✍️ प्रा.डा.अर्जुनदेव भट्ट
विषय प्रवेश
शरीर स्वास्थ्य रहनको निम्ति पोषणको ठूलो भूमिका रहन्छ । हाम्रो शरीरमा कुनै पनि त्यस्ता प्रणाली छैनन् जसको सन्तोषजनक कार्य र रक्षाको निम्ति पोषणले महत्वपूर्ण ठाउँ नओगटेको होस् । पोषणको कमी तथा अत्यधिक मोटोपनले मूत्रप्रणालीमा विभिन्न संक्रमण, पथरी र अर्बुद रोगजस्ता घातक अवस्था सिर्जना गर्ने तथा त्यस्तो रोगहरूको वृद्धिलाई वढावा दिने र उपचारमा नकारात्मक असर पार्न सक्दछ ।
पोषणको असन्तुलनले कुपोषण र अत्यधिक मोटोपना जुनसुकै अवस्था पनि सिर्जना गर्न सक्दछ र दुवै शारीरिक अवस्थाले मूत्र तथा प्रजननप्रणालीमा ज्यादै नै नकारात्मक असर पार्न सक्दछ भन्ने तथ्य अहिलेको वैज्ञानिक जगत्बाट प्रष्ट भइसकेको छ । कुपोषण र मोटोपनाले शरीरको प्रतिरक्षाप्रणालीलाई कमजोर बनाएर सोझै वा घुमाउरो तरिकाले मूत्र तथा जननेन्द्रियप्रणालीमा संक्रमणलाई बढावा दिन्छ ।
अत्यधिक मोटोपन विकसित भएमा पिसाब चुहिने, प्रोष्टेट ग्रन्थिको वृद्धि हुने, प्रोष्टेट ग्रन्थि, मूत्रथैली र मृगौलाको अर्बुद रोगको विकासमा बढावा मिल्ने, मूत्रप्रणालीमा पत्थरी बन्ने र यौन इच्छाशक्तिमा पनि ह्रास आउने हुन्छ ।
केन्द्रीयस्तरको मोटोपन यौनदुर्बलताको एउटा सूचक हुन सक्दछ । मधुमेह हुने र रगतमा बोसोको मात्रा बढी भएको कारणबाट रक्तनलीहरू साँघुरिने हुँदा यौनउत्तेजनाको समयमा लिंगमा रक्तसञ्चारको कमी हुने भएकोले यौनदुर्बलताको सम्भावना उच्च रहन्छ । एकपटक असफल यौनक्रियाकलापले बारम्बार असफलता र आत्मलघुता जन्माउने हुँदा यस्ता बिरामीहरू निरास भएर बाँकी जीवन यौनचाहना र प्रयत्नबाट भाग्ने र परिवारमा शंकाको वातावरण र्छन सक्दछन् ।
अर्बुद रोग र मोटोपनको सम्बन्ध
मोटोपन हुनुको कारण केही हदसम्म अत्यधिक र असन्तुलित आहार पनि हो । यसले मृगौला, पिसाबको थैली र प्रोष्टेटमा पनि अर्बुद रोग विकास गर्न सहयोग गर्दछ । प्रोष्टेट ग्रन्थिको सामान्य वृद्धि र क्यान्सर पनि मोटोपन भएका पुरुषहरूमा बढी देखिन्छ । मोटोपन भएकाहरूमा रोग बढी पाइनुका साथै समयमा निदान नहुने, निदान भएपछि पनि मोटोपनले उपचारमा ठूलो तगारो हालेर रोगको वृद्धिलाई मद्दत पुर्याउँछ ।
मानवशरीरको अग्लाईअनुरूप जसको जीउमा बोसोले गर्दा तौल बढी हुन्छ, त्यो निम्न दुई प्रकारले शरीरमा फैलिएर रहेको हुन सक्छ- पहिलोः केन्द्रीय मोटोपन, जसमा पेटको भित्री अंगमा बोसो थुप्रिएर रहेको हुन्छ र कम्मर नितम्बभन्दा ठूलो हुन्छ भने दोस्रोः सीमावर्ती मोटोपन, जसमा नितम्ब र तिघ्रातिर बोसो बढी जम्मा हुन्छ । स्वास्थ्यको दृष्टिकोणले जुनसुकै प्रकारको मोटोपन हानिकारक भए पनि केन्द्रीय मोटोपनमा मधुमेहको सम्भावना बढी हुने, रगतमा बोसोको खराबी हुने, उच्च रक्तचाप देखापर्ने र मुटुको रोग धेरै हुने गर्दछ ।
मूत्र तथा पुरुष जननेन्द्रियप्रणालीको अध्ययन गर्दा मोटोपनबाट अर्बुद रोग हुने सम्भावना धेरै गुणा बढी रहेको पाइन्छ । मृगौलाको क्यान्सर सामान्य तौल हुनेमा भन्दा बढी तौल हुने व्यक्तिमै बढी पाइने गर्दछ । त्योबाहेक यस्ता बिरामीको समयमा रोग पत्ता लगाउन गाह्रो पर्ने र रोगको निदान भइसकेपछि पनि उपचारकै सिलसिलामा विभिन्न जटिल अवस्था देखापर्ने गर्दछ । त्यस्तै शल्यक्रिया गर्न पनि बढी समय लाग्ने र जटिल परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । फलस्वरुप शल्यक्रिया गर्न पनि बढी समय लाग्ने र जटिल परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । फलस्वरूप शल्यक्रियाको अन्तिम परिणाम सोचेजस्तो नभएर बिरामीले बढी कष्ट अनुभव गर्नुपर्ने हुन्छ ।
पिसाबथैलीको क्यान्सर पनि मोटो मानिसमा बढी पाइन्छ । त्यसैले धुम्रपान साथै मोटोपन पिसाब क्यान्सरको निम्ति नराम्रो संकेत हो । शल्यक्रियाको समयमा मोटो बिरामीमा बढी रक्तश्राव हुने गर्दछ । त्यसैले पिसाबथैलीको क्यान्सरपछिको परिणाम पनि राम्रो नुहन सक्दछ । प्रोष्टेट क्यान्सरको समयमा निदान गर्न प्रयोग हुने जाँच पिएसए को स्तर मोटो मान्छेमा केही कम हुने भएकाले रोगको निदानमासमेत ढिलो हुन्छ ।
शल्यक्रिया गर्न मोटोपन भएका बिरामीमा देखापर्ने मधुमेह, उच्च रक्तचाप, मष्तिस्कघात, मुटुका विभिन्न रोगहरू, छातिको समस्या इत्यादिले गर्दा थप तयारी गर्नुपर्ने हुन्छ । बोसोकै कारणले शल्यचिकित्सकहरू अप्ठेरोमा पर्ने हुँदा अप्रेशनमा लामो समय लाग्ने, रक्तचाप बढी हुने, घाउ पाक्ने, पिसाब चुहिन सक्ने सम्भावना पनि निकै वृद्धि हुने गर्दछ ।
मोटोपन यौनदुर्बलताको संकेत
केन्द्रीयस्तरको मोटोपन यौनदुर्बलताको एउटा सूचक हुन सक्दछ । मधुमेह हुने र रगतमा बोसोको मात्रा बढी भएको कारणबाट रक्तनलीहरू साँघुरिने हुँदा यौनउत्तेजनाको समयमा लिंगमा रक्तसञ्चारको कमी हुने भएकाले यौनदुर्बलताको सम्भावना उच्च रहन्छ । एकपटक असफल यौनक्रियाकलापले बारम्बार असफलता र आत्मलघुता जन्माउने हुँदा यस्ता बिरामी निरास भएर बाँकी जीवन यौनचाहना र प्रयत्नबाट भाग्ने र परिवारमा शंकाको वातावरण र्छन सक्दछन् ।
शरीरको निम्ति सन्तुलन भोजनको अनिवार्यता हुन्छ । कुपोषण अथवा मोटोपन दुवै अवस्थाले शरीरमा राम्रो गर्दैन । कुपोषण र मोटोपनको मूत्र तथा जननेन्द्रियप्रणालीमा पनि नकारात्मक असर छ । मोटोपनले मृगौला, पिसाबथैली र प्रोष्टेट ग्रन्थिको अर्बुद रोगलाई प्रोत्साहन गर्दछ । असन्तुलित शारीरिक तौलले पिसाबको पत्थरी, यौनदुर्बलता र शल्यक्रियाको नतिजामा समेत नराम्रो असर पार्दछ ।
केन्द्रीय मोटोपनको कारण प्रोष्टेट ग्रन्थिको वृद्धि पनि सामान्य तौल हुने व्यक्तिको भन्दा छिटै हुने गर्दछ । यस्ता बिरामीमा मूत्रप्रणालीको पत्थरी र संक्रमण सामान्यभन्दा बढी हुने भएकोले समग्रमा यी बिरामीहरूको यौनक्रियाकलापमा विभिन्न तरिकाले नकारात्मक असर पर्दछ ।
शारीरिक कम तौल र मूत्ररोगको सम्बन्ध
मूत्ररोगबाट ग्रस्त बिरामीहरूलाई कुपोषणले विभिन्न किसिमको नकारात्मक असर पार्ने गर्दछ । यस्ता बिरामीले संक्रमणसँग लड्न सक्दैनन् । त्यसैले पिसाबमा बारम्बार संक्रमण भइराख्ने समस्या प्रशस्त मात्रामा देखापर्दछ ।
यो रोगका बिरामीको शल्यक्रिया गर्नुपर्ने भए तिनीहरूको घाउ निको हुन सामान्य आवस्थाका बिरामीभन्दा बढी समय लाग्ने हुन्छ । त्यसैले यी बिरामी लामो समयसम्म अस्पताल भर्ना भएर रहनुपर्ने, औषधिमा बढी खर्च हुने र शल्यक्रियापछिको परिणाम पनि सोचेजस्तो नहुन सक्दछ । त्यसैले मूत्रप्रणालीका विभिन्न रोगहरूको उपचार गराउँदा र गर्दा सुरुदेखि नै बिरामीको पोषण अवस्थाबारे निकै ध्यान दिनुपर्ने हुन्छ । कुपोषणयुक्त बिरामीको रक्तपरीक्षण गर्दा एलबुमिनको मात्रालाई निकै महत्व दिएर हर्नुपर्ने हुन्छ । एल्बुमिन कम भएको अवस्थामा शरीर फुल्ने र शरीरमा विभिन्न संक्रणले नराम्रोसँग असर पार्दछ ।
निचोड
शरीरको निम्ति सन्तुलन भोजनको अनिवार्यता हुन्छ । कुपोषण अथवा मोटोपन दुवै अवस्थाले शरीरमा राम्रो गर्दैन । कुपोषण र मोटोपनको मूत्र तथा जननेन्द्रियप्रणालीमा पनि नकारात्मक असर छ । मोटोपनले मृगौला, पिसाबथैली र प्रोष्टेट ग्रन्थिको अर्बुद रोगलाई प्रोत्साहन गर्दछ । असन्तुलित शारीरिक तौलले पिसाबको पत्थरी, यौनदुर्बलता र शल्यक्रियाको नतिजामा समेत नराम्रो असर पार्दछ ।
कुपोषणले सर्वप्रथम मूत्र तथा जननेन्द्रियप्रणालीमा संक्रमणलाई बढावा दिन्छ । आमजनताको शरीरलाई स्वास्थ्य राख्न सन्तुलित भोजन गरेर शरीरको अग्लाइलाई सुहाउँदो तौल कायम गर्न प्रयत्न गर्नुपर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच