राष्ट्रपति निर्वाचनमा शक्ति केन्द्रको अस्वाभाविक चासो

निर्वाचन नै प्रभावित पार्ने गरी बढ्यो सक्रियता

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । मुलुकको संविधानले आलंकारिक भूमिकामा राखेको संवैधानिक पद राष्ट्रपतिमा आन्तरिक राजनीतिक शक्ति मात्रै नभएर बाह्य शक्ति केन्द्रहरूको पनि अस्वाभाविक दौडधुप देखिएको छ । अघिल्ला कार्यकालहरूमा दुईजना राष्ट्रपतिले खेलेको भूमिकाका कारण मुख्य गरी यसपटक यो आलंकारिक पदमा यति धेरै चलखेल बढेको चर्चा भइरहेको छ । पछिल्ला केही दिनयता त छिमेकी राष्ट्रका दूतहरू राष्ट्रपति निर्वाचन प्रभावित पार्ने हदसम्मको सक्रियता देखाएका छन् । सरकार बनाउने, बनेको सरकार टिकाउने र ढाल्नेसम्मको सूक्ष्म व्यवस्थापनको अभ्यास छिमेकीबाट हुँदै आएको थियो । दक्षिणी छिमेकीले गरिरहेको यस्तो अभ्यासमा २०७४ सालको आमनिर्वाचनदेखि उत्तरी छिमेकी राष्ट्र पनि सहभागी भएको छ ।

नेपालमा राष्ट्रपति निर्वाचनको पूर्व-सन्ध्यामा आश्चर्यजनक रूपमा दुवै छिमेकीको सक्रियता चुलिएको छ । यसपटक सरकार निर्माणका बेला तुलनात्मक रूपमा कम देखिएको छिमेकीहरूको सक्रियता संवैधानिक राष्ट्र प्रमुख चुन्ने पूर्व-सन्ध्यामा भने अस्वाभाविक रूपले देखिएको हो । पछिल्लो डेढ सातायता काठमाडौंमा प्रत्यक्ष देखिएको भारतीय विदेशसचिव विनयमोहन क्वात्रा र काठमाडौंस्थित चिनियाँ राजदूत छेन सोङको दौडधुप तथा अप्रत्यक्ष रूपमा दुवै मुलुकका अरू दूतहरूबाट राष्ट्रपति निर्वाचनलाई लिएर चलखेल भइरहेको छ । राष्ट्रपति निर्वाचन आउँदो फागुन २५ गते हुँदै छ । त्यसका लागि फागुन १३ गते मनोनयन पत्र दर्ता गर्ने मिति तोकिएको छ । उम्मेदवारी मनोनयन दर्ताका लागि अब जम्मा एकदिन मात्र बाँकी छ । तर, राजनीतिक दलहरूले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । राष्ट्रपति निर्वाचनकै कारण वर्तमान सत्ता गठबन्धन भत्किनेसम्मको अड्कलबाजी र नेताहरूले सार्वजनिक रूपमै गरिरहेको चर्चाका पछाडि आन्तरिक राजनीतिभन्दा छिमेकी दुतको दौडधुप अझ बढी देखिएका छन् ।

फागुन १ गते परराष्ट्रसचिव शंकर बैरागीको औपचारिक निमन्त्रणामा भारतका विदेशसचिव विनयमोहन क्वात्रा नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिने भन्दै काठमाडौं ओर्लिनुभयो । तर, दुई दिन काठमाडौंमा रहँदा क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सबैजसो दलका शीर्ष नेतासहित १४ जना नेतासँग म्याराथन शैलीमा भेटवार्ता गर्नुभयो । त्यसक्रममा क्वात्राले राष्ट्रपति कसलाई बनाउने वा कसलाई बनाउन नहुने भनेर अघोषित दबाब नै दिएको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।

अर्को छिमेकी मुलुक चीनबाट प्रत्यक्ष रूपमा उच्चस्तरीय भ्रमण नभए पनि नेपालका लागि नवनियुक्त राजदूत छेन सोङ एकपछि अर्को राजनीतिक भेटवार्ताको दौडमा लाग्नुभएको छ । पछिल्ला दिनहरूमा अस्वाभाविक सक्रियता बढाउनुभएका उत्तरी छिमेकी चीनका राजदूत छेनको सन्देश दक्षिण छिमेकीको ठिक विपरीत रहेको राजनीतिक दलका नेताहरूको दाबी छ । राष्ट्रपतिको लागि राजनीतिक तानातानबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारमा अघि सारेपछि काठमाडौंमा चिनियाँ राजदूत छेन सोङको सक्रियता थप बढेको छ । बुधबार बिहान मात्र बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेर राजदूत सोङले कम्युनिष्ट घटकबाटै राष्ट्रपति बनाउनु राम्रो हुने सुझाव दिएको स्रोतको दाबी छ । बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्नुभएका चिनियाँ राजदूत सोङ सोही दिन दिउँसो एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न नेपालको निवास कोटेश्वर पुग्नुभयो । अध्यक्ष नेपालसँगको भेटवार्तामा पनि राजदूत सोङले राष्ट्रपति निर्वाचनमै चासो राख्नुभयो । भारतीय विदेशसचिव क्वात्रा आएर फर्केपछि चिनियाँ राजदूतले गत फागुन ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमै पुगेर भेट्नुभएको थियो । ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्ने, राष्ट्रपतिका लागि प्रस्ताव गर्ने र पार्टी एकतासम्मकै पहल अघि बढाउने घटनाक्रम चिनियाँ राजदूतको सक्रियताकै परिणाम भएको टिप्पणी हुन थालेको छ ।

नयाँ जिम्मेवारी सम्हाल्न आएपछि चिनियाँ राजदूत सोङले अहिलेसम्म एमाले अध्यक्ष ओलीलाई तीनपटक भेटिसक्नु भएको छ । एमाले–माओवादी मिलेर नेकपा बन्दा र त्यसलाई जोगाउने क्रममा पनि चीनले यस्तै सक्रियता देखाएको थियो । त्यसबेला नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले नेकपा एकीकरण गर्न र पछि नेकपालाई जोगाइराख्न घरदैलो नै गर्नुभएको थियो । चिनियाँ प्रत्यक्ष चासोका बाबजुत पनि तत्कालीन नेकपा टिकिरहन भने सकेन । त्यसपछि पनि चीन वाम गठबन्धनको लागि निरन्तर प्रयास गरिरहेको छ । चिनियाँ राजदूतको राजनीतिक नेतृत्वसँगको भेटवार्तालाई गोप्य नै राख्ने गरिएको छ ।

मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै सुरु भएको शक्ति राष्ट्रहरूको दौडधुप सरकार गठन हुँदै राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा थप तीव्र बनेको छ । सरकार गठनको सुरुवातमा विशेष गरी अमेरिका र युरोपियन युनियनका विभिन्न मुलुकबाट एकपछि अर्को उच्चस्तरीय भ्रमणहरू भए पनि पछिल्ला केही दिनयता उत्तर र दक्षिण छिमेकी दूतहरूको सक्रियता तीव्र बनेको छ । चिनियाँ राजदूत सोङको सक्रियता र भारतीय राजदूत क्वात्राको नेपाल भ्रमणअघि काठमाडौंमा अमेरिकाका तीन वरिष्ठ अधिकारी आएको स्रोतको दाबी छ ।

पछिल्ला तीन महिना अघिदेखिको शक्ति केन्द्रको दौडधुप हेर्नलायक छ । युरोपेली युनियन र त्यहाँका विभिन्न मुलुकका राजदूतहरूले समेत एकल र संयुक्त राजनीतिक भेट गरेका थिए । छिमेकी मुलुक भारतका राजदूत नवीन श्रीवास्तव, चीनका राजदूत छेन सोङ र अमेरिकी राजदूत डिन थम्पसन नियुक्त भएर भर्खरै मात्रै काठमाडौं आएकाले उहाँहरूका शिष्टाचार भेटहरू त्यसबेलामा पनि बढी भए । त्यसपछि सरकार गठनपश्चात् विभिन्न मुलुकबाट बाक्ला भ्रमणहरू भए । सबैभन्दा पहिले १५ माघमा अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने भिक्टोरिया नुल्याण्डले दुईदिने उच्चस्तरीय भ्रमण गर्नुभयो । त्यसको डेढ हप्तापछि अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद् सदस्य, क्याबिनेटस्तरीय हैसियतकी अमेरिकी सहयोग नियोग युएसआईडीकी प्रमुख सामन्था पावरले २४ माघमा दुईदिने उच्चस्तरीय भ्रमण गरेर फर्किनुभयो । नुल्याण्ड भ्रमणमा रहेकै बेला २४ माघमा बेलायती रक्षामन्त्री एन्ड्र्यु मोरिसन् पनि काठमाडौं झरेर दुईदिने भ्रमण सम्पन्न गर्नुभयो । बेलायती रक्षामन्त्री काठमाडौंमा हुँदै २५ माघमा युरोपियन युनियनकी आयुक्त जुट्टा उर्पिलाइनेनले एकदिने भ्रमण गर्नुभयो । त्यसको एक हप्तापछि १ फागुनमा अमेरिकाको दक्षिण तथा मध्य एसियाली हेर्ने ब्युरोकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर पनि काठमाडौं ओर्लिनुभयो ।

विभिन्न राजनीतिक र कूटनीतिक स्रोतहरूका अनुसार पछिल्लो समय भएका अधिकांश भ्रमण र भेटको मुख्य चासो राष्ट्रपति निर्वाचनमा छ । सम्पन्न भएका भ्रमणहरू कतिपय पूर्वनिर्धारित छन् भने कतिपय तत्कालीन राजनीतिक घटनाक्रमले निर्धारण भएका देखिन्छन् । त्यस्तै, काठमाडौंमा रहेका कूटनीतिज्ञका भेटघाट पनि कतिपय अनौपचारिक थिए भने कतिपय औपचारिक शिष्टाचारका लागिसमेत भएका थिए । तर, ती भेट र भ्रमणका क्रममा भएका छलफल र सार्वजनिक सूचनाहरूका आधारमा उनीहरूको चासो राष्ट्रपति चुनाव नै भएको कूटनीतिज्ञहरूको जिकिर छ ।

राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पद : रावल
नेकपा एमालेका नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा भएको टिप्पणी गर्नुभएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत रावलले पदका लागि भएको जति छलफल देश र जनताका लागि गरेको भए जनतालाई राहत हुने बताउनुभएको हो । ‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि ? नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्न थाले । लज्जास्पद र निन्दनीय ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?