चर्किंदै किसान आन्दोलन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा विभिन्न दलनिकट किसान संगठनहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । एमालेनिकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन लगायतका संघहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्दै अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले ‘मलको भयो हाहाकार’, लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । वर्तमान सरकारले किसानविरोधी निर्णय गरेको भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनीहरूले चेतावनी दिएका छन् ।

यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको नेपाल क्रान्तिकारी किसान संघले पनि मूल्यवृद्धिविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको सुन्धाराबाट निकालेको जुलुस रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो । मलको अभावबारे नेपाल क्रान्तिकारी किसान संघको आयोजनामा जुलुस निकलिएको हो । सभामा पार्टीका नेता एवं किसान नेताले सम्बोधन गरेका थिए ।

यता, विभिन्न दलनिकट ६ किसान संगठनले नौ बुँदे माग राखेर संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् । बिहीबार विज्ञप्ति प्रकाशित गरी किसान संघ संगठनहरूले चैत ८ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने जनाएका हुन् । ६ वटा कम्युनिस्ट पार्टीहरू निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समितिको बैठकले सरकारसमक्ष तत्कालीन मागहरू प्रस्तुत गरी ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
यस्तै, माग पूरा गराउन आवश्यक परे संयुक्त संघर्ष अघि बढाउने र यही चैत ८ गते माइतीघर मण्डला एवं मधेश प्रदेशमा सांकेतिक रूपमा संयुक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी कांग्रेसनिकट नेपाल किसान महासंघ, एमाले निकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका थिए ।
फागुन २६ गते नेपाल सरकारले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयप्रति देशभरका किसान हकहितसँग सम्बन्धित संघ, संगठनहरूले आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गर्दै दबाबस्वरूप आन्दोलन सुरु गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?