म्याग्दीमा फस्टाउँदै अम्रिसो खेती

फाइल तस्बिर

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । म्याग्दीका ग्रामीण भेगका किसानहरूलाई भिरालो जमिन, पाखो र खेतबारीका डिलमा लगाइने अम्रिसो आम्दानीको बलियो स्रोत बनेको छ । पछिल्लो समय अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि यहाँका किसान उत्साहित भएका छन् । दुई वर्षअघि प्रतिकिलो ४० का दरले मुस्किलले बिक्री हुने गरेको अम्रिसो अहिले प्रतिकेजी १२५ रुपैयाँमा बिक्री हुन थालेपछि यहाँका किसान उत्साहित भएका हुन् । अम्रिसो बेचेर यहाँका किसानले १४ लाखसम्म आम्दानी गरेका छन् ।

मूल्यमा उतारचढाव आइरहे पनि यो वर्ष प्रतिकिलो एक सयदेखि १२५ सम्म किसानबाट व्यवसायीले खरिद गरिरहेका छन् । अम्रिसोको व्यापार गर्दै आउनुभएका यामबहादुर सापकोटाले प्रतिकिलो १२५ सम्म लगाएर सात क्विन्टल अम्रिसो जम्मा गर्नुभएको छ । उहाँले बेनी, बागलुङ र पोखरासम्म पुर्‍याएर अम्रिसो बेच्ने गर्नुहुन्छ । अर्मन र बेनी नगरपालिकाका किसानहरूले यो वर्ष अम्रिसो बेचेर १४ लाख आम्दानी गरेको अगुवा कृषक चन्द्र कार्कीले बताउनुभयो ।
अझै पनि अम्रिसो बिक्री गर्न बाँकी रहेकाले यो वर्ष केही बढ्न सक्ने अनुमान गरेको उहाँले सुनाउनुभयो । अम्रिसो पोखरासम्म पु¥याउँदा गत वर्ष १४० मा बिक्री गर्नुभएका उहाँले यस वर्ष १६० सम्ममा बिक्री भएको जानकारी दिनुभयो ।

पछिल्लो समय भारतबाट अम्रिसोको माग बढेर आएपछि मूल्य बढेको व्यवसायीहरूको भनाइ छ । कुनै समय बिक्रीका लागि नभई घाँस र कुचोका लागि अम्रिसो रोप्ने पहाडी क्षेत्रका किसानले बजार र मूल्य पाउन थालेपछि व्यावसायिकरूपमा नै यसको खेती गर्न थालेका छन् । अम्रिसोको डाँठलाई दाउराका रूपमा र पातलाई घाँसका रूपमा प्रयोग गर्ने किसानले फुलेको भागलाई निकालेर कुचोका रूपमा बिक्री गर्दै आएका छन् ।

बहुउपयोगी अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसानमा उत्साह छ । अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखा जमिनमा समेत अम्रिसो खेती गर्न सकिन्छ । हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईवस्तुका लागि निकै उपयोगी हुन्छ । ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो । गुणस्तरीय जीवन विषयमा विद्यावारिधि गर्नुभएका डा. माधवप्रसाद तिवारीका अनुसार अम्रिसोको स्थानीय नाम अम्रिसो तथा कुचो घाँस हो । यसको अंग्रेजी नाम ब्रुम ग्रास, टाइगर ग्रास र वैज्ञानिक नाम थाइसेनोलीमा मेक्जिमा हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?