कांग्रेस सांसद टेकबहादुर गुरुङसहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा कांग्रेस सांसद गुरुङ दोषी ठहर भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गुरुङविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले तत्कालीन महिला बालवालिका तथा समाजकल्याण मन्त्री गुरुङसहित १४जनाविरुद्ध मुद्दा दायर भएकोमा मंगलवार ९ जनालाई दोषी ठहर गरेको छ ।

मुद्दा विचाराधीन रहेकै बेला गुरुङ गत निर्वाचनमा मनाङबाट निर्वाचित सांसद हुन् । हाल उनी  निलम्बित अवस्थामा छन् । भ्रष्टाचारको मुद्दा खेपिरहेकै बेला मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङ पुस ८ गतेबाट निलम्बनमा परेका थिए ।

भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो ।

तत्कालीन समाजकल्याण परिषदका उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुन्जविहारी प्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने पनि दोषी ठहर भएका छन्। त्यस्तै रमाइलो मेला सन्चालन गर्ने रविन्द्र गुरुङ र परिषदका निर्देशक मदनप्रसाद रिमाल पनि दोषी ठहर भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?