राजनीतिको बाटो मोडिने संकेत

हिमालय टाइम्स
Read Time = 7 mins

नेपालको राजनीतिमा स्थायित्व कहिल्यै प्राप्त हुन सकेन तर नेपालीहरू त्यसैको ब्यग्र प्रतीक्षामा रहने गरेका छन् । निकट भविष्यमा हुने राष्ट्रपतिको पद कसले हात पार्ने भन्ने रस्साकस्सी चलिरहेको छ । राष्ट्रपति राष्ट्रप्रमुखको पद हो । हुन त यो कार्यकारी पद होइन तैपनि राष्ट्रप्रमुखको पद भएका कारण सबैको आकर्षण देखिएको हो । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पाएको छ, नेकपा एमालेले सभामुख हात पारेको छ । अब राष्ट्रपति नेपाली कांग्रेसलाई दिँदा शक्ति सन्तुलनको अवस्था सिर्जना हुन सक्छ र राष्ट्रिय सहमति भएको देखिन्छ भन्ने आधारमै माओवादी केन्द्रले कांग्रेसका पक्षमा राष्ट्रपतिको लबिङ गर्दै आएको हो ।

यही कारण भरखर बनेको सरकारमा संलग्न पार्टीहरूबीच गठबन्धनमै असर पर्ने गरी मनमुटावको अवस्था आउला जस्तो देखिँदै आएकोमा अब प्रधानमन्त्रीले खुलेरै कांग्रेसलाई राष्ट्रपतिको आश्वासन दिनुभएबाट सत्ता गठबन्धनको एक प्रमुख पार्टी नेकपा एमाले सशंकित बन्न पुगेको छ । सधैं राजनीतिको कुनै न कुनै बिठ्याइँमा संलग्न भएर आफ्नो उपस्थिति देखाइरहने एमाले भने अब अर्को कुनै यस्तै बाटो खोज्न थालेको छ । आफूसँग चरम कलह गरी छुट्टिएर गएका माधव नेपाल जसले पछि एकीकृत समाजवादी नामको अर्कै पार्टी खोल्नुभयो, गत निर्वाचनपछि प्रतिनिधिसभामा १० स्थानमा विजय गर्नु भएको छ, अहिले उहाँलाई प्रलोभन दिने कार्य सुरु गरेको छ ।

पहिले नेपाली कांग्रेससँग गठबन्धन गरी सरकारमा सामेल भएको र निर्वाचनमा सामेल पार्टी एकीकृत समाजवादी मत परिणामपछि पनि आफ्नो अडानका साथ प्रतिपक्षमै रहँदै आएको छ । मओवादी केन्द्र भने प्रधानमन्त्रीको प्रलोभनले पूर्वगठबन्धन त्यागेर नयाँ गठबन्धनमा संलग्न भएको हो तर हालमा दिनमा यो पार्टी पुरानै गठबन्ध ठीक रहेछ भन्नेमा पुगेजस्तो देखिन्छ । नेपाली कांग्रेस पनि पुरानो गठबन्धन ब्युँताउने कसरतमा छ । त्यसो हुँदा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र थोरै नपुगेको संख्या साना दललाई सामेल गरेर पुर्‍याउन सकिनेतर्फ कांग्रेसको कसरत हुनसक्छ । माओवदी वर्तमान गठबन्धनमा रहँदा आधा अवधिको मात्रै सम्झौता भएकोमा नेपाली कांग्रेससँग मिल्दा पूरै अवधि प्रधानमन्त्री बन्न पाइने आशमा पुरानो गठबन्धनतर्फ लाग्ने सम्भावना बढेर गएको छ ।

तर, एकीकृत समाजवादीलाई भड्काउमा पार्न सके बन्न लागेको यस्तो समीकरण बिगार्न सकिने थियो भन्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीको सोच रहेको देखिन्छ । त्यसका लागि उहाँ एकीकृत समाजवादी पार्टीका अध्यज्ञक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको आगामी निर्वाचनमा उम्मेदवार बनाउने सोचमा हुनुहुन्छ । माओवादीको समर्थनविना उहाँको विजय सम्भव हुँदैन, बरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई साथमा लिन सक्ने हो भने एकीकृत समाजवादी पार्टीको समर्थन नपाउँदा नेपाली कांग्रेस र माओवादीतर्फको बहुमत पुग्न सक्छ । त्यसकारण आफूसँग चरम कलह भएको व्यक्तिको उक्साहटमा माधव नेपालले राष्ट्रपतिको उम्मेदवारी दिनु बुद्धिमत्तापूर्ण हुन सक्दैन ।

उहाँ पुरानै गठबन्धनका पक्षमा रहनुभयो भने बरू उहाँको पार्टीले सम्मानित स्थान पाउन सक्छ । माओवादीको हालको अभिव्यक्तिबाट र नेपाली कांग्रेसको सक्रियताले अब पुरानै गठबन्धन फर्किनसक्ने सम्भावना बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललले गठबन्धन तोडेर एमालेसँग गठबन्धन गर्दा पनि नेपाली कांग्रेसले उहाँलाई बैरभावपूर्ण दृष्टिले हेरेको छैन । माओवादी पनि अहिले पश्चातापको मुडमा छ । त्यस अर्थमा पुरानो गठबन्धन फर्किन सक्ने प्रबलता बढेको हो । माओवादीले मुख्य रूपमा एमाले बाहिरको राष्ट्रपतिको पक्षमा अधिव्यक्ति दिने गरेको छ । यसबाट एमाले-माओवादीप्रति सशंकित बन्न पुगेको छ ।

ओलीको माओवादीलाई फकाउने प्रयास हालसम्म असफल बन्दै गएको छ । त्यसकारण अबको राष्ट्रपति स्वतन्त्र व्यक्ति वा नेपाली कांग्रेसप्रति सद्भाव राख्ने मानिसले पाउने सम्भावना नजिकिँदै छ । कांग्रेसलाई प्रधानमन्त्रीबाटै यस्तो आश्वासन प्राप्त भएकाले यसो भन्न सकिने अवस्था छ । भारतीय चिन्तक एसडी मुनीले केही व्यक्तिको नामै लिएर जे भने त्यो उनको विचार हो । तथापि उनले त्यो भन्नु चाहिँ उपयुक्त विचार थिएन । उनले लिएका केही नाम चाहिँ राष्ट्रपतिका लागि योग्य व्यक्ति रहेकोमा द्विविधा छैन । उनले उनको कुरा भने नेपालको राष्ट्रपतिको चयन नेपालले गर्ने हो । त्यसैले योग्य व्यक्तिलाई राष्ट्रपति छनोट गरौं, यस कार्यलाई राजनीतिको फोहोरी खेलभन्दा अलग्गै राखौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?