परराष्ट्रमन्त्री डा पौड्यालद्वारा प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले विदेशस्थित सबै नेपाली दूतावासका राजदूत र कूटनीति नियोग प्रमुखलाई त्यहाँबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज आयोजना गरिएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले नेपाल बाहिर रहेका नेपालीलाई आइपरेका समस्या तत्काल समाधान गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले दूतावासहरूलाई मित्रराष्ट्रसँग सम्बन्ध विस्तार गर्न, विकास सहयोग अभिवृद्धि गर्न, नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा उपस्थित भई नेपालको छविलाई उकास्न निर्देशन दिनुभयो ।

विश्वमा छरिएर रहेका नेपालीको ज्ञान, सीप र क्षमताको पहिचान गरी आवश्यक पर्दा नेपालको विकासमा सदुपयोग गर्ने वातावारण बनाउन पनि परराष्ट्रमन्त्री पौड्यालले आग्रह गर्नुभयो ।

श्रमका लागि विभिन्न देशमा पुगेका नेपाली दाजुभाइ दिदीबहिनीलाई समस्या आइपर्दा प्रभावकारी सेवा दिन दूतावासहरूमा चौबिसै घण्टा सेवा दिने गरी संयन्त्र निर्माण गर्न पनि उहाँले विशेष जोड दिनुभयो ।

नेपालीले मुलुकबाहिर रहँदा कुनै पनि प्रकारका दुःख पाउन नहुने भन्नुहुँदै उहाँले उनीहरुलाई आपत् पर्दा तत्काल राहत र उद्घार गर्न कुनै कसर बाँकी नराख्न पनि उहाँहरूलाई निर्देशन दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?