पञ्चाङ्ग गणनामा सूर्यसिद्धान्त

Read Time = 16 mins

✍️ डा. नारायणप्रसाद निरौला

पञ्चाङ्ग अर्थात् पात्रो हाम्रा दैनन्दिनी कार्य व्यवहार सिद्धिका निम्ति उपयोगमा ल्याइएको छ । प्रत्येक दिनका सूर्योदयकालका सूयादिग्रह साधन गरेर पञ्चाङ्ग बनाउने गरिन्छ । सूर्य रचन्द्रमाको १२ अंशको अन्तरमा एक तिथि हुन्छ । यसैगरी तिथिको आधामान करण हो । स्पष्ट सूर्य र स्पष्ट चन्द्रमालाई जोडी ८ सय कलाले भाग गर्दा योग हुन्छ । प्रत्येक दिन एक ग्रहले प्रतनिधित्व गर्ने सात बार हुन्छन् । यसैगरी ग्रहहरूको उदयास्त हेरेर शुभ साइत निर्धारण हुने गर्दछन् । यसरी ग्रहसाधनपूर्वक पात्रो बनाउने सर्वप्राचीन पद्धति सूर्यसिद्धान्तमा व्यक्त छ ।

यसरी पात्रो गणना गर्ने थुप्रै सिद्धान्त छन् । सूर्य, पितामह (ब्रहृम), रोमक, पुलिश, वसिष्ठ सिद्धान्त आदि । ब्रहृमाजीको परं आयुको गणित ब्रहृमसिद्धान्तको हो, । यसैलाई सूर्यसिद्धान्तमा कल्पगणित भनिन्छ । ब्रहृमसिद्धान्त केवल सृष्टिको आरम्भमा प्रकट हुन्छ, सूर्यसिद्धान्त प्रत्येक महायुगमा प्रकट हुने गर्दछ :
‘शास्त्रमाद्यं तदेवेदं यत्पूर्वं प्राहभास्करः ।
युगानां परिवर्तेन कालभेदोद्रत्र केवलः ।।’
(सूर्यसिद्धान्त, मध्यमाधिकार, श्लो ९) अर्थात् आदि सूर्यसिद्धान्त त्यही हो जो भगवान् सूर्यले बताउनुभएको थियो । युगको परिवर्तनले काल (समय) मा पनि परिवर्तन हुन्छ । निर्णयसिन्धुमा अदृष्ट फलसिद्धिका निम्ति अर्कगणित (सूर्यसिद्धान्त) गणना गर्नु भनी आदेश गरिएको छ ।
‘अदृष्टफलसिद्ध्यर्थं यथार्कगणितं कुरू
गणितं यदिदृट्यर्थं तद्दृष्ट्युद्भवतस्सदा ।।’ (निर्णयसिन्धु)
अदृष्ट फलसिद्धिका लागि ग्रहपिण्डको अदृश्य ग्रह (देव बिम्ब) आवश्यक हुन्छ । किनकि भौतक चक्षुद्वारा देवताको दर्शन असम्भव छ । अदृष्ट फलका लागि पञ्चाङ्ग उपयोगी तिथ्यादिको निर्णयमा दृग्गणितलाई ऋषिले निषेध गरेका छन् । वैदिक एवं पौराणिक कालमा दृक्पक्षर सौरपक्ष दुवैको ज्ञान थियो तर ऋषिले ज्योतिषमा सौरपक्षको नै प्रयोग गर्न आदेश दिएका छन् । यसैले हाम्रा पात्रा सूर्यसिद्धान्तमा आधारित छन् र हुनुपर्दछ पनि ।

पञ्चाङ्ग गणनामा मन्द स्पष्टपछि पनि चर, बेलान्तर, किरणवक्री भवन संस्कार गरिन्छ । सूर्यसिद्धान्तमा चरसंस्कृत ग्रहबाट नै पञ्चाङ्ग साधन गर्नुपर्दछ भन्ने छ । सूर्यसिद्धन्तमा चरसंस्कार बाहेर बेलान्तर र किरणवक्री भवन संस्कारको व्यवस्था छैन । ग्रहणमा भने दृक्कर्म संस्कार गएिको छ ।

सूर्यसिद्धान्त सृष्टिसँगै आरम्भ भएको हो । साक्षात् सूर्यभगवान्को अंशस्वरूप रहेकाले ज्योतिषको आदि ग्रन्थका रूपमा सूर्यसिद्धान्तलाई लिइन्छ । यही सिद्धान्तलाई आधार मानेर थुप्रै करण ग्रन्थ बनेका छन् । ‘ताजकसार’ (शक.१४४५), ‘ग्रहकौतुककरण’ (शक.१४१८), ‘ग्रहलाघवं करणम्’ (शक.१४४०) । ग्रहलाघवकार गणेश दैवज्ञले केही संशोधन गरे पनि मूल गणना सूर्यसिद्धान्तानसार नै छ । भारतको दरभङ्गा आसपासका पञ्चाङ्ग यी आधारमा बन्ने गर्दछन् । ‘भास्वतीकरण’ (शक.१४४२) को माधवकृत टीकामा पनि सूर्यसिद्धान्तीय गणना पाइन्छ ।

शक संवत् १४०० को मकरनदसारिणी पनि मूल सूर्यसिद्धान्तानुसारी नै हो । ‘ज्योतिषदर्पण’ (शक.१४७९) को मुहूर्तग्रन्थमा पनि सूर्यसिद्धान्तीय आधारमा मुहूत्र्त निर्धारण गरिएको छ । (भारतीय ज्योतिष, पृ.२५३) । शक १५१२ मा ‘रामविनोद’ करणग्रन्थ पनि सूर्यसिद्धान्तानुसार नै रहेको पाइन्छ । शक १५८० मा ‘सिद्धान्ततत्वविवेक’ नामक सूर्यसिद्धान्तीय समालोचनात्मक ग्रन्थ प्रकाशित पाइन्छन् ।

वर्तमानमा पञ्चाङ्ग साधन यही मूल सूर्यसिद्धान्तमा आधारित छ । कम्प्युटको युग आउनुपूर्व सारिणीबाट पञ्चाङ्ग साधन गरिन्थ्यो । जहाँ १००/२०० वर्षका गणना गरेर राखिएका हुन्छन् र अनुपातद्वारा आफूलाई चाहिएका वर्षका गणना निकाल्ने गरिन्छ । सारिणीबाट ग्रह एवं पञ्चाङ्ग साधन गर्ने विधि पद्धति हाल पनि अध्ययन अध्यापन भइरहेका छन् । प्रकाशित पात्रोमा भने मूल सिद्धान्तका सूत्रबाट गणना गर्ने चलन छ । कम्युटरको प्रयोगले सारिणीका ग्रन्थ निर्माण सुस्ताएको वर्तमान स्थिति छ । चन्द्रोच्च, बुध, गुरु, शुत्र, शनिका भगणमा बीज संस्कार भएका छन् भने राहु साधन हाल ग्रहलाघवको परिष्कृत सूत्रअनुसार गणना गरिन्छ ।

शक १८ सयमा वैकटेश केतकरले ‘केतकी ग्रहगणितम्’ (करणग्रन्थ) र ‘ज्योतिर्गणितम्’ (सारिणी) प्रकाशनमा ल्याएका छन् । सूर्यसिद्धान्तका अपेक्षमा यी ग्रन्थमा अन्य थुप्रै संस्कार थपिएका छन् । चन्द्रदादिग्रहमाकर्षसंस्कार, भुजान्तर, उदयान्तर, तिथिसंस्कार, च्युतिसंस्कार आदि दिइएको छ । यसरी केतकरले दृग्योग्य बनाउनका निम्ति आवश्यक संस्कार थप गरेका छन् । शक १८ सयमा दिएका संस्कार आजशक १९४४ मा अर्थात् १४४ वर्षपछि पनि त्यही रहन्छ भन्ने हुँदैन । आजको समयमा उक्त संस्कारमा पनि परिमार्जन आवश्यक देखिन्छ । किनकि ग्रहको गति एउटै चक्रमा एउटै वृत्तिले चल्दैन । निरन्तर संस्कारमा थपघट रहिरहन्छ तर हाम्रा तिथिपर्वको निर्धारण स्थिर विन्दुलाई आधार मानेर गरिएको छ ।

जहाँ दृग्योग्यता र निरन्तर परिष्कारको आवश्यकता पर्दैन । किनकि हामी अदृष्ट शक्ति ईश्वरलाई मान्छौँ । जसको साक्षात्कार गर्न हाम्रा गणना ध्रुवप्रोतीय हुनु आवश्यक छ । जसका लागि निरयण पद्धति उपयुक्त हुन्छ । ग्रहण दृग्योग्य विषय हो । जसको गणनाका निम्ति केतकरको गणनामा पनि आधुनिक संस्कार थप गरेर दृग्योग्य बनाउन सकिन्छ । पञ्चाङ्ग गणनामा मन्द स्पष्टपछि पनि चर, बेलान्तर, किरणवक्री भवन संस्कार गरिन्छ । सूर्यसिद्धान्तमा चरसंस्कृत ग्रहबाट नै पञ्चाङ्ग साधन गर्नुपर्दछ भन्नेछ । सूर्यसिद्धन्तमा चर संस्कार बाहेर बेलान्तर र किरणवक्री भवन संस्कारको व्यवस्था छैन । ग्रहणमा भने दृक्कर्म संस्कार गएिको छ ।

वर्तमानमा सूर्यसिद्धान्तीय गणना पाश्चात्य गणनासँग नमिलेकाले केतकीग्रह गणितबाट गणना गर्ने यत्न भइरहेका हो । गणना दृग्योग्य हुनुपर्छ । जसका निम्ति अयनांश, चर, बेलान्तर आदि संस्कार गर्नुपर्दछ तर अदृष्ट फलसिद्धिको कामना गर्ने हामीले निरयण पद्धतिलाई पनि भुल्नु हुँदैन । हाम्रा जति पनि शास्त्रीय व्यवस्था छन् सबै यही सूर्यसिद्धान्तीय निरयण पद्धतिमा आश्रित छन् । भौतिक र आध्यात्मिक कुरा फरक छन् । हामीले पूजा गर्ने सूर्यआध्यात्मिक हुन् । भौतिक पिण्ड होइनन् । जो अयनांशसँगै हिँड्दैनन् स्थिर रहन्छन् ।

यसैले अदृष्ट सिद्धिका निम्ति आध्यात्मि शक्तिका निम्ति सूर्यसिद्धान्तीय निरयण पद्धति अवलम्बन गर्नुपर्ने हुन्छ । सायन दृश्य भए पनि अदृष्ट फलसिद्धि गर्नेवाला हुँदैन । सूर्यको तातो प्रकाशभन्दा पनि हामी आत्मिक शक्तिको कामना गर्ने गर्दछौँ । सूर्य किरणको वक्रताले देखिनु सूर्य उदाउनु होइन । सूर्य बिम्बको आधा भाग हाम्रो क्षितिजमा देखिएपछि मात्र हाम्रो सूर्योदय हुन्छ । तर, किरणवक्रताले देखिएको सूर्यलाई सनराइज मान्ने आधुनिक दृक्सिद्धान्त हो । यसैले दृक् र सौरसिद्धान्तमा फरक रहन्छ ।

सूर्यसिद्धान्त आर्य सभ्यताको जननी हो । सर्वप्राचीन सिद्धान्तका रूपमा पनि सूर्यसिद्धान्तलाई लिइएको छ । यसको व्याख्या विवेचनामा अन्य सिद्धान्त आएका छन् । ग्रहका राजाका रूपमा सूर्यलाई लिइएको छ । तिनै सूर्यभगवान्ले उपदेश गरेको ग्रन्थ सूर्यसिद्धान्त हो ।

सूर्यसिद्धान्तमा पनि समयानुसार बीज संस्कार गर्ने व्यवस्था छ । आचार्य रंगनाथका समयमा सूर्यसिद्धान्तमा बीजसंस्कार थियो । पछि ‘बीजोपनयनाध्याय’लाई लुप्त बनाइयो । पाश्चात्य अन्वेषक वर्सेजले बीजसंस्कारलाई राख्न चाहेनन् सफलस्वरूप बीजरहित पञ्चाङ्ग गणना गर्न थालियो । काशीमा पनि यही प्रक्रिया चल्यो । हालभौतिक पिण्डलाई देखाएर आत्मिक कामना सिद्धिका कुरा गर्नु व्यर्थ हुन्छ ।
पाराशर होरामा ग्रहलाई देवता मानिएको छ । जो अदृष्ट फल सिद्धिदाता हुन् । जसमा दृश्यभन्दा पनि अदृश्यको स्थान प्रबल रहन्छ ।

दृक्पक्षीयका अनुसार भौतिक (दृश्य) पिण्डले कर्मफल दिन्छन् भन्ने मानिन्छ । तर, देवता अदृष्ट छन्, बाहृयचक्षुले देखिने ऐन्द्रिक विषय वस्तु देवता होइनन् । यसैले दृक्सिद्ध ग्रहबाट हाम्रो अदृष्टसिद्धि हुन सक्दैन भन्ने भारतीय विद्वान् डा.विनय झाको पनि मत रहेको छ । दृकपक्ष नजानेर निरयण व्यवस्था गरिएको होइन । दृक्पक्ष र सौरपक्ष दुवैको ज्ञान प्राचीन कालमा ऋषिहरूलाई प्राप्त थियो । जसको उदाहरण विष्णुधर्मोत्तर पुराणमा व्यासले यसरी बतएका छन् :
‘यन्त्रवेधादिना ज्ञातं यद् बीजं गणकैस्ततः ।
ग्रहणादिपरीक्षेत न तिथ्यादिकदाचन ।।’ (विष्णुधर्मोत्तर पुराण)
अर्थात् यन्त्रादिद्वारा बीज गणना गरेर ग्रहणादि दृश्य घटनाको परीक्षण गर्नुपर्दछ । किन्तु तिथ्यादिमानमा भने यस्तो गर्नु पर्दैन । तिथि, नक्षत्र, योग, करण हामीलाई अदृष्ट भए हुन्छ । किनकि हामी अदृष्टलाई स्वीकार गर्दछौँ तर ग्रहवेध गर्न, ग्रहण गणना गर्न दृष्ट गणना चाहिन्छ । दृग्योग्य भएपछि ग्रहणका फलसिद्धि हुने कुरा शास्त्रमा वर्णन पाइन्छ । यसैले तिथिमिति व्रतपर्वका विषयवस्तु सूर्यसिद्धान्तीय हुनु आवश्यक रहन्छ ।

सूर्यसिद्धान्तीय गणना भूकेन्द्रिक नभई मेरुकेद्रिक छ । पुराणमा मेरुलाई सम्पूर्ण सृष्टि र समस्तलोकको केन्द्र मानिएको छ । जसको शिखरमा बसेर ब्रहृमाजीले सृष्टिको रचना गर्दछन् भनी ब्रहृमाण्ड पुराणमा बताइएको छ । ध्रुवले पनि मेरुको प्रदक्षिण गर्दछन् भनी ब्रहृमपुराण्मा बताइएकाले मेरु सृष्टिको एकमात्र स्थिरबिन्दु एवं केन्द्र हो । नारद पुराणमा पनि ‘भूतले मध्यगो मेरूः सर्वदेवसमाश्रयः’ भनी मेरुकेन्द्री अवधारण बताइएको छ । जसको गणना गर्ने विधि सूर्यसिद्धान्तमा छ ।

सूर्यसिद्धान्त आर्य सभ्यताको जननी हो । सर्वप्राचीन सिद्धान्तका रूपमा पनि सूर्यसिद्धान्तलाई लिइएको छ । ‘कुपुत्रो जायेत क्वचिदपिकुमातानभवति’ भने जस्तै माता आमा नै हुन् । सूर्यसिद्धान्तमूल सूर्यसिद्धान्त नै हो । जसको व्याख्या विवेचनामा अन्य सिद्धान्त आएका छन् । ग्रहका राजाका रूपमा सूर्यलाई लिइएको छ । जसका आधारमा यो ग्रहचक्र चलेको छ । तिनै सूर्यभगवान्ले उपदेश गरेको ग्रन्थ सूर्यसिद्धान्त हो ।

हरेक महायुगमा कालको गतिअनुसार यस्ता विषयवस्तुको उपदेश हुने गर्दछ । जसको अनुसरण गर्नु हाम्रो कर्तव्य हो । अन्य सिद्धान्तको पनि खोज अनुसन्धान, अध्ययन, अध्यापन हुनुपर्दछ । आधुनिक दृक्सिद्ध रीतिले पनि गणना गरिनुपर्छ । वेध गर्ने विधि पनि हुनुपर्दछ तर हाम्रो अदृष्ट फलसिद्धिका निम्ति मूल सूर्यसिद्धान्तीय गणना नै आधार स्तम्भ हुन् । यसैले सूर्यसिद्धान्तीय गणनालाई निरन्तरता दिनु श्रेयस्कर हुन्छ । किनकि हाम्रा यावत् विषयवस्तु यही सिद्धान्तमा नै आश्रित छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?