ओलीद्वारा केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीपको उद्घाटन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बिहीबारबाट केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्याम्पियनसीपको उद्घाटन गर्नुभएको छ ।

प्रतियोगिताको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने र फाइनल खेल दशरथ रंगशालामा हुने युवा संघले जनाएको छ । १७ फागुनसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टीम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ ।

पुलिसलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा
सातदोबाटो युथ क्लबले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । एन्फा कम्प्लेक्समा बिहीबार नेपाल पुलिस क्लबलाई दुई-एक गोल अन्तरले हराउँदै सातदोबाटो अन्तिम चारमा पुगेको हो ।

सातदोबाटोको जितमा दीपकराज सिंह ठकुरीले दुई गोल गर्नुभयो । पुलिसका प्रविन थापाले एक गोल फर्काउनुभएको थियो । पहिलो हाफको इन्जुरी समयमा दीपकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाउनुभएको थियो ।
तर, ४९ औं मिनेटमा प्रविनले गोल गर्दै पुलिसलाई एक–एक गोलको बराबरीमा ल्याउनुभयो ।

त्यसपछि खेलको ७१ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई दुई-एक को जित दिलाउनुभयो । अब सातदोबाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीचको विजेतासँग खेल्नेछ । आर्मी र एनआरटीबीचको खेल आज (शुक्रबार) बिहान ११ बजे सुरु हुनेछ ।

यस्तै, शुक्रबार दिउँसो मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । आयोजक राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले पाँच लाख नगद रुपैपाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले एक लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् । प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?