राष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली प्रकाशित हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति निर्वाचनअन्तर्गत आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुन लागेको हो ।

आज सुरुमा उम्मेदवारमध्ये कसैले चाहेमा नाम फिर्ताको समय दिइनेछ। नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय छ। त्यसपछि आजै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार बन्नुभएको छ भने नेकपा एमालेले नेता सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् । प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?