जिपिएल क्रिकेट प्रतियोगिताको उपाधिका लागि विकास प्रेमी र राजापुर भिडने

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 4 mins

बर्दिया । जिल्लास्तरीय टि-२० (जिपिएल) क्रिकेट प्रतियोगिताको उपाधिकाका लागि विकासप्रेमी युवा समूह गुलरिया र राजापुर स्पोर्ट क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । बर्दियाको गुलरियामा गोरेटो मिडिया प्रालिद्वारा आयोजना गरिएको जारी जिल्लास्तरीय टि-२० (जिपिएल) क्रिकेट प्रतियोगितामा बारबर्दियाको टिमलाई हराउँदै विकास प्रेमी युवा समूह गुलरिया र टेपरीको टिमलाई हराउँदै राजापुर स्पोर्ट क्लब फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा टस जितेर ब्याटिङ गरेको विकास प्रेमी युवा समूह गुलरियाले युवराज यादवको ५९ बलमा ११८ रनको योगदानबाट १९४ रन बनाएको थियो । १९५ रनको लक्ष्य लिएर मैदान छिरेको बारबर्दियाको टिम २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १६६ रनमा समेटिएको थियो । बारबर्दिया टिमका तर्फबाट आकाश खत्रीले ७६ रनको पारी खेले पनि टिमलाई जित दिलाउन सक्नुभएन । बलिङमा विकास प्रेमी समूहका खेलाडी युवराज यादवले तीन विकेट, सोन खानले तीन विकेट, मेहमुद सिद्धिकीले, सरोज बस्नेतले समान एक-एक विकेट लिनुभएको थियो । म्यान अफ द म्याच युवराज यादवलाई समाजसेवी एवं निर्माण व्यवसायी संघ बर्दियाका महासचिव हेमन्तप्रकाश गिरीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

यसैगरी दोस्रो सेमिफाइनल खेलमा टेपरीलाई हराउँदै राजापुर फाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको राजापुरले निरज नेपालीको २५ रन, सुमित ध्वज चन्दको २५ र युनिस खानको २४ रनको योगदानमा निर्धारित २० ओभरमा १५१ रन बनाएको थियो । १५२ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको टेपरीको टिमले २० ओभर खेल्दै नौ विकेटको क्षतिमा ११५ रनमात्र बनाउन सकेको थियो । बलिङमा राजापुरका तर्फबाट सौगात तिमिल्सिनाले दुई, सुवास तिमिल्सिनाले चार, निरज नेपालीले दुई र युनिस खानले एक विकेट लिनुभएको थियो ।

टेपरीका तर्फबाट राजकुमार पासवानले ५९ रन बनाए पनि टिमलाई हारबाट जोगाउन सक्नुभएन । प्रतियोगितामा म्यान अफ द म्याच भएका राजापुरका खेलाडी निरज नेपालीलाई राष्ट्रिय वाणिज्य बैंक गुलरियाका शाखा प्रबन्धक सुमन बस्यालले पुरस्कार प्रदान गर्दै खेलाडीको उज्वल भविष्यको शुभ कामनासमेत व्यक्त गर्नुभएको थियो ।

यही फागुन १ गतेदेखि सुरु भएको जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगिताबाट नयाँ खेलाडीको पहिचान तथा खेलाडीहरूको मनोबल वृद्धि गर्नका लागि सो प्रतियोगिताको आयोजना गरिएको गोरेटो मिडिया प्रालिका अध्यक्ष दीपककुमार शर्माले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?