फोरजी सेवा गुणस्तर बनाएपछि मात्रै फाइभ जी लागू गर्न उपयुक्त : मन्त्री शर्मा

Read Time = 8 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ जी लागू गर्न उपयुक्त हुने बताउनुभएको छ ।

बिहीवार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभ जी को चुनौति र आगामी बाटो’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा फाइभ जी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँच समेत पुग्न नसकेको अवस्था रहेको बताउनु भयो ।

उहाँले फोर जी सेवा बिस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै फोर जी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनु भयो । मन्त्री शर्माले फोर जी सेवा लागू गर्दा लागेको लागत अनुसार प्रतिफल भए,नभएको विषयमा अध्ययन गर्नुपर्ने बताउनु भयो । उहाँले विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट हुने फाइदाको समिक्षा गर्न सकेनौं भने लाभ भन्दा नोक्शानी बढ्नसक्ने तर्फ सचेत हुन आवश्यक रहेको पनि बताउनु भयो ।

मन्त्री शर्माले नेपाल भौगोलिक रुपमा कठिन अवस्थामा रहेको भन्दै उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको स्वीकार गर्नुभयो । उहाँले देशका धेरै भू–भागहरू इन्टरनेटको न्युनतम सेवा समेत नपुगेको बताउनु भयो । उहाँले विभिन्न निकुञ्ज र जङ्गलको क्षेत्र समेत इन्टरनेट र फोनको पहुँच बाहिर रहेको भन्दै जङ्गलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भएमा सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या रहेको बताउनु भयो ।

उहाँले सम्बन्धित निकायहरुलाई सबैभन्दा पहिला सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पु¥याउन निर्देशन दिनुभयो । मन्त्री शर्माले उपत्यकाको धेरै स्थानमा समेत सामान्य सेवा नपुगेको र हाईवेका धेरै ठाउँमा फोन नलाग्ने, टावर नै नआउने अवस्था रहेको बताउनु भयो । उहाँले फाइभ जी अघि सरकारले ठूलो लगानी गरेर फोरजीको पूर्वाधार तयार गरेपनि त्यो लगानी खेर जाने स्थिति रहेको बताउनु भयो । उहाँले फोरजी राम्रोसँग नचल्दै फेरि फाइभजीमा लगानी गर्दा सरकारी लगानी खेर जाने अवस्था आउनसक्ने बताउनु भयो । उहाँले विश्वमा आविष्कार भएको नयाँनयाँ प्रविधि आत्मसात गर्दै गर्दा उपभोक्ता र नेपालीको व्यक्तिगत विवरण सुरक्षा ग्यारेन्टीमा समेत ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले नयाँ प्रविधि लागू गर्दा देशको अवस्था र विगतको लगानीलाई हेररे गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालमा फाइभ जी लागू हुँदा धेरै लाभ लिन सकिने भएकाले लागू गर्न आवश्यक छ । हामीले फो जीको स्टाटस थाहा नपाई फाइभजीमा कसरी अगाडि बढ्ने विषय छ । अहिले फोरजीको अवस्था के हो यसबाट कति लाभ लिएका छौं । फोरजी सेवामा कति लागत लगायौं र कति लागत उठ्यो भन्ने वास्तविक लेखाजोखा नगरी विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट के भयो भन्ने विषयमा समिक्षा गर्न सकेनौं भने लाभ भन्दा पनि नोक्शानी हुने जस्तो लाग्छ । हामी फोरजीमा भौगोलिक रुपमा कठिन अवस्थामा छौं । ग्रामिण क्षेत्रमा डाँडामा टेलिफोनको टावर भएपनि खोजमा रहेको बस्तिमा टावर आउँदैन । गाउँपालिकाको कार्यालयमा फोन लाग्दैन फोरजीको विषय टाडाको कुरा हो । न्युनतम फोन लाग्ने अवस्था समेत छैन भन्ने गुनासोहरु आएका छन् । अझै पनि कतिपय स्थानमा टेलिफोन सेवा पुग्न सकेको छैन । उच्छ हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको छैन । निकुञ्ज र जङ्गलको क्षेत्र समेत इन्टरनेटको पहुँच बाहिर छन् । जङ्गलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भएमा सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या रहेको छ । पहिला सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पु¥याउन आवश्यक छ । काठमाडौं उपत्यकामा समेत फोरजी सेवा गुणस्तर छैन । यसलाई व्यवस्थित गर्ने गरेर मात्रै फाइभजीमा प्रवेश गर्न उपयुक्त हो । मुलुक सूचना प्रविधिमा फड्को मार्नुपर्छ । त्यसको लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गरी आधारहरु खडा गर्नुपर्छ । फाइभ जी सेवा लागू गरे पश्चात अर्थतन्त्र लगायत अन्य विषयमा कति लाभ हुन्छ भन्ने विषयको लेखाजोखा गर्न आवश्यक छ । अझै पनि फोन नलाग्ने क्षेत्रहरु धेरै छन् । त्यस्ता क्षेत्रहरुको पहिचान गरेर समस्या हल नगर्ने तर नयाँ नयाँ टेक्नोलोजीमा जाने अवस्था रहेको छ । भौगोलिक अवस्था,प्रयोग गर्ने जनशक्ति अहिलेका चुनौति रहेका छन् ।’

त्यस्तै,नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले फाइभजी सेवा अपेक्षा अनुसार नभएर पनि परीक्षण शुरु भएको बताउनु भयो । उहाँले सरकार,नियमन निकाय र आम उपभोक्ताहरुले सोचेको जस्तो नभएको गुनासो गर्नुभयो । उहाँले फाइभ जी सेवा परीक्षणको दायरा बढाउन आग्रह गर्नुभयो । खनालले फाइभ जी प्रयोगकर्ताले परीक्षण गर्नुपनि परीक्षणको एउटा पाटो भएको बताउनु भयो ।

उहाँले प्राधिकरणले नेपालमा फाइभ जी ल्याउँदा हुने फाइदाहरुको विषयमा अध्ययन गरिरहेको बताउनु भयो । उहाँले राज्यले लगानी गरे अनुसार कस्तो प्रतिफल आउने विषयमा अन्तिम रिपोर्ट आउन बाँकी रहेको बताउनु भयो । उहाँले नियमनकारी निकायले फाइभजी विषयमा सुक्ष्म रुपमा व्यवस्थापन नगर्ने सोच भएपनि अब सुक्ष्म रुपमा व्यवस्थापन गर्ने सोचमा पुगेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?