दुबई जान पाउनुपर्ने सन्दीपको निवेदनमा आज सुनुवाइ हुँदै

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले दुबईमा हुने आईसीसी विश्वकप लिग–२ मा सहभागी हुन पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा आज सुनुवाइ हुँदैछ ।

यसअघि शुक्रबार भएको प्रारम्भिक सुनुवाइमा सर्वोच्च अदालतले निवेदनमा माग गरिए बमोजिम अन्तरिम आदेश नगरी आइतबार पुनः सुनुवाइ हुने गरी आदेश दिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो।

आइतबारको सुनुवाइमा सन्दीप लामिछाने पक्ष र सरकारी वकिललाई पनि उपस्थित हुन भनिएको छ। संयुक्त अरब ईमिरेट्स (यूएई) को दुबईमा हुने क्रिकेट प्रतियोगितामा खेल्नका लागि जान पाउनुपर्ने मागसहित बिहीबार लामिछानेका तर्फबाट अधिवक्ता सरोज घिमिरेले निवेदन दिनुभएको थियो ।

जबरजस्ती करणीको मुद्दामा यसअघि उच्च अदालतले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो । त्यसविरुद्ध सन्दीपले सर्वोच्चमा निवेदन गर्नुभएको थियो ।

सोमबारदेखि युएईको दुबईमा हुने त्रिकोणात्मक सिरिज नेपाली टिमले सन्दीपविनै खेल्नेछ । त्यहाँ पपुवान्युगिनी र युएईसँग नेपालले चार खेल खेल्नेछ । त्यसपछि कीर्तिपुरमा हुने चार खेल भने सन्दीपले खेल्न पाउनुहुने छ । यसअघि नामिविया र स्कटल्याण्डविरुद्ध भएका चार खेलमा सन्दीप पनि सहभागी हुनुभएको थियो । उहाँ उक्त सिरिजका सर्वाधिक विकेट लिने खेलाडी पनि हुनुहुन्छ । सन्दीपमाथिको प्रतिबन्ध हटाइदिन क्यानले अपिल गरेको थियो । नेपाली टिमका व्यवस्थापक विनोद दासले इजलासमै पुगेर सन्दीपलाई नेपाल फर्काउने जिम्मा आफ्नो हुने बताउनुभएको थियो ।

केन्यामा पाँचवटा टी-२० खेल खेलेर लामिछाने क्यारेबियन प्रिमियम लिग खेल्न जमैका पुग्नुभएका बेला भदौ २१ मा नाबालिगले प्रहरीमा उजुरी दिनुभएको थियो । उजुरीपछि लामिछाने जमैकाबाट अमेरिका जानुभएको थियो । असोज २० मा नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर लामिछानेविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?