सरकारमा दुईतर्फ बिचार फर्केका दलहरूको अस्वभाविक र अपवित्र गठबन्धन : अध्यक्ष थापा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले देशमा अवलम्बन भएको राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पूर्वविचार र विकल्पको बहस गर्नुपर्ने बताउनु भएको छ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकोले पुनर्विचार र विकल्पको बारेमा बहस गर्नुपर्ने बताउनु भयो।

उहाँले राजतन्त्र फाल्नको लागि भएको आन्दोलन १८ वर्ष पुग्दा समेत जनताले अमनचयन शान्ति र समृद्धि नपाएको बताउँदै अहिले देशमा भइरहेको राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार गर्नुपर्ने उहाको भनाई छ ।

उहाले निर्वाचन हुनुभन्दा पहिलाको गठबन्धनलाई जनताले म्यान्डेड दिएको भएपनि त्यो गठबन्धन चुनाव लगत्तै भत्किएर सत्ता स्वार्थमा नयाँ गठबन्धन बनेको बताउँदै देशमा फोहरी राजनीतिक खेल चलेको वताउनु भयो । उहाँले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन पनि अस्वभाविक र अपवित्र भएको बताउँदै एमाले नेतृत्वको गठबन्धनमा दुई तर्फ बिचार फर्केका दलहरू भएकोले यो गठबन्धन पनि अस्वभाविक र अपवित्र नै रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको गठबन्धनमा राजा फाल्ने, राजा ल्याउँछु भन्ने, संघीयता चाहिँदैन भन्ने, संघीयता चाहिन्छ भन्ने र हिन्दु धर्म र धर्मनिरपेक्षताका एजेण्डा बोक्ने एकैठाउँमा बसेका छन् । यो गठबन्धन झन अपवित्र छ । ’ यसले मुलुकलाई दुर्घटना तर्फ धकलेको उनको जिकीर छ ।

अध्यक्ष थापाले देशको अर्थतन्त्र निकै कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी दैनिक बढेपनि सरकार सत्ता टिकाउनमा व्यस्त रहेको बताउँदै उनले देश अहिले रेमिटेन्सको भरमा मात्रै चलेको बताउनु भयो । उहाँले अहिलेका राजनीतिक दलहरूमा अराजनीतिक, मर्यादाहीन र फोहोरी प्रवृत्ति देखिएको बताउँदै अब देशको अवस्थाको अपूर्वानुमेय र अविश्वसनीय अवस्थामा पुगेको बताउनु भयो । उहाँले राजनीतिक दलहरूको अस्थीरताको कारणले देशको एकता र संविधान नै धरापमा परेको उल्लेख गर्नु भयो ।

पूर्व उपप्रधानमन्त्री थापाले अबको राष्ट्रपति हुने ब्यक्तिले राजनीतिक स्वार्थ अनुसारका कामहरू गर्न नहुने बताउँदै राष्ट्रपतिले स्वार्थ देखाएकोले दलहरूबीचमा खिचातानी बढेको बताउनु भयो।

देशमा बिदेशी चलखेल बढ्नुमा दलहरु स्वंम दोषि भएको बताउँदै अध्यक्ष थापाले मुलुकको स्वाभीमानमा सचेत रहन दलहरुलाइ सुभाब दिए।
राजतन्त्र पुर्नस्थापनाको विषयमा पत्रकारको जिज्ञासाबारे बोल्दै अध्यक्ष थापाले अहिले राजतन्त्र र राजनीतिक दलहरूका बिचमा आशंका र अविश्वासको खाडल रहेको बताउनु भयो। उहाले प्रजातन्त्र दिवसका दिनमा पूर्वराजाले दिएको सन्देशमा राजनीतिक दलहरूसंग समन्वय गर्ने भनेपनि यसको लागि निकै ढिलो भएको वताउदै राजाले दिएको अभिव्यक्ति दोहोरो प्रकृतिको देखिएको बताउँदै दलहरुसंगको सहकार्य सकारात्मक रहेको र मौन बस्दीन भन्ने कुराले द्धन्द्ध सिर्जना गर्नेतर्फ संकेत गरेको बताउनु भयो।

दुर्गा प्रसाईँ राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा हिँडेको प्रश्नमा बोल्दै थापाले हिन्दुराष्ट्रको पक्षमा आफुहरु पनि रहेको बताउँदै हिन्दुराष्ट्रको विषयमा आवाज उठाउने ब्यक्तिलाई नैतिक समर्थन गर्ने दाबी गर्नु भयो । यो पटकको निर्वाचनमा जनताले पार्टी बनाउन आग्रह गरेको बताउँदै ७७ वटै जिल्लामा संगठन बिस्तारको कामहरू भइरहेको बताउनु भयो। कार्यक्रम रिपोटर्स क्लब लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षत्रीको अध्यक्षतामा भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?