आँधीखोला गाउँपालिकाद्वारा राष्ट्रपति रनिङ शिल्डका सम्पूर्ण क्रियाकलाप सम्पन्न

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 5 mins

स्याङजा । आँधीखोला गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतका विभिन्न खेलकूद क्रियाकलाप सम्पन्न गरेको छ । दुई दिने कार्यक्रम अन्तर्गत बिहिबारबाट सुरु भएको अन्तर विद्यालयस्तरीय प्रतिस्पर्धाको आज समापन भएको सूचना अधिकृत रोशन लामिछानेले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य सुधीरकुमार पौडेलले खेलबाट विद्यार्थीको प्रतिभा प्रस्फूटनमा सहयोग पुग्ने भएकाले यस्ता प्रतिस्पर्धा भइराख्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका उपप्रमुख खड्गराज सुवेदीले विद्यालय जीवनमै खेलमा प्रतिभा देखाउन सक्नेहरु नै भविष्यका खेलाडी बन्ने बताउनुभयो ।

कार्यक्रममा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले आफूले खेलाडीहरुमा उत्साह सिर्जना गर्नका लागि खेलकूदको वातावरण तयार गर्ने कुरामा प्रतिबद्ध रहेको बताउनु भयो ।

उक्त दुई दिने १८ वर्षमुनिका कक्षा १२ सम्मका विद्यार्थीहरुलाई सहभागी गराइने अन्तरविद्यालय प्रतियोगितामा भलिबल, दौड, सटपुट लगायतका विधामा विद्यार्थीहरुका बिचमा प्रतिस्पर्धा गराइएको लामिछानेले बताउनुभयो ।

उक्त रनिङ शिल्ड प्रतियोगितको छात्र भलिबल प्रतियोगितामा त्रिशहीद माध्यमिक विद्यालय पञ्चमूल प्रथम, जनप्रदीप मावि चिलाउनेबास दोस्रो र अन्धाअन्धी प्रकाश मावि तेस्रो भएका छन् । त्यस्तै छात्रा भलिबलतर्फ श्रवण मावि प्रथम, जनप्रदीप मावि दोस्रो र प्रद्युम्न पनेरु मावि तेस्रो भएका छन् ।भलिबलमा छात्रातर्फ उत्कृष्ट खेलाडी जनप्रदीपकी शिरिशा भुजेल र छात्रतर्फ त्रिसहिदका सुवास सुनार भएका छन् ।

१०० मिटर दौडमा जनप्रदीप माविका किरण रानाभाट प्रथम, प्रद्युम्न पनेरु माविका सुसेन पौडेल दोस्रो र भगवती माविका शिशिर पोख्रेल तेस्रो भएका छन् । छात्रातर्फ १०० मिटर दौडमा श्रवण माविकी विपना पौडेल प्रथम, प्रद्युम्न पनेरु माविकी रञ्जिना नेपाली दोस्रो र जनप्रदीपकी करुणा बिक तेस्रो भएका छन् ।

४०० मिटर दौडमा छात्रतर्फ प्रथम प्रदुम्न पनेरुका सुसेन पौडेल भएका छन् भने दोस्रो जनप्रदीप माविका सागर भुजेल र तेस्रो त्रिसहीदका टङ्कप्रसाद अधिकारी भएका छन् । ४०० मिटर छात्रातर्फ प्रद्युम्न पनेरु माविकी स्वेता बिक प्रथम, श्रवण माविकी प्रमिला क्षेत्री द्वितीय र जनप्रदीप माविकी सन्ध्या क्षेत्री तृतीय भएकी छन् ।

१५०० मिटर दौडमा छात्रतर्फ त्रिशहीद माविका साजन दर्जी प्रथम, जनप्रदीप माविका सुजन भुजेल दोस्रो र लोकप्रसाद देवकोटा तेस्रो भएका छन् । छात्रातर्फ १५०० मिटरमा त्रिसहिदकै अस्मिता ढकाल प्रथम, श्रवण माविकी ननमाया पौडेल द्वितीय र राष्ट्रिय माविकी विपना कार्की तृतीय भएकी छन् ।

सटपुटमा छात्रातर्फ श्रवण माविकी सन्तोषी बिक प्रथम, जनप्रदीपकी दिव्या बिक द्वितीय र राष्ट्रिय माविकी ममता नेपाली तृतीय भएकी छन् ।
छात्र सटपुटमा प्रथम राष्ट्रिय माविका अनिल कार्की, द्वितीय त्रिसहीद माविका साजन दर्जी र तृतीय जनप्रदीपका मनिष गुरुङ भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?