खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलमा रहेको सरस्वती आधारभूत विद्यालयले शिक्षकहरूको जिल्लास्तरीय दुई दिवसीय खुला एकल ब्याडमिन्टन प्रतियोगिता गराउने भएको छ । फागुन २३ गतेदेखि २४ गतेसम्म विद्यालयको प्रांगणमा नकआउटका आधारमा प्रतियोगिता गराउन लागिएको विद्यालयले सूचना जारी गरेर जानकारी दिएको छ ।
प्रतियोगितामा सहभागी हुन खेल सञ्चालन हुने मिति अगावै सम्बन्धित शिक्षकको नियुक्ति तीन महिना पुगेको, विद्यालयको लोगो र खेलाडीको परिचय खुल्ने पोशाक अनिवार्य हुनुपर्ने तथा खेलमा सहभागिताका लागि एक हजार ५५५ रुपैयाँ दर्ता शुल्क लाग्नेछ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ११ हजार १११, दोस्रोले सात हजार ७७७ र तेस्रो हुनेले चार हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । १० पुसमा अजय बस्नेतको अध्यक्षतामा बनेको नयाँ विद्यालय व्यवस्थापन समितिले शिक्षकको शारीरिक तन्दुरुस्ती र विद्यालयमा सञ्चालनार्थ दिवाखाजा कार्यक्रमलाई निरन्तरता दिन ब्याडमिन्टन प्रतियोगिता गराउन लागेको हो ।
सरकारले कक्षा १ देखि कक्षा ६ सम्मका विद्यार्थीलाई शनिबारबाहेक अन्य दिनमा दिवाखाजा कार्यक्रमअन्तर्गत १५ रुपैयाँ उपलब्ध गराउने गरेको छ । योे महँगीमा १५ रुपैयाँले केही पनि आउँदैन । विद्यार्थीले शिक्षा र स्वास्थ्यको सुविधा पाउनुपर्छ, शिक्षा जति आवश्यक छ, स्वास्थ्य त्यतिकै आवश्यक छ भनेर शिक्षा र स्वास्थ्यलाई सँगै लैजाने उद्देश्यले १५ रुपैयाँमा विद्यालयले स्रोत खोजी २५ रुपैयाँ थपेर दिवाखाजाका लागि ४० रुपैयाँ दिँदै आइरहेको विव्यस अध्यक्ष बस्नेतले बताउनुभयो ।
आम्दानीको स्रोत नभएको विद्यालयमा विद्यार्थीलाई २५ रुपैयाँ थप गरेर दिँदै जाँदा आर्थिक बोझ बढ्दै गएकाले दिवाखाजा कार्यक्रमलाई प्रभावकारी र निरन्तरता दिन ब्याडमिन्टन प्रतियोगिता गराउन लागिएको विव्यस अध्यक्ष बस्नेतको भनाइ छ । ब्याडमिन्टन प्रतियोगिताले सामुदायिक विद्यालयप्रति आममानिसको धारणा बदल्न र शैक्षिक सुधारमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच