नेपाली गायन क्षेत्रमा एक पृथक् स्वरका धनी गायक तथा संगीतकार शिशिर योगी आफ्नै राजमार्गमा कुदिरहनुभएको छ । २०४९ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेपछि औपचारिकरूपमा यो क्षेत्रमा होमिनुभएका उहाँले ‘सारंगी त रेटे पनि’, ‘दिन बित्यो बाटो हेर्दै’, ‘फुकेर अर्काको दियो’, ‘यो देशमा म एउटा मानिस खोजिरहेछु’, ‘माया गर्नुको अर्थ’, ‘आउँछु भनी निष्ठुरी’लगायत चर्चित गीतमा स्वर दिनुभएको छ । बाबा, आमासम्बन्धी गीतमार्फत् पनि धेरै श्रोता/दर्शकको मनमस्तिष्कमा बस्न सफल योगीका पाँच सय हाराहारीमा गीत आएका छन् । थुप्रै कालजयी गीत दिनुभएका योगीले स्वर्गीय संगीतकार अम्बर गुरुङको सामिप्यमा रहेर संगीत सिक्नुभएको थियो । पछिल्लो समय ‘मेलोडी सुल्तान’का नामले परिचित योगी एउटा राम्रो गीतका लागि सबैभन्दा पहिले शब्दले मन छुनुपर्छ र शब्दभावभित्रै निहित संगीतलाई संगीतकारले भेट्टाएको संगीत हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । चलेको गीत राम्रो र नचलेको गीत नराम्रो भन्ने नहुने भन्नुहुने गायक तथा संगीतकार शिशिर योगीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-
गायनमा कहिलेदेखि हुनुहुन्छ ?
गाउन त बाल्यकालदेखि नै गाएको हो तर औपचारिकरूपमा पहिलो एल्बम ‘पहिचान’ सार्वजनिक भएको वर्ष २०५९ साल हो ।
कसरी आउनुभयो गायन क्षेत्रमा ?
खै कसरी आएँ मलाई नै थाहा छैन । बाल्यकालदेखि नै म मोहम्मद रफी, नारायण गोपाल, बच्चु कैलाश, फत्तेमानलगायतका गीत रेडियोमा सुन्थेँ र गाउँघर, जिल्लाका सबै कार्यक्रममा गाउँथे । त्यसैले २०४८ मा संगीत सिक्न भनेर काठमाडौँ छिरेँ । विस्तारै यो क्षेत्रमा हेलिँदै गएँ ।
शिशिर योगी को हो ?
शिशिर योगी एक सामान्य नागरिकमात्रै हो । म आफूलाई संगीत साधकका रूपमा लिन्छु ।
गीत-संगीत र जीवनलाई कसरी परिभाषित गर्नुहुन्छ ?
संगीत जीवन हो, जीवन संगीत हो । नाप्नै नसकिने संगीतको गहिराइलाई परिभाषित गर्न सक्ने मेरो योभन्दा बढी ल्याकत छैन ।
राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको ‘सारंगी त रेटे पनि’, डा. विश्वनाथ बरालको ‘मानिस खोजिरहेछु’, सञ्जीवनीको ‘कर्णाली पारि’, क्षेत्रप्रताप अधिकारीको ‘चौतारीको वरै ढलेछ’ जस्ता थुप्रै कालजयी गीत यहाँको स्वरमा सजिएका छन्, यहाँलाई शिशिर योगी भनेर कुन गीतले चिनायो भन्ने लाग्छ । अर्थात् यहाँको करिअरको ‘ट्रनिङ प्वाइन्ट’ कुन गीतलाई लिनुहुन्छ ?
‘सारंगी त रेटे पनि...’, ‘मानिस खोजिरहेछु...’ र ‘चौतारीको वरै ढलेछ...’ यी तीनवटै गीतले नै पहिले चिनाएको हो ।
सबैभन्दा पहिले शब्दले मन छुनुपर्छ र शब्दभावभित्रै निहित संगीतलाई संगीतकारले भेट्टाएको संगीत हुनुपर्छ । हरेक गीतको आ-आफ्नै सुन्दरता हुन्छ, चलेको गीत राम्रो र नचलेको गीत नराम्रो भन्ने हुँदैन ।
यहाँले सबै प्रकारका गीत गाउनुभएको छ । यहाँलाई ‘मेलोडी सुल्तान’का नामले पनि चिनिन्छ । यसलाई कसरी लिनुहुन्छ ?
मेरो गायनप्रतिको सम्मान हो । त्यही सम्मानले नै मलाई संगीतमा अझै अघि बढ्ने हौसला दिनेछ ।
गीतमा अन्तर्मनका पीडालाई भावको उच्चतम् गहिराइबाट कलात्मक ढंगले यहाँले प्रस्तुत गर्नुभएका कारण नै यहाँका गीतलाई सर्वाधिक रुचाइएको पाइन्छ । यहाँले गीत रेकर्ड गर्नुअघि केलाई प्राथमिकता दिनुहुन्छ ?
सबैभन्दा पहिले शब्दले मन छुनुपर्छ र शब्दभावभित्रै निहित संगीतलाई संगीतकारले भेट्टाएको संगीत हुनुपर्छ ।
पछिल्लो समय विभिन्न भजनमा पनि स्वर दिनुभएको छ नि ?
भक्ति संगीतले म स्वयंलाई नै परम आनन्द दिने गरेकाले यसलाई पनि निरन्तरता दिने प्रयासमा छु ।
अहिलेसम्म यहाँको स्वरमा कति जति गीत श्रोता/दर्शकमाझ आएका होलान् ?
अहिलेसम्म ४९३ वटा गीतहरू आइसकेका छन् ।
नेपाली गीतसंगीतको वर्तमान अवस्थालाई कसरी लिनुहुन्छ ?
कुन र कस्तो भावको गीतले कसलाई कुन समयमा कुन किसिमले छुन्छ, त्यसमा भर पर्छ । यसैले हरेक गीतको आ-आफ्नै सुन्दरता हुन्छ, चलेको गीत राम्रो र नचलेको गीत नराम्रो हुनै सक्दैन ।
केही गीत सर्जकले अति राम्रो भएको/गरेको भनिरहँदा पनि श्रोताले खासै मन नपराएको र केही गीत सामान्य भए पनि अत्यधिक श्रोताको रोजाइमा पर्ने गरेको पाइन्छ नि, यसको कारण के हो जस्तो लाग्छ ?
मेरो केही गुनासो नै छैन यसमा यस विषयमा सोच्ने मसँग फुर्सद पनि छैन ।
राम्रा गीतभन्दा ‘झुर’ले बजार तताइरहँदा कस्तो अनुभूति हुन्छ ?
ठीकै छ नि कसैलाई के मन पर्छ कसैलाई के मन पर्छ । आ-आफ्नो इच्छाअनुसारको र स्वादअनुसारको खाना पस्किने र खाने मौलिक अधिकार छँदैछ ।
यहाँको स्वरमा एकखालको जादु छ भन्ने गरिन्छ, यहाँले आफैंले आफैंलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
मैले आफैंलाई मूल्यांकन गर्दा म अझै पनि मैले सोचेको जस्तो गायक हुन् सकिनँ ।
पछिल्लो समय नेपालीपनका गीत कम आउन थाले भन्ने गरेको पाइन्छ नि, के यस्तै हो र ?
हिजोका गीतहरू सबै पक्ष साधनाले खारिएर बनेको हुनाले सधैँ कालजयी छन् तर आजका प्रायः गीत भावनात्मकभन्दा टेक्निकल भएकाले ‘मेड इन चाइना आज छ भोलि छैन’ भने जस्तै छन् जस्तो लाग्छ ।
गायन र संगीतमा उत्तिकै अब्बल हुनुहुन्छ, दुवै विधालाई कसरी समायोजन गर्नुहुन्छ ?
मलाई गायन तथा संगीत दुवै विधामा सन्तुष्टि मिल्छ । बाहिरको गीतको संगीत धेरै नगरेकाले मानिहरू मलाई घमण्डी भन्छन् होला । तर, मैले शब्द चित्त नबुझेर नगरेको हो ।