✍️ भूपेन्द्र थापा (माधव)
समाजवाद एउटा यस्तो व्यवस्था हो, जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णरूपमा सरकारको अधिनमा हुने गर्दछ । जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ । यस्तो आर्थिक, राजनीतिक व्यवस्था अंगीकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भन्ने गरिन्छ । समाजवाद भन्ने बित्तिकै माक्र्स-ऐङ्गेल्स-लेनिन-माओले परिकल्पना गरेजस्तो हुबहु वैज्ञानिक समाजवाद नै हुनुपर्छ भन्ने छैन । शब्दमा समाजवाद तर व्यवहारमा सामन्तवाद, निम्न पुँजीवाद, पुँजीवाद, काल्पनिक समाजवाद माक्र्सकै समयदेखि थिए ।
माक्र्सले अनुसन्धान गर्नु भएको वैज्ञानिक समाजवाद-सम्यवाद वास्तवमैै ती सबै अर्धकचल्टा, अर्थहीन, वर्गहीन रूपमा सारहीन काल्पनिक साम्यवाद पुँजीवादविरुद्धको अनुसन्धानसहित विद्रोहमात्र पक्कै थिएन । विभिन्न रंगका गलत समाजवादी धाराविरुद्धको अनुसन्धान पनि थियो । माक्र्स-एङ्गेल्सको निधनपछि माक्र्स-एङ्गेल्सको नामसमेत मिसाएर देखापरेका सामाजिक साम्राज्यवाद सामाजिक अन्ध राष्ट्रवाद, संशोधनवादी समाजवादविरुद्ध लेनिनले संघर्ष गर्नुपरेको थियो । लेनिनको निधनपछि स्टालिनले झन् खराब समाजवादी धारा शब्दमा समाजवादको ठूला-ठूला नारा लगाउने व्यवहारमा भने साम्राज्यवादी र फाँसिवादीसँग मुन्टो जोड्दै हिँड्ने चरम अवसरवादीविरुद्ध लड्नु पर्यो । माओको समयसम्म आइपुग्दा वैज्ञानिक समाजवाद साम्यवादलाई नै उल्टाउन खोज्ने वैज्ञानिक समाजवादमा प्रतिक्रान्ति गर्ने र पुँजीवाद पुनःस्थापना गर्नेसम्मका सामाजिक साम्राज्यवाद संशोधनवादी समाजवाद देखापर्यो, ती समाजवादसँग भीषण संघर्ष गर्नु परेको थियो । माओको निधनपछि चीनले आफ्नो वैज्ञानिक समाजवादी-साम्यवादी मार्ग परित्याग गरेर चिनियाँ विशेषताको समाजवाद सञ्चालन गर्दै आएको छ । वर्तमान समयमा संसारभर विभिन्न किसिमका ‘समाजवाद’ प्रयोगमा चलिरहेका छन् ।
कम्युनिष्ट नामधारीसहितको दक्षिणपन्थी संशोधनवादी, पुरातनपन्थी यथास्थितिवादी र पुँजीवादी शक्तिहरूसँगको सहकार्यमा नेपालमा लोकतान्त्रिक समाजवाद र उता उत्तर कोरियामा कोरियन विशेषताको समाजवाद, ल्याटिन अमेरिकामा बोलिभियन समाजवाद, युरोपमा युरो समाजवाद प्रयोग हुँदै आएका छन् ।
कम्युनिष्ट नामधारीसहितको दक्षिणपन्थी संशोधनवादी, पुरातनपन्थी यथास्थितिवादी, पुँजीवादी शक्तिहरूसँगको सहकार्यमा नेपालमा लोकतान्त्रिक समाजवाद र उता उत्तर कोरियामा कोरियन विशेषताको समाजवाद, ल्याटिन अमेरिकामा बोलिभियन समाजवाद, युरोपमा युरो समाजवाद प्रयोग हुँदै आएका छन् । संसारमा समाजवादको सिद्धान्त १९औं शताब्दीको १८३० बाट १८६० सम्म अति नै आदर्शको रूपमा रहँदै आयो । समाजवादको सिद्धान्तको गर्वबाट साम्यवादी सिद्धान्तको जन्म भयो । संसारभर जति नयाँ मुलुकहरू छन् ती सबैले थोरै-थोरै मात्रामा भए पनि समाजवादको प्रयोग गर्न खोजेको देखिन्छ । २०औं शताब्दीतिर आइपुग्दा संसारभर तीनवटा दर्शन बहुत चर्चामा आए पुँजीवाद, समाजवाद र साम्यवाद । यो सामाजिक, आर्थिक र राजनीतिक विचारधारामा आधारित छ, यसलाई संसारका विभिन्न देशहरूले आफ्नो अनुकूलतामा अलग-अलग ढंगबाट व्याख्या, विश्लेषण र लागू गर्दै आएका छन् । आजकल वामपन्थी, कम्युनिष्ट भन्ने राजनीतिक पार्टीहरूभित्र विचार सिद्धान्त र दर्शनका बारेमा खासै छलफल, बहस, स्कुलिङ हुन छोडेका छन् । कम्युनिष्ट र कांग्रेसहरू एउटै मञ्चमा देखिने गर्दछन् भने उनीहरूबीच उद्देश्य त्यति धेरै फरक भएजस्तो लाग्दैन ।
आजसम्मको समयलाई केलाउँदा कुनै विचार राम्रो छ भने त्यो हो समाजवाद, विचार, सिद्धान्त, चिन्तन र आदर्शको चेत भएको समाजवाद नै हो । संसारभरिका कवि, कलाकार, साहित्यकार र रचनाकारका सम्पूर्ण रचनालाई केलाएर नियाल्ने हो भने सबै कृति वास्तवमै समाजवादी मर्म, भावना र सपना बोकेका हुने गर्दछन् । समाजवादले मभन्दा पनि हामी, मेरोभन्दा हाम्रो साझा स्वामित्व र साझा दायित्व बहन गर्दछ । समाजवादमा टाढाटाढा भएर बरालिएका भावनालाई नजिक खिच्ने काम गर्दछ तर पुँजीवादले नजिक भएकालाई टाढा टाढा पुर्याउने काम गर्दछ ।
नेपालमा समाजवादको पहिलो सपना बुन्ने युग पुरुषहरू पुष्पलाल र बीपीले समाजवादी पार्टी निर्माण गर्न संगठित कोसिस सुरु गरेका थिए । पुष्पलालले कल्पना गरेको समाजवादमा कुनै स्रोतसाधन र सक्षम एवं पहुँच नभएकाहरूलाई नेतृत्वमा राखेर सोचेका थिए । नेपालमा न्यून साक्षर भएको अवस्थामा राणाहरूको क्रूर शासनका सामु पुष्पलालले आफ्नो अभियान सुरु गरेका थिए । स्वयं पुष्पलाल कुनै कुल घराना वा ठूलो जमिन्दारको परिवारबाट आएका पात्र होइनन् । धेरै पढेलेखेका विद्धान पनि होइनन् । उनको पहिचानको आधार भने शहीद गंगालाल उनका दाजु थिए ।
त्यसबाहेक उनको पहिचानको अर्को आधार थिएन । उनी पूर्ण राजनीतिमा होमिने समयमा उनको किशोर अवस्था नै थियो । नेपाली राजनीतिमा प्रज्ञापरिषद्बाट सुरु उनको राजनीति नेकपा स्थापनासमेत उनकै नेतृत्वमा भएको थियो । समाजवादको मार्गचित्र कोर्न स्थापनार्थ नेकपा पटक-पटक टुटफुट र विभाजनको सिकार हुनपुग्यो । २०५१ सालमा कम्युनिष्टको नेतृत्वमा पहिलो सरकार गठनदेखि २०७४ सालको आमनिर्वाचनसम्म आइपुग्दा संयुक्त घोषणापत्र र निर्वाचन मोर्चासहित एकताको सूत्रमा ठूला दुई कम्युनिष्ट पार्टी, झण्डै दुई तिहाइको कम्युनिष्ट सरकार निर्माण भयो ।
तर, त्यो टिक्न सकेन, घुमिफिरी रुम्जाटार भने झैँ फेरि दुई वामपन्थी दलबीच सत्ता स्वार्थले समीकरण बन्न पुगेको छ । पुष्पकमल दाहाल तेस्रो पल्ट बहुसंख्यक नयाँ अनुहारलाई साथमा लिएर सिंहदरबार छिरेका छन् । उनीसँग नारायणकाजी श्रेष्ठ छन् भने नयाँ सक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण उनले सत्ता र संसदबाट हात धुनुपरेको छ ।
फेरि रंगीविरंगीले भरिएको सरकारमाथि आमदेशवासीले धेरै अपेक्षा गरेको देखिन्छ । सदाबहार खिचडीको भान्छा जस्तो नेपाली राजनीतिले अझै देशमा आशाको किरण छर्न सकेको छैन । नयाँ बनेको वाम नेतृत्व भनिएको सरकार केही मन्त्रीहरूको विगत र वर्तमानले आमदेशवासीलाई आशा र भरोसाको विश्वास दिलाउन सकेका छैन । दलहरूको मिश्रित स्वार्थले जोडिएको सत्ता समीकरणले देशले कसरी सुशासनको प्रत्याभूति दिलाउन सक्ला ? आज मुलुकको रित्ता भकारीले निम्त्याएको संकट, बाटो बिराएको शिक्षा क्षेत्र, हुनेखाने वर्गमैत्री स्वास्थ्य क्षेत्र, मलजल र बजार व्यवस्थापनन भएको कृषि, युवाको चरम बेरोजगारीले उब्जाएको वैदेशिक पलायन, देशमै केही गरेर खाने उत्साह र ऊर्जा भएका युवा उद्यमीमाथि राज्यको उदासिनताले सम्बन्धित क्षेत्रहरूमा परिवर्तनको आवास आउने गरी दूरदर्शीका साथ राज्यले एउटा बाटो पक्रिने अवस्था आएन भने आमनेतृत्वप्रति नागरिकको आक्रोशको सीमा नाघ्नेछ । त्यसैले नेतृत्वले समग्र विषयमा संवेदनशील बन्नु आवश्यक छ । आज मुलुकको हरेक निकाय भ्रष्टाचारको आहालमा चुर्लुंम दुबेको छ । बिचौलिया र दलालहरूको विगिबिगी छ ।
नीतिगत भ्रष्टाचार, घुसखोरीमा गएर बिलय भएको छ । राज्यमा उद्यममैत्री नीति छैन, कुरा उठाउने, सुनाउने कुनै त्यस्तो निकाय छैन, केही गरौं भन्ने युवा शक्तिहरूका भाकामा विभिन्न बाधा, अर्चना र हण्डर ठक्करले त्यस्ता उद्यमीलाई निराशा, डिपे्रसनको सिकार बनाएको छ । यस्तो कहालीलाग्दो अवस्थालाई राजनीतिक दलहरू आँखा चिम्म गरेर आफ्ना स्वार्थ र सत्ताको छिनाझपटीमा लठ्ठिएका छन् । नागरिकको आजीविका विद्यमान राजनीतिको मूलधारका सवाल बन्न नसक्दा गएको मंगलबार पे्रम आचार्य ‘सन्तोष’ले काठमाडौंको मुटु अझ संसद् चलिरहेकै अवस्थामा संसद् भवन परिसरबाहिर आत्मदाह गर्नु भनेको देशमा विद्यमान आमनिराशाको अभिव्यक्ति मात्र नभएर एउटा गरिखाने युवकले राज्य व्यवस्थाविरुद्ध ससम्मान गरेको प्रतीकात्मक विद्रोह हो ।
नेपाली राजनीति भ्रष्टाचार उत्पादन गर्ने विश्वविद्यालय र त्यसको संरक्षण गर्ने अभिभावकमात्र भयो । गरिखाने वर्ग, आमशोषितपीडित जनतामैत्री राज्य र सत्ता कहिल्यै हुन सकेन । आजसम्मका इतिहास र वर्तमानलाई हेर्दा राज्यसत्ताको मुहानमा बसेकाहरूले शक्ति सम्बन्धमा कुनै रूपान्तरण अर्थात् संरचनात्मक परिवर्तन चाहँदैनन् बरू समावेशीको पर्खाल झन्झन् अग्लो बनाउन खोजेजस्तो देखिन्छ । नयाँ जोगीहरूले निकै खरानी घसेर नाली सफा गर्न नालीमा छिर्नुपर्छ भन्नेहरूको परिणामको केही संकेतहरू त देखा परिसकेका छन् ।
पूर्णपरिणामको ब्यग्र प्रतीक्षामा रहेका नागरिकको जिज्ञासा छिटै पूर्ण होला । नालीमा डुबुल्की मारेर पवित्र हुने समाज र भ्रष्टाचार एवं कुशासनविरुवामा समाजवादको फल फलाउँछु भन्ने हाम्रो शासक, समाजको व्यवहार नबदलेसम्म समृद्धि, परिवर्तन लोकतान्त्रिक समाजवाद नामधारी व्यवस्थामा सम्भव छैन । अर्थात् पुँजीवादको दाह्रा नभाँचीकन जनताको समाजवाद, समाजवादको बुद्धि बँगारा पलाउँदैन । वर्ग संघर्षको रूप कस्तो हुन्छ भन्ने विषय समय सापेक्ष हुनुपर्दछ । हिजोका राणा शासन, निरंकुश राजतन्त्रविरुद्ध जस्तो संघर्षको रूप प्रयोग गरिएजस्तो अहिले पनि पुँजीवादको विरुद्ध त्यस्तै संघर्षको रूप प्रयोग हुन्छ भन्ने मान्यता छैन ।
नेपाली राजनीति भ्रष्टाचार उत्पादन गर्ने विश्वविद्यालय र त्यसको संरक्षण गर्ने अभिभावकमात्र भयो । गरिखाने वर्ग, आमशोषितपीडित जनतामैत्री राज्य र सत्ता कहिल्यै हुन सकेन । आजसम्मका इतिहास र वर्तमानलाई हेर्दा राज्यसत्ताको मुहानमा बसेकाहरू शक्ति सम्बन्धमा कुनै रूपान्तरण अर्थात् संरचनात्मक परिवर्तन चाहँदैनन् ।
आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेको पन्ध्र वर्ष नाघिसक्यो तर राज्यको अवस्था र जनताको दैनिकीमा खासै परिवर्तनको अनुभूति गर्ने स्थानमा अझै आइपुगेका छैनौं । नेपाली जनताले नेपाली समाजको रूपान्तरणका लागि सम्पूर्ण सकारात्मक एवं सहयोगी वर्गलाई राजनीति र संगठित रूपमा नेपाली समाज रूपान्तरणको बाधक तत्व अर्थात् दलाल पुँजीवादी वर्गलाई जनताको बीचमा नंग्याउने, कानुनी दायरामा उभ्याएर कडाभन्दा कडा कारबाही गर्ने कार्यमा गम्भीरताका साथ लाग्नु अहिलेको आवश्यकता हो ।
२०४६ र २०६२/०६३ को राजनीतिक परिवर्तनको उपलब्धिको रक्षा, आमजीवनमा परिवर्तनको नयाँ अनुभूति जनतालाई दिलाउन नसक्ने हो भने, यसैमा मात्र राज्य र राजनीतिक दलहरू सीमित हुने हो भने यसले आमजनतामा पुनः निरासा छाउनेछ । जसको परिणाम स्वरूप जनताले विद्रोहको बाटो अख्तियार नगर्लान् भन्न सकिँदैन । त्यसको नेतृत्व उग्रवाम वा उग्रगैरवाम सोचबाट निर्देशित नहोला भन्न सकिँदैन ।
त्यसले यस्ता विषयमा राज्य र सत्तापक्ष बेलैमा सचेत हुन जरुरी देखिन्छ । संसार परिवर्तनशील छ र संसारका हरेक वस्तुहरू परिवर्तनशील हुन्छन् भन्ने बारेमा कसैको विमति पक्कै नहोला । तर, संसारका हरेक वस्तु कसरी परिवर्तन भएका छन् र परिवर्तनका नियम के हुन् भन्ने बारेमा अध्ययन, अनुसन्धान र विश्लेषण गर्नेबारे भने थोरै मानिसले मात्र आफ्ना सिर्जनालाई समाजका अगाडि विभिन्न माध्यमद्वारा प्रस्तुत गर्ने गर्दछन् ।
नेपाली समाज, नेपाली सामाजिक बनावट र नेपाली राजनीतिक चरित्र विश्व परिवेशको जगबाट साँच्चिकै जनताको भावना समेटिएको, जनताको दुःखकष्ट अभाव देख्ने आँखा, जनताको पिरमर्का सुन्ने कान भएको समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्रको रूप-रङ छ ? यदि नभए त्यो परिवर्तन हुन तयार छ ? यदि तयार छ भने पुँजीवादीको अवसानका निम्ति नयाँ वातावरण बनाउन सक्नुपर्दछ तबमात्र लोकतान्त्रिक समाजवाद-जनताको समाजवाद हुनेछ । (लेखक वाम विश्लेषक हुनुहुन्छ ।)
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका