आज निधि स्मृति दिवस

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले अहिंसा, सामाजिक न्याय, मानव अधिकार, समुदायका बीच सद्भाव र लोकतान्त्रिक आन्दोलनका अथक अभियन्ता महेन्द्रनारायण निधिको १०१ औँ स्मृति दिवस आज(शनिबार) विभिन्न कार्यक्रमसाथ मनाउने भएको छ । प्रतिष्ठानका अनुसार : महेन्द्र नारायण निधि मेमोरियल अस्पताल प्रांगणमा अवस्थित निधिको स्मारकमा सम्मान प्रकट गर्ने र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको छ । दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले समसामयिक नेपाली राजनीति र निधिजीका विचारमा मन्तव्य दिनुहुने कार्यक्रम तय भएको छ ।
नेपालको राजनीतिमा महेन्द्रनारायण निधिको विशेष स्थान रहेको छ । उहाँले कुनै पनि खाले सशस्त्र हिंसालाई समर्थन गर्नुभएन । तर, निरन्तर लोकतान्त्रिक आन्दोलनमा चट्टान जस्तै दृढ रहनुभयो ।

निधिका विचारहरूलाई चिरन्तन राख्न र जनस्तरमा समेत पुर्‍याउने ध्येयले भानुभक्त ढकालको संस्थापकीय नेतृत्वमा विसं. २०५८ मा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान गठन भएको थियो । प्रतिष्ठानले चेतनामूलक, सेवामूलक, विचारमूलक कार्यक्रम र अभियानहरू सञ्चालन गरिरहेको छ । भूकम्पका समयमा, तराई मधेशमा आएको हावाहुरीका समयमा प्रतिष्ठानले पीडितहरूलाई सहयोग गरेको थियो । महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको स्थापनापछि अस्पतालकै सहयोगमा निःशुल्क स्वास्य शिविरहरू समेत सञ्चालन गर्ने काम गरेको छ ।

अहिले महेन्द्रनारायण निधि स्वास्थ्य सहकारीका रूपमा सामुदायिक सहकारी अस्पताल वसुन्धारामा सञ्चालनमा रहेको छ । अस्पतालको भौतिक संरचना निर्माण गर्नसमेत प्रतिष्ठानको योगदान रहेको छ ।

प्रतिष्ठानले निधिका विचार समावेश गरी कृतिहरू समेत प्रकाशित गरेको छ । प्रतिष्ठानले ०७० सालदेखि महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान गर्दै आएको भए पनि यो वर्षको सम्मान तथा पुरस्कार केही समयपछि प्रदान गर्ने जनाएको छ ।

चुरे महाभारत भन्दामाथि कुनै पनि पहाडी भूगोलमा तराई मधेसी समुदायका प्रतिष्ठितहरूको पहिलो स्मारक निधिजीको मात्रै रहेको प्रतिष्ठानको दाबी रहेको छ । सो स्मारक वसुन्धारास्थित मनानि मेमोरियल अस्पताल प्रांगणमा निर्माण भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?