमा परेका छन् । उनीहरुले स्थानीय सरकार संग सहुलियत र सहयोगको माग समेत गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?