स्ववियु निर्वाचनको प्रभाव

हिमालय टाइम्स
Read Time = 9 mins

कुनै समय यस्तो थियो जुन बेला स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले ठूलो महत्व राख्दथ्यो । एक प्रकारले भन्ने हो भने राष्ट्रमा समेत बालिक मताधिकारका आधारमा निर्वाचन गरिँदैनथ्यो र राजाले वा व्यवस्थाले टिपेर लगेका मानिस शासनमा पुग्दथे । त्यस्तो प्रणालीको विरोधमा खरो उत्रिने माध्यम भनेकै विभिन्न क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने गरेको थियो । विद्यार्थीहरूलाई राष्ट्रको दुश्मन पक्ष (इनिमी ग्रुप) मानिने गदर्छ । युवा जोश र जाँगर, निर्भयताजस्ता कारणले विद्यार्थीहरू निडरताका साथ पञ्चायती व्यवस्थाको विरोधमा उत्रिन सक्थे । पञ्चायत प्रणालीको विपक्षमा रहेका प्रतिबन्धित नेपाली कांग्रेस र प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सीमित नेताहरू कुनै सामथ्र्यविनाको अवस्थामा घरमा, जेलमा वा प्रवासमा रहेका बेला विद्यमान प्रणालीको विरुद्धमा आवाज बुलन्द गर्ने विद्यार्थी नै थिए ।

विभिन्न विद्यार्थी युनियन र संघसंगठन खोल्न र सञ्चालन गर्न विद्यार्थीहरूले निकै ठूलाठूला जोखिम उठाएका थिए । अदालतको शरणमा पुगेका थिए । यही कारणले धेरैले मृत्यु वरणसमेत गर्नुपरेको थियो । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ २०२७ सालमा स्थापना भएको थियो, जसको उद्घाटन लामो कारावासबाट छुटेका सन्तनेता कृष्णप्रसाद भट्टराईले गर्नुभएको थियो । स्थापनाकै समयमा पञ्चायती व्यवस्था र प्रहरीको अनेकौं प्रताडना सहेर उक्त विद्यार्थी संघ अघि बढेको थियो । व्यवस्थाले यो अवैध संगठन हो भनेर खारेज गर्न र यस संगठनमा लाग्नेहरूलाई अनेकौं मुद्दामामिला लगाएर फसाउन लागेका बेला यज्ञमूर्ति बन्झाडेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेर नेपाल विद्यार्थी संघलाई वैधानिकता दिलाउनुभएको थियो ।

सर्वोचले पनि नेपाल विद्यार्थी संघलाई अवैध संगठन होइन भनेर फैसला गरेको थियो । यस अर्थमा यस्ता संघसंगठनहरू विद्यार्थी हकहितका लागि खोलिएको भन्ने मान्यता थियो तर व्यवहारमा तिनले राजनीतिलाई नै बढावा दिएका थिए । राजनीतिको नर्सरी कक्षाका रूपमा मानिने यस्ता विद्यार्थी संघसंगठनहरूले आ-आफ्ना माउ पार्टीलाई ऊर्जा दिने गरेका थिए । विभिन्न कम्युनिष्ट पार्टीका भ्रातृसंगठन अनेरास्ववियुबाट पनि केही नेताहरू नेपालको वर्तमान उच्च स्थानमा पुग्न सफल भएका छन् तर नेपाल विद्यार्थी संघबाट आएका नेताहरू वर्तमान राजनीतिमा हावी छन् । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विपिन कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, विमलेन्द्र निधि, गनगनकुमार थापालगायत धेरै नेताहरू नेपाल विद्यार्थी संघबाटै आएका हुन् । कम्युनिष्ट पार्टीका शंकर पोखरेल, भानुभक्त ढकाल, योगेश भट्टराई, गोकर्ण विष्टहरू पनि विद्यार्थी राजनीतिबाट माथि आउनुभएको हो । यी केही प्रतिनिधि नाम मात्रै हुन्, यस्ता धेरै नाम लिन सकिन्छ ।

यस अर्थमा नेविसंघ नेपाली कांग्रेसको र अनेरास्ववियु कम्युनिष्ट पार्टीहरूको आधार स्तम्भ नै हुन्भन्दा फरक पर्दैन तर प्रजातन्त्र प्राप्तिपछि आफ्नो अभिष्ट पूरा भइहाल्यो अब यस्ता भ्रातृसंगठनहरूको कुनै आवश्यकता छैन भनेजसरी विभिन्न पार्टीका विद्यार्थी संगठनहरू अलपत्र भएर फालिएको अवस्थामा रहँदै आएका छन् । त्यस कारण स्ववियुको निर्वाचन पनि समय-समयमा नहुने, नेताहरूले बेला–बेलामा आफ्नो पक्षका विद्यार्थी नेताहरूलाई काखी च्याप्ने र मनोनित गर्ने कार्य गर्दै आएर स्ववियुको औचित्य समाप्त भइसकेको शैलीमा व्यवहार गर्दै आएका छन् । यसको बाबजुद यही चैत ५ गते देशैभरिका त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा र नेपाल संस्कृत विश्वविद्यालयका सम्बन्धन प्राप्त विद्यापीठहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन गइरहेको छ ।

यसको चार्मिङ कम भएको होला तर औचित्य र आवश्यकता समाप्त भइनसकेको रूपमा विद्यार्थी हकहितका लागि आवाज बुलन्द गर्ने संस्थाको आवश्यकता पर्छ भन्ने मान्यताका आधारमा स्ववियु आवश्यक छ । त्यसकारण आगामी आइतबार हुन लागिरहेको यो निर्वाचनलाई विश्वसनीय बनाउनु आवश्यक छ । विद्यार्थीहरूलाई नेताहरूले आफ्नो आज्ञापालक मात्र ठान्ने गर्नु हुँदैन । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनु आवश्यक छ । नेताहरूले खोलो तरिसकेपछि लौरो बिर्सिएको शैलीमा विद्यार्थी युनियनलाई हेर्नु र व्यवहार गर्नु हुँदैन । हिजोको आफ्नो धरातल त्यही थियो भन्ने सम्झिनुपर्दछ । आजका सबै पार्टीका नेताहरू हिजो कुनै न कुनै विद्यार्थी संगठनमा अवश्यै जोडिएका थिए । त्यसैले भोलिका लागि योग्य राजनीतिज्ञ जन्माउन पनि विद्यार्थी युनियनको निर्वाचनलाई तोकिएको समयमै सम्पन्न गराउने प्रयास गर्नु पर्दछ ।

माथिल्लो तहमा पुगेका नेताहरूले आफ्नो विगत सम्झिएर यस्ता निर्वाचनलाई हिंसात्मक हुनबाट जोगाउँदै शान्तिपूर्ण रूपमा सम्पन्न गराउनेतर्फ प्रयास गर्नु आवश्यक छ । धेरै क्याम्पसहरूमा स्ववियुमा निर्विरोध रूपमै विद्यार्थी प्रतिनिधि छनौट भइसकेका छन् यसको अर्थ हो विद्यार्थीहरूको समेत यसतर्फ रुचि र चासो छैन । अहिले एकै पटक माथिल्लो स्तरमा उक्लिने चाहना धेरैको छ, राजनीतिको पनि एक प्रकारको कोर्स हुन्छ र त्यस कोर्सलाई पूरा गर्दै बढुवा भएरमात्र माथि जानुपर्छ भनेर आजका विद्यार्थीहरूले बुझ्नु आवश्यक हुन्छ । अहिलेको राजनीतिक नेतृत्वको राजनीति देखेर राजनीतिप्रति नयाँ पुस्ताको वितृष्णा पनि हुनसक्छ । तर, नयाँ पुस्ताले त्यसमा आफ्नो संलग्नता गराएर राजनीतिक शुद्धीकरणको प्रयासको चाहना गरेर अघि बढ्ने हिम्मत गर्नु राजनीतिलाई सही बाटोमा डोहोर्‍याउने प्रयास हुनसक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?