निरु हत्या प्रकरण : १८ महिनापछि अभियुक्त पक्राउ

 हत्या भएको १८ महिनापछि पक्राउ परेका निरुकी अन्टी (काकी) र आफन्त ।

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । कालीकोट खाँडाचक्र नगरपालिका-६ दाहाँ गोरालबाडाकी १६ वर्षीया निरु विकको हत्या अभियोगमा दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटले सोही ठाउँका ३० वर्षीया कमला विक र अने नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत कालीकोटबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जनालाई घटना घटेको १८ महिनापछि प्रहरीले पक्राउ गरेको हो ।

२०७८ भदौ ४ गते घरबाट मेला हेर्न जानुभएकी निरु विक तीन दिनपछि अर्थात् भदौ ७ गते घरनजिकैको मेकैबारीमा मृत फेला पर्नुभएको थियो । गत भदौ ४ गते बेलुकी ७ बजेसम्म घरमै हुनुभएकी किशोरीको ७ गते दिउँसो घरबाट करिब तीन सय मिटर तल मकैबारीमा शव भेटिएको थियो । घरबाट गएपछि सामूहिक बलात्कार गरेर हत्या गरिएको हुनसक्ने स्थानीयले बताउँदै आएका थिए । स्थानीय वसन्त विश्वकर्माका अनुसार शव भेटिएको ठाउँमा तँछाडमछाड भएको थियो । उहाँलाई जबरजस्ती गर्न खोज्दा नमानेपछि हत्या गरिएको हुनसक्ने दाबी उहाँको छ ।

दलित अधिकारकर्मी दिनेश चदाँरा कालीकोटमा बारम्बार दलित समुदाय छुवाछुत र विभेदको शिकार भइरहेको बताउनुहुन्छ । यसअघि पनि दलित युवतीहरूको विभिन्न बहानामा हत्या भएको हुँदा यो घटनामा पक्राउ परेका आरोपितमाथि कडा रूपमा अनुसन्धान हुनुपर्ने र उन्मुक्ति दिन नहुने उहाँले प्रशासनसमक्ष आग्रह गर्नुभएको छ ।

यता, कालीकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले प्रारम्भिक अनुसन्धानबाट निरुकी अन्टी(काकी) र नातेदार अनेलाई पक्राउ गर्न सफल भएको सुनाउनुभयो । ‘केही प्रमाणको आधारमा पक्राउ गरेका छौँ । अहिले नै हत्यामा संलग्नता छ भन्न सकिँदैन । तर, प्रमाणले हत्यामा उनीहरूको संलग्नता बढी देखिएको छ, हामी अनुसन्धानकै क्रममा छौँ ।’ उहाँले हिमालय टाइम्ससँग कुरा गर्दै भन्नुभयो । हालसम्म प्रहरीले घटनास्थल वरपरका ५० जनाभन्दा बढीलाई जिल्ला सदरमुकाम मान्म ल्याएर सोधपुछ गरिसकेको छ । गाउँमा पनि प्रहरी टोलीले अनुसन्धान गरिरहेको डिएसपी रिमालले जानकारी दिनुभयो ।

दलित समुदायकी किशोरीको बलात्कारपछि हत्या गरिएको दाबीसहित कालीकोटका अधिकारकर्मी संघसंस्था लगायतका अन्य संघ संगठनले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् । दलित मुक्ति मोर्चा, दलित सेवा संघ, दलित मुक्ति अभियान, नेपाल दलित संघ, जिल्ला दलित अधिकार प्रवद्र्धन एवं समन्वय समिति, मानव अधिकार सञ्जाल, चे फोर्स नेपाल लगायतका संघसंस्थाले बलात्कारीको पहिचान गरी कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दै आइरहेका छन् ।

किशोरीका बुवा रत्ने गोराल (नेपाली) ले पनि छोरीको बलात्कारपछि हत्या गरिएको दाबी गर्दै आउनुभएको छ । निरु विक मकै बारीमा तलको शरीर जंगली जनावरले खाइसकेको अवस्थामा भेटिनुभएको थियो । स्थानीय सरस्वती माध्यमिक विद्यालय हुपीडाँडामा कक्षा ८ मा अध्ययनरत निरु गाउँमा गठित किशोरी समूहकी सदस्य हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?