बजेट अभावको चपेटामा खेलकुद

रासस
Read Time = 5 mins

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता भइरहेको छ । पालिकाबाट छनोट भएका खेलाडीलाई जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाइनेछ । यहाँ जिल्लाका १२ पालिकाबाट एक हजार ३६० खेलाडी प्रतिस्पर्धामा सहभागी हुनेछन् । जसबाट ७६ खेलाडी छनोट भएर प्रदेशमा जानेछन् । गुल्मीले ६ विधाका खेलमा सहभागिता जनाउनेछ । भलिबल, कबड्डी, लङजम्प, तेक्वान्दो, कराँते र मार्सल आर्टमा खेलाडी छनोट गरिँदैछ ।

पालिकामा छनोट भएका खेलाडी जिल्लामा छनोट गरेर प्रदेशमा पठाउने भूमिका पाएको जिल्ला खेलकुद विकास समिति गुल्मी भने आर्थिक पिरलोमा छ । वर्षभरमा समितिले एक वा दुई यस्तै खेलाडीको छनोट गर्नेबाहेक अन्य भूमिका पाउन सकेको छैन । यो भूमिकालाई पनि व्यवस्थित गरेर लैजान समितिसँग बजेट नभएपछि समस्या हुँदै गएको छ ।

बजेट अभावको चपेटामा खेलकुद छ । आफूहरूले खर्च गरेर खेल व्यवस्थित गर्न बजेट अभाव रहेको कार्यालय प्रमुख डिल्ली विकले बताउनुभयो । ‘जिल्लास्तरीय छनोटमा पनि बजेटको आकार कमजोर छ’, पत्रकार सम्मेलनमा विकले भन्नुभयो, ‘केन्द्र, प्रदेश र पाल्पा हुँदै तम्घाससम्म आउने बजेटले हामीलाई पुग्दैन ।’ जिल्लामा यस छनोट प्रतियोगिताका लागि केन्द्रले साढे चार लाख विनियोजन गरेको छ । जुन रकम प्रदेश हुँदै कार्यालयले पाल्पाबाट मात्र भुक्तानी पाउने गरेको छ ।

बजेट अभावका कारण खेल व्यवस्थित बनाउन नसकिएको समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आफूहरूसँग पर्याप्त रकम नहुँदा सामान्यरूपमा छनोट गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । ‘बजेटको चपेटामा खेलकुद क्षेत्र छ’, उहाँले भन्नुभयो, ‘स्थानीय सरकासँग बजेट छ, सहयोग गर्नुपर्‍यो ।’ स्थानीय तहहरूले आफ्नो तहबाट छनोट गरेर जिल्लासम्मको खर्च बेहोर्दै आएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाको व्यवस्थापन र प्रदेशसम्मको खर्च बेहोर्दै आएको छ ।

गत वर्षको राष्ट्रपति रनिङ शिल्डमा खेलकुद विकास समितिको नौ लाख खर्च भएको थियो । साथै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि समितिको नौ लाखकै हाराहारीमा खर्च भएको कार्यालय प्रमुख विकले जानकारी दिनुभयो । साढे चार लाखबाहेकको बजेट भाडाबाट उठ्ने र स्थानीय सरकारसँग मागेर पूरा गरिएको छ । यसपटक पनि कार्यालय खर्च व्यवस्थापनको पिरलोमा छ ।

जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष गिरीप्रसाद महाकिमले केन्द्र र प्रदेशले दिएको जिम्मेवारी पूरा गर्ने बताउनुभयो । ‘खेल क्षेत्र राज्यको उपेक्षामा छ, बजेट अभावले खेलकुद चपेटामा छ,’ उहाँले भन्नुभयो, ‘जसोतसो आर्थिक व्यवस्थापन गरेर जिम्मेवारी पूरा गर्छौं ।’ स्थानीय पालिकाबाट ५०/५० हजार सहयोग भएमा आफूहरूले खेल क्षेत्रलाई व्यवस्थित गरेर लैजान सक्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महाकिमको भनाइ छ । बुधबार तम्घासमा पत्रकार सम्मेलन गरेर समितिले खेलाडी छनोटका लागि तयारी पूरा भएको बताएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?