जनयुद्धलगायत सबै आन्दोलनमा मारिएकाहरूलाई राष्ट्रिय शहीद घोषणाको तयारीमा प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलगायत सबै आन्दोलनका क्रममा मारिएकाहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तरक्रियाका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने शहीदको उच्च सम्मानसहित राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘विसं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका शहीद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारीमा छ ।’

सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्यनिरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ । यो छिट्टै टुंगोमा पुग्छ । जनयुद्धका शहीदको सम्मान, उनीहरूको परिवारको परिपूरण, सन्ततिको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ । त्यसका लागि विधेयक महत्वपूर्ण छ ।’

अन्तरक्रियामा शहीद तथा बेपत्ता परिवारका तर्फबाट अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले शहीद र बेपत्ता परिवारलाई सम्मान गरेको उल्लेख गर्नुभयो । जनयुद्धका शहीद परिवारले राज्यको तर्फबाट आफूहरूलाई उचित सम्मान दिनु जरुरी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

‘राष्ट्रपतिमा सर्वसम्मत भए राम्रो हुन्छ’
प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा सर्वसम्मत गर्न सकिए त्यो राम्रो हुने बताउनुभएको छ । माओवादीसहित आठ दलबाट शनिबार राष्ट्रपति उम्मेदवारी दिइएको र नेकपा एमालेसँग कुराकानीबाट राष्ट्रपतिमा सर्वसम्मत हुन सके राम्रो हुने बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘चुनावमा हामी एउटा गठबन्धनबाट गएका थियौँ । तर, म भिन्न तरिकाले प्रधानमन्त्री भएँ । हिजो मात्र फेरि राष्ट्रपति चुनावका लागि मनोनयनसम्म आइपुग्दा आठ दल एकठाउँमा भइयो । एमालेसँग पनि कुराकानी भइरहेको छ । नयाँ राजनीतिक यात्रा स्थायित्व र विकासका लागि हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

परराष्ट्रमन्त्री पौड्याललाई जेनेभा जान रोक
परराष्ट्रमन्त्री विमला राई पौड्याल जेनेभा भ्रमणमा नजाने हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँलाई जेनेभा जान रोक्नुभएको हो । उहाँ मानवअधिकार परिषद्को ५२ औं सत्रमा भाग लिन आइतबार साँझ जेनेभा जान लाग्नुभएको थियो । परराष्ट्रमन्त्री पौड्यालनिकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले आफैँ फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजानु भन्नुभएको थियो ।

नेपाली कांग्रेससहित आठ राजनीतिक पार्टीको नयाँ गठबन्धन बनेपछि पौड्याललाई प्रधानमन्त्री प्रचण्डले जेनेभा जानबाट रोकेको बताइएको छ । परराष्ट्रमन्त्री पौड्याल नेकपा एमालेकी हुनुहुन्छ । उहाँ जेनेभामा सहभागी हुने नेपाली टोलीको नेतृत्व गर्दै त्यता जान लाग्नुभएको थियो । उक्त नियमित सत्र फागुन १५ गतेदेखि चैत १३ गतेसम्म हुनेछ । नेपाल अहिले मानवअधिकार परिषद्को सदस्य रहेको छ । मन्त्री पौड्यालले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै परिषद्को ५२ औं सत्रमा नेपालले अहिलेसम्म गरेका काम र उपलब्धिहरू राख्ने बताउनुभएको थियो । सम्मेलनमा उहाँले मन्त्रिपरिषद्कै निर्णयमा आफू जेनेभा जान लागेको पनि जानकारी दिनुभएको थियो ।

मन्त्री पौड्याल त्यही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनुभएको थियो । जेनेभा भ्रमण रोकिएसँगै अब पौड्याल दोहामा हुने अतिकमविकसित मुलु्कहरूको सम्मेलनमा पनि नजाने हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?