कञ्चनवनबाट सुरु भयो होली

हिमालय टाइम्स
Read Time = 3 mins

पुरन साह/हिटा

जनकपुरधाम । १५ दिवसीय मिथिला मध्यमा परिक्रमा महोतरीको एतिहासिक तथा प्राचिन कञ्चनवन पुगे संगै मिथिलाञ्चलमा होली खेल्न शुरु भएको छ । सोमबार कञ्चनवनमा मधेश प्रदेशका मन्त्री, प्रशासन प्रमुख, साधुुसन्त र भक्तजन सहितकाले सामुहिक रुपमा होली खेलेका छन् ।

१५ दिवसीय मिथिला मध्यमा परिक्रमाको १५ विभिन्न पराव(विश्रामस्थल)हरू मध्येको एक महत्वपूर्ण र पवित्र स्थल हो महोतरीको एतिहासिक तथा प्राचिन कञ्चनवन । परिक्रमामा सहभागि विभिन्न मन्दिरका भगवान रामजानकीको डोला सहितका तिर्थालुहरू कञ्चवनमा पुगेर होली खेले संगै मिथिलाञ्चलमा रंगअविरको पर्व होली विधिवत शुरु भएको मानिन्छ ।

त्रेता युगमा भगवान राम र सिता कञ्चनवनमै होली खेलेको जनविश्वास अनुसार यहाँ भब्य रुपमा रंग अविरसहित होली खेलिन्छ । मधेश सरकारकी पर्यटन मन्त्री सुनिता यादव, धनुषा महोतरीका प्रमुख जिल्ला अधिकारी, तिनवटै सुरक्षा निकायका प्रमुखहरू, कञ्चवन पर्ने महोतरीको भंगहा नगरपालिकाका मेयर सञ्जीव साह, साधुसन्त र तिर्थालु सबै मिलेर होलीमा रंग अविर खेलेका छन् ।

साधुसन्तहरू संगसंगै तिर्थालु, दर्शनालुहरू समेत यहाँ विभिन्न होलीको गीतगानमा रमाउँदै रंग अबिर खेल्छन् । कञ्चनको अर्थ सुन हुनाले यो सुनैसुनको वन रहेको र यहाँ भगवान सिताराम आएर होली खेलेको जनविश्वास छ । रामजानकी पछि अयोध्या गएपनि तात्विक रुपमा कञ्चनवनमै विराजमान रहेकाले सम्पूर्ण मिथिलालाई कञ्चनवनसमेत भनिन्छ, सुन्दर सदन अग्नि कुण्ड मन्दिर जनकपुरधामका महन्त नवलकिशोर शरणले बताउनुभयो ।

कञ्चनवनलाई पर्यटकीय गन्तब्यका रुपमा चर्चामा ल्याउन सरकारले पहलकदमी लिनुपर्ने साधुसन्तहरूको माग छ । प्रत्येक वर्ष कञ्चनवनमा मात्र करिव पाँच लाख पर्यटक आउने गरेको भन्दै प्रदेशका यस्ता धार्मिक स्थलबाट राज्य बेखवर रहेको गुनासो उनीहरूको छ ।

मिथिला विहारी र किशोरी जीको डोलाको अगुवाईमा कञ्चनवन पुगेको परिक्रमा अव मंगलबार धनुषाको पर्वता त्यसपछि धनुषाधाम, सतोषर, औरही र पुनः भारतको विसौल तथा कलानेश्वर हुँदै जनकपुरधाम आएर जनकपुरधाम नगरको अन्तरगृह परिक्रमा गर्दै समापन हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?