डाक्टर भगवान कोइराला सम्मानित

Read Time = 5 mins

काठमाडौं । वरिष्ट हृदयरोग विशेषज्ञ डा. भगवान कोइराला एक लाख एघार हजार एक सय एघार रुपियाँ राशि सहित ‘डा. सुदीप अर्याल सामाजिक रूपान्तरण पुरस्कार’ २०७९ बाट सम्मानित हुनुभएको छ । पेज टर्नर प्रकाशनद्वारा आइतबार काठमाडौँमा आयोजित स्वर्गीय मनोचिकित्स डा. अर्यालको उपन्यास ‘क्रान्ति’ को लोकार्पण कार्यक्रममा डा. कोइरालालाई उक्त सम्मान अर्पण गरिएको हो ।

मनोचिकित्सामा उच्च शिक्षा हासिल गरेपछि व्यवसायिक जीवनमा प्रवेश गरेको छोटो समयमा नै आत्महत्यागरी बित्नुभएका डा. अर्यालको स्मृतिमा उहाँको परिवारले उक्त पुरस्कारको स्थापना गरेको हो । पुरस्कारलाई पर्वतीय साहित्य समाज नेपालले व्यवस्थापन गरिरहेको छ ।
पेज टर्नर प्रकाशनका प्रमुख भरत पौडेलको अध्यक्षता तथा वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा अतिथिहरूले स्वर्गीय डाक्टर अर्यालको मरणोपरान्त प्रकाशित उपन्यास ‘क्रन्ति’ को पनि लोकार्पण गरिएको थियो । उपन्यासलाई पेज टर्नरले बजारमा ल्याएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले प्रतिभाशाली चिकित्सक सुदीप अर्यालको नामबाट सम्मानित हुन पाउँदा आफूले गर्वको महसुस गरेका बताउनुभयो । पुरस्कारले आफूले चलाइरहेको बाल हृदयरोग निवारण अभियानलाई ठूलो टेवा पुर्‍याएको उहाँले बताउनुभयो । पर्वतीय साहित्य समाजका अध्यक्ष तथा पुरस्कार कोषका पनि अध्यक्ष नियात्राकार प्रतीक ढकालले डाक्टर कोइराला आफैँ पनि भगवानस्वरूप भएको हुँदा उहाँको कार्यबाट सम्पूर्ण देश अभिप्रेरित भएको दाबी गर्नुभयो । उहाँले स्वर्गीय डाक्टर सुदिप सशरीर हामीमाझ नरहे पनि अक्षरहरूमा उहाँ अमर भएको बताउनुभयो, र आज तिनै दिवङ्गत प्रतिभाको नामबाट परिवार र निकतस्थहरू चिनिनुपर्ने समय आएको उल्लेख गर्नुभयो ।

उपन्यास ‘क्रन्ति’ का सन्दर्भमा आफ्नो समीक्षा राख्दै सामालोचक महेश पौड्यालले उपन्यासले मनोविज्ञान, किशोरावस्थाका आवेग र अभिभावकको भूमिकाका बारेमा गहन कुरालाई आख्यानीकृत गरेको बताउनुभयो । उहाँले यस उपन्यासले भावावेसमा अप्रिय बाटो आँगाल्ने सम्भावना बोकेका अनेक किशोर किशोरीलाई पुनः जीवनको बाटोमा फर्कन र अभिभावलाई पनि त्यसै अनुरूप आचरण गर्न यस उपन्यासले मद्दत गर्ने जिकिर गर्नुभयो । उपन्यासमा प्रमुख पात्र ‘क्रन्ति’को रूपमा चित्रित वास्तविक व्यक्ति, बुटवलकी गायिका रिङ्कु वाग्लेले आफ्नो गायनप्रतिको अनुराग र उहाँका अभिभावकको अर्कै दवावका बीच अलमलिएको जीवनलाई डा. अर्यालले नै सफलताको बाटोमा ल्याइदिएको दाबी गर्नुभयो । उहाँले डा. अर्यालले आफ्नो जीवन बचाइदिएको तर आफूले उहाँको जीवन बचाउन नसकेकोमा भने खेद प्रकट गर्नुभयो ।

प्रमुख अतिथि भुवनहरि सिग्देलले उपन्यास ‘क्रन्ति’ले सजीव पात्रलाई आख्यानका पानामा उतारेको हुँदा एउटा नयाँ र अनौठो प्रयोगसहित बजारमा आएको बताउनुभयो । पेज टर्नरका अध्यक्ष भरत पौडेलले आफ्नो प्रकाशनले सधैँ चर्चामा नआएका तर जीवनमा ठूलो अर्थ बोक्ने पाण्डुलिपिहरूलाई प्रकाशनका लागि उच्च प्राथतमिकतामा राखेको बताउनुभयो । उहाँले निकट भविष्यमै उहाँको प्रकाशनले बाल–साहित्य, मासिक बाल पत्रिका तथा अनलाइन साहित्यक पोर्टल पनि सञ्चालनमा ल्याउने बताउनुभयो ।

डा. सुदीप अर्याल सामाजिक रूपान्तरण पुरस्कार प्राविधिक क्षेत्रमा उल्लेख्य र प्रेरणादायी काम गर्ने व्यक्तित्वहरूलाई प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार कोषकी सदस्य–सचिव साहित्यकार भवानी खतिवडाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?