सन्दीपलाई विदेश जान सर्वोच्चले दिएन अनुमति आइतबार दुवै रिटमा सुनुवाइ हुने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखला खेल्न युएई जान पाउनुपर्ने मागसहित दायर गरेको निवेदनमा अदालतले अनुमति दिन अस्विकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले सन्दीपको निवेदनलाई अर्को मुद्दासँगै राखेर आइतबार पेश गर्न आदेश दिएको हो ।

सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारले सर्वोच्चमा पुनरावेदन गरेको छ । उक्त मुद्दासमेत शुक्रबार पेशीमा चढे पनि सुनुवाइ भने हुन सकेन । सन्दीपले क्रिकेट खेल्न युएई जान पाउनुपर्ने मागसहित बिहीबार दायर गरेको रिटमा शुक्रबार सुनुवाइ भएको हो । जबरजस्ती करणीको मुद्दामा यसअघि उच्च अदालतले उहाँलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो । त्यसविरुद्ध सन्दीपले सर्वोच्चमा निवेदन गर्नुभएको थियो ।

सोमबारदेखि युएईको दुबईमा हुने त्रिकोणात्मक सिरिज नेपाली टिमले सन्दीपविनै खेल्नेछ । त्यहाँ पपुवान्युगिनी र युएईसँग नेपालले चार खेल खेल्नेछ । त्यसपछि कीर्तिपुरमा हुने चार खेल भने सन्दीपले खेल्न पाउनुहुने छ । यसअघि नामिविया र स्कटल्याण्डविरुद्ध भएका चार खेलमा सन्दीप पनि सहभागी हुनुभएको थियो । उहाँ उक्त सिरिजका सर्वाधिक विकेट लिने खेलाडी पनि हुनुहुन्छ । सन्दीपमाथिको प्रतिबन्ध हटाइदिन क्यानले अपिल गरेको थियो । नेपाली टिमका व्यवस्थापक विनोद दासले इजलासमै पुगेर सन्दीपलाई नेपाल फर्काउने जिम्मा आफ्नो हुने बताउनुभएको थियो ।

उहाँले पनि सन्दीपलाई राष्ट्रका तर्फबाट खेल्न युएई जान अनुमति दिन आग्रह गर्नुभएको थियो । तर, न्यायाधीश खतिवडाले इजलासबाट सन्दीपको क्रिकेट करिअर अघि बढोस् भन्ने चाहे पनि कतिपय अफ्ठयारा रहेका बताउनुभएको थियो । नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म थुनामा राख्न दिएको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवदेन दिनुभएको थियो । त्यसैमा सुनुवाइ गर्दै उच्च अदालतले उहाँलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

केन्यामा पाँचवटा टी-२० खेल खेलेर लामिछाने क्यारेबियन प्रिमियम लिग खेल्न जमैका पुगेका बखत भदौ २१ मा नाबालिगले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि लामिछाने जमैकाबाट अमेरिका जानुभएको थियो । असोज २० मा नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर लामिछानेविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?