एमाले प्रतिपक्षमा गयो, अब नयाँ सरकार बन्छ : प्रधानमन्त्री

‘संविधान स्वीकार्न नसक्नेहरू सँगको सहकार्यमा जटिलता हुन्छ, मैले दुई महिनामै तीतो अनुभव गरेँ’

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ दलबीच राष्ट्रपतिमा भएको सहमतिपछि एमाले प्रतिपक्षी दल भएको बताउनुभएको छ । उहाँले महेन्द्र नारायण निधिको १०१औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा कानुनी र प्रक्रियाको हिसाबले अब नयाँ प्रक्रियामा नयाँ सरकार बन्ने वा पुनर्गठन हुने बताउनुभयो । ‘आठ दलको बीचमा भएको राष्ट्रिय सहमति नै हो भन्ने मेरो बुझाइ छ । किनभने हामी मिल्न जरुरी थियो । सबैलाई राजनीतिक प्रक्रियामा लान पनि यो आवश्यक थियो । एमाले पनि कतै जान सक्ने स्थिति छैन । प्रतिपक्षमा जान सक्नुहुन्छ । करिब करिब जानुभयो । राप्रपाका मन्त्रीले पनि राजीनामा दिएका छन्’, उहाँले भन्नुभयो, ‘सम्भवतः कानुनी हिसाबले नयाँ प्रक्रियातिर जानु नै पर्छ । सरकार नयाँ बन्छ वा पुनगर्ठन हुन्छ आदि इत्यादि । तर, फेरि पनि एमालेको सभामुखबाट फुत्किएर जाने अवस्थामा छैन ।’

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले संविधान स्वीकार गर्न नसक्नेहरूसँगको सहकार्यले जटिलता मात्रै पैदा हुने भएकाले आफूहरूले नयाँ यात्रा सुरु गरेको पनि दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिमा उतारचढावहरू हुन्छन् । धेरै किसिमका सम्भावना पनि हुन्छन् । हामीले परिवर्तनका पक्षधर शक्तिहरूलाई केन्द्रित गरेर जनताको आशा र अपेक्षाअनुसार जान सक्छौँ कि सक्दैनौँ भन्ने चुनौती हुन्छ । आजको दिन संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र कार्यान्वयन गर्नेहरू एक ठाउँमा आएका छौँ ।’

देश अझै अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै अर्थतन्त्र पछिल्लो केही महिनामा सकारात्मक सन्देश देखिए पनि संकटमुक्त नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक के हो भन्न अवस्थाबाट पनि मुक्त हुन सकेको छैन । हिजो नयाँ परिस्थिति देखियो । फागुन ७ गते संविधानले नचिनेका नाराहरू लागे । संविधानमा राजा महाराजालाई कहीँ स्थान दिएको छैन । त्यसलाई मैले ठूलो चुनौतीको रूपमा महसुस गरेँ । त्यसै कारणले स्वाभाविक रूपमा लोकतन्त्रलाई सदृढ गर्ने स्वाभाविक कोर्स के हुन्छ भने १२ बुँदे सम्झौताको सहयात्रीहरू मिलेर मात्रै देशलाई स्थायित्व र विकास र समृद्धि दिन सकिन्छ भन्ने लाग्यो ।’

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरूसँगको सहकार्यले जटिलता मात्रै पैदा गर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘पटक–पटक संसद् विघटन गर्ने कुरा भयो । र, संविधानमाथि एकपछि अर्को प्रहार हुने स्थिति देखाप¥यो । म प्रधानमन्त्री भएपछि जुन शक्तिहरूले हौसिएर संविधानले पूर्वराजाको रूपमा बस्न दिएको छ । अरू रूपमा चिन्दैन । म जुन गठबन्धनमा छु यो संविधान र राष्ट्रको हितमा छैन भन्ने मलाई लाग्यो ।’

रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुनुहुन्छ : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुने दाबी गर्नुभएको छ । अध्यक्ष नेपालले आठ दलको सहमतिमा प्रस्तावित पौडेल अवश्य पनि राष्ट्रपति बन्नुहुने सबैले आशा गरेको पनि बताउनुभयो । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार बालुवाटारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पौडेलप्रति लक्षित गर्दै जुनसुकै ओहोदामा पुगेका व्यक्तिहरूले पनि आफ्नो मर्यादाको सम्मान गर्दै राष्ट्र र जनताको हित चिताएर अघि बढ्नुपर्ने कुरामा कटिबद्ध हुनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले जनताको चाहनालाई साकार पार्ने गरी अघि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि आग्रह गर्नुभयो । मुलुक रूपान्तरणको यो महान् अभियानमा गम्भीर भएर अघि बढ्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउँदै अध्यक्ष नेपालले त्यसै अभियानलाई साथ दिन आठ राजनीतिक दलहरू एक ठाउँमा उभिने निष्कर्षमा पुगेको समेत बताउनुभयो । संघीयता, लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरू एक भएर बढ्न तयार भएको उहाँको भनाइ थियो ।
अध्यक्ष नेपालले महेन्द्र्रनारायण निधिको लोकतन्त्रप्रतिको निष्ठा आज पनि अनुकरणीय रहेको बताउनुभयो । त्यस अवसरमा उहाँले महेन्द्रनारायण निधि प्रतिष्ठानले समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको पनि प्रशंसा गर्नुभएको थियो ।

अध्यक्ष नेपालले महेन्द्र्र नारायण निधिको लोकतन्त्रप्रतिको निष्ठा आज पनि अनुकरणीय रहेको बताउनुभयो । शनिबार बालुवाटारमा स्व.महेन्द्र नारायण निधिको १०१औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महेन्द्र नारायण निधि प्रतिष्ठानले समाजसेवाको क्षेत्रमा पुर्‍याएको योगदानको पनि प्रशंसा गर्नुभएको थियो ।

कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको छ : निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको बताउनुभएको छ । शनिबार काठमाडौंमा स्व.महेन्द्र नारायण निधिको १०१औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तत्कालीन अवस्थामा नेपाली कांग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसके पनि कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको जिकिर गर्नुभयो । उहाँले अब बनेको आठ दलीय गठबन्धन लामो समयसम्म जारी रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौँ । तर, निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौँ । अहिले पुनः कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेका छौँ । यो गठबन्धन अब पुनः देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ । कांग्रेसले निर्णय गरेर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । साथै उम्मेदवारी दर्ता पनि भइसकेको छ । अब यो गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभई लामो समयसम्म अघि बढ्नेछ ।’ नेता निधिले अबको गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभई लामो समयसम्म जारी रहने दाबीसमेत गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वतन्त्रताको विपक्षमा रहनेहरूसँग देशभक्ति हुँदैन । स्वतन्त्रता र देशभक्त एक–अर्काका परिपूरक हुन् भन्ने विचार राख्नुभएको थियो । लोसपाका नेता शरद्सिंह भण्डारी लगायतले महेन्द्रनारायण निधिको योगदानबारे चर्चा गर्नुभएको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्रा. पुरुषोत्तम दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रा. दाहालले आफ्नो भनाइ राख्दै बिपी कोइरालाले २०३३ सालमा औपचारिक रूपमा राष्ट्रिय एकता र मेलमिलापको कुरा गर्नुभएको थियो त्यसको उत्कर्ष अहिले देखियो र प्रधानमन्त्री पुष्पकमल दाहालले त्यो कार्यभार पूरा गर्नुभएको बताउनुभयो ।
प्रतिष्ठान र निधिका विषयमा संस्थापक अध्यक्ष भानुभक्त ढकालले आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?