योगी नरहरिनाथको जन्मजयन्ती र रत्न पुस्तकालयको सेरोफेरोभित्र

Read Time = 10 mins

✍️ पदम दाहाल

राष्ट्रगुरु योगी नरहरिनाथको जन्मजयन्ती र बानेश्वरको रत्न पुस्तकालयको सेरोफेरोभित्र हिमवत्खण्ड नेपालका प्रचारक महान् अन्वेषक राष्ट्रगुरु योगी नरहरिनाथको १०९औं जन्मजयन्ती तथा यस वर्षको योगी नरहरिनाथ सम्मान एवं शत्रुध्न तथा खड्गकुमारी भट्टराई सम्मान समर्पण समारोह २०७९ को आयोजना योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषदद्वारा गत फाल्गुण १७ गते आधा दर्जन कर्मठ, देशभक्त, राष्ट्रवादी, समाजसेवी व्यक्तित्वहरूलाई दोसल्ला ओढाई अभिनन्दन पत्रद्वारा सम्मानित हुन पाएको दृश्य म आफूले पनि देख्न पाएँ ।

उक्त भव्य कार्यक्रममा सम्मानित हुनेमध्येका एकजना मेरा परम् आदरणीय मित्र भक्तपुर निवासी डा.इन्दुल केसीले गर्नुभएको निम्तो अनुरूप हामी पनि निम्तारुका रूपमा पुग्यौं । बानेश्वरस्थित महादेवस्थान निकटस्थ रत्न पुस्तकालयको हलमा आगन्तुकको उपस्थिति खचाखच थियो । डा.इन्दुल केसीको तर्फबाट हामी निम्तारुहरूमा थियौँ साहित्यकार तथा लेखकहरू प्रजापति तिमिल्सिना, पशुपतिमान प्रधान, सुनील सापकोटा, उज्ज्वल केसी, चूडाप्रसाद चौलागाई, रमेशप्रसाद अधिकारी, साधुराम गिरी र नवीना श्रेष्ठ ।

योगी नरहरिनाथ ट्रष्ट तथा रत्न पुस्तकालयका अध्यक्ष शङ्कर पौडेलज्यूले हरेक आगन्तुकमा हिन्दूका आराध्यदेव शिवजीका नाउँमा ‘ॐ नमः शिवाय’ लेखिएका एकेक गम्छा ओडाएर स्वागत अभिवादन गर्नुभयो । योगी नरहरिनाथको तस्बिरमा माल्यार्पण भयो । सम्मानित हुनुहुने डा.इन्दुल केसी, डा.नयनाथ पौडेल, शशिविक्रम राणा, गुहयेश्वरी धोंजू, विमलराज खरेल, डा.ध्रुवलाल श्रेष्ठ हुनुहुन्थ्यो भने शास्त्रदेव पन्त हुनुहुन्थ्यो कार्यक्रमका प्रमुख अतिथि । प्रत्येक सम्भामित व्यक्तिका राष्ट्रवादी चेत, चरित्र र चिन्तनले भरिएका गहन र सारगर्भित मन्तव्य अभिव्यक्त भए ।

भरतजंगमका सत्तासीनबाट कानुनको बारम्बार उल्लङ्घन भइरहेछ, काँधमा बन्दुक बोक्नेहरू सत्तामा पुगेर देशलाई धमाधम लुटिरहेछन् । सारा राजनीतिक दल मिलेर देशलाई चौपट्ट रूपमा दोहन गरिरहेछन् । देशलाई रित्याउन र सिध्याउन आलोपालो गर्दै लुटानमा जुटिरहेछन् भन्ने अभिव्यक्तिले निकै भावुक बनायो ।

सत्तासीनबाट कानुनको बारम्बार उल्लंघन भइरहेछ । काँधमा बन्दुक बोक्नेहरू सत्तामा पुगेर देशलाई धमाधम लुटिरहेछन् । सारा राजनीतिक दल मिलेर देशलाई चौपट्ट रूपमा दोहन गरिरहेछन् । देशलाई रित्याउन र सिध्याउन आलोपालो गर्दै लुटानमा जुटिरहेछन् भनेजस्ता राष्ट्रप्रेमी नेपालीको मनै छुने र आँसु झार्ने खालका अभिव्यक्ति सुन्दा साँच्चिनै देश भ्रष्टाचार र कुशासनको जालो र दलदलमा कतै फसिरहेको त छैन भन्ने अनुभूति हुन्थ्यो । देशलाई कहीँकतैबाट ब्रहृमलुट भरहेको त छैन भन्ने अनुमान लगाउन सकिन्थ्यो ।

भ्रष्टाचारविरोधी शास्त्रका प्रवर्तक नवीन दर्शनका दार्शनिक कालजयी व्यक्तित्व भरतजंगमको हीरक महोत्सवका अवसरमा प्रकाशित भाग-२ हरि मञ्जुश्रीद्वारा सम्पादित कृतिउपर समीक्षात्मक विश्लेषण गर्दै थिएँ म । उक्त कृतिको पृष्ठ २०४ मा रहेको डा.निरञ्जनसिंह बस्न्यातको ‘विद्वान लेखक भरतजंगम र बानेश्वर महादेवस्थान’ भन्ने आलेखलाई नियाल्ने क्रममा भरत जङ्गमले आफ्नो इतिहाससम्बन्धी पुस्तक ‘नेपालको इतिहासमा रहेका भ्रम तथा निराकरण’ ले नेपालको इतिहासको प्राचीन, मध्य र आधुनिक कालका बारेमा प्रकाश पार्ने आजसम्म बाहिर नआएका ऐतिहासिक धेरै तथ्यहरू समावेश छन’, भन्नुभएको र सोही पुस्तकमा प्रकाशित ‘बानेश्वर महादेवको संक्षिप्त परिचय’ द्वारा बानेश्वर महादेवस्थानको सेरोफेरोसँग भरत जङ्गमको अगुवाइमा भएका कतिपय जीर्णोद्धारका कार्यलगायत रत्न पुस्तकालयको स्थापना गर्नमा पनि उहाँको अहम् भूमिका रहेको थियो ।

नेपाली साहित्य जगतका लेखनाथ पौड्याल, चित्तधर हृदय, सिद्धिचरण श्रेष्ठ, पारिजात, देवकोटा, सम, धरणीधर कोइरालालगायत अनगिन्ती स्रष्टाका तस्वीरहरूले सजिएको पाइयो रत्न पुस्तकालयको हल । सयभन्दा बढी राष्ट्रसेवी, समाजसेवी सृष्टा र साधकहरूलाई वर्षेनी अभिनन्दन पत्र, कदरपत्रद्वारा सम्मानित र पुरस्कृत गर्ने गरेको जानकारी मिल्यो ।

यस्तो जानकारी पाउँदा आफू उक्त कार्यक्रममा सोही पुस्तकालयभित्र सामेल हुनपाउँदा उनै भरतजंगम बानेश्वर महादेवस्थान, रत्न पुस्तकालय, योगी नरहरिनाथको जन्मदिन र डा. इन्दुल कैसीहरू मेरो मथिंगलमा एकपछि अर्को गर्दै धेरैबेरसम्म रिँगाइरहे । भरतजंगमका सामाजिक–ऐतिहासिक योगदान तथा त्यसदिन राष्ट्रसेवामा समर्पित हुनेहरूद्वारा पाएको सम्मान खेलिरहे मेरा स्मृतिपटलमा । पौराणिक कथन अनुसार वाणासुर राक्षसलाई महादेव भगवान्ले दमन गरी धर्तीबाट गंगाजल उत्पन्न गराई बाणगंगाको नामले जल बहाएर आफू वाणेश्वर महादेवका नाउले चिनिनुभएको थियो । सोही स्थानको पूर्वपट्टि आज पनि प्राचीन ढुंगेधारा बाणगंगा छँदैछ । १८औं शताब्दीमा श्रीनिवास मल्लले वाणेश्वर महादेव मन्दिर परिसरमा देवीदेवता, पाटीपौवा, ढुंगेधारा आदिको जीर्णोद्धार गरेका र वाणेश्वर महादेव मन्दिरको पनि जीर्णोद्धार गराएको पाइन्छ ।

उनै इतिहासका अन्वेषक भरतजंगमले विक्रम संवतको अनुमान गरेको पाइन्छ । विसं १९४७ मा शाहकालमा काजी जयमानसिंह बस्न्यातले चित्रेश्वर महादेवको मन्दिर स्थापना गरिदिएको र गुठीसमेत राखेको बारेको जानकारी मिल्दछ । त्यस्तै जंगमले वाणगंगा, ललितत्रिपुरादेवी, जलशयन नारायण, जलकुण्ड आदिका बारेसमेत उहाँले नै महत्वपूर्ण सूचना र तथ्य पत्ता लगाई आकलन गर्नुभएको पाइन्छ ।
सोही परिसरभित्र आफ्नो सक्रियतामा श्री रत्न पुस्तकालय स्थापना गर्नमा बानेश्वर, निवासी अरू कतिपय युवाहरूलाई समेत परिचालन गरी सोको निर्माणमा लागिपर्नु भएको रहेछ समाजसेवी उनै भरतजंगम । तत्कालीन प्रधानपञ्च फत्यबहादुर पाण्डेद्वारा सहयोग जुटाई उक्त पुस्तकालय स्थापना गरिएछ । नेपाली साहित्य जगतका साहित्यकारहरू लेखनाथ पौड्याल, चित्तधर हृदय, सिद्धिचरण श्रेष्ठ, पारिजात, देवकोटा, सम, धरणीधर कोइरालालगायत अनगिन्ती स्रष्टाका तस्वीरहरूले सजिएको पाइयो रत्न पुस्तकालयको हल । सयभन्दा पनि बढी राष्ट्रसेवी, समाजसेवी सृष्टा र साधकहरूलाई वर्षेनी अभिनन्दन पत्र, कदरपत्रद्वारा सम्मानित र पुरस्कृत गर्ने गरेको विशद जानकारी मिल्यो ।

पुस्तकालय स्थापना र बानेश्वर महादेवको जीर्णोद्धार गराउन समेत सफल भरतजंगमका कार्यको विश्लेषण गर्ने क्रममा सोही रत्न पुस्तकालयभित्र पसी पुस्तक, पत्रपत्रिका र सम्मान समर्पण भएको दृश्य प्रत्यक्षतः सुन्न र देख्न पाउँदा आफूलाई अहोभाग्यमानी झैँ ठानेँ । कार्यक्रम सम्पन्नपश्चात् मेरा दुई कृतिहरू ‘बादलका तरेलीहरू’ र ‘श्वेताम्बरी’ कवितासंग्रहहरूलाई सोही पुस्तकालयमा रहने गरी अध्यक्ष शंकर पौडेलजीका हातमा समर्पण गर्दै म आफ्नो निवासस्थानतर्फ लागेँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?