सफाइ, सडक मर्मतसम्भार र हामी जनता

Read Time = 16 mins

✍️ शम्भु कोइराला

नमागिएको सल्लाह :
विश्वका प्रमुख फोहोरी शहरमध्ये काठमाडौं पनि एक हो भन्ने प्रतिवेदन सार्वजनिक भएको छ । पूर्वाधारको मर्मतसम्भारको कुरा गर्दा त राजधानीका सडकको अवस्थाले नै कर्णालीको अनुभूति हुन थालेको टिप्पणीमा अतिशयोक्ति छैन कि जस्तो हुन थालेको छ । फोहोरलाई मोहोरको रूपमा लिएर विश्वका सबैजसो देशले यस्को व्यवस्थापन गरेका छन्, सबैजसो देशले सडकका खाल्डाखुल्डी समयमै मर्मतसम्भार गरी सर्वसाधारण नागरिकको यात्रालाई सहज बनाएका छन् ।

विदेशमा रहेका नेपालीको आशाका दियोका रूपमा झुल्किएका तिलस्मी ठानिएका उम्मेदवार बालेन साह पनि कता विलुप्त भए जनताले बिर्सन लागिसके । सडकमा सानो खाल्डो हुँदै मर्मत गरेर खाल्डोरहित बाटो बनाउन सकिन्छ कि भनेर सरोकारवालालाई कुरा राख्दा असम्भव जस्तो गरी लाचारी व्यक्त गर्ने गरेको पाइएको छ । दुनियाँका सबैजसो देशले गरेका सामान्य काम गर्न हामीहरू किन असमर्थ भइरहेका छौं ? हाम्रा शहरहरूले किन कुरूपता झेल्दैछन् ? के यो सरकार वा सरकारी निकायको कारणले मात्र भएको हो त ? यो आलेखमा यस्तै प्रश्नको जवाफ खोज्न कोसिस गरिनेछ । सधैं चर्चा गर्ने गरिएको इच्छाशक्ति सबैभन्दा प्रधान विषय हो । इच्छाशक्तिले प्राथमिकता निर्धारण गर्दछ ।

हाम्रा कति राजनीतिक नेताहरूको प्राथमिकतामा फोहोर व्यवस्थापन र सडक टाल्ने काम पर्दछ भन्ने चर्चा गर्दा-जति चाहिने हो त्यति भएको छैन । यसो भन्ने अवस्था पनि केही मन्त्री र मेयरहरूको केही गर्न सकिन्छ कि भन्ने क्रियाशीलताले बनाएको हो । यो पनि नभएको भए पूर्णतः नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था थियो । पार्टी पंक्तिका ठूला नेताहरू मन्त्री बन्ने कारणले पार्टीगत काम प्राथमिकतामा पर्दा कार्यकारिणी काम ओझेल पर्न गएको अवस्था छ । मेयरहरूको हकमा कुरा गर्दा अपरिपक्वता र एउटा काम नसकी अर्को काममा हात हाल्ने, बिगारेर लथालिंग छोडिदिनाले यिनीहरू पनि अनुभवहीनता र परिपक्व सलाहकार समूह बनाउन नसकेर कुइराको कागजस्तो बनेका छन् ।

सफाइमा नागरिकको लापरबाही :
फोहोर व्यवस्थापन साना र ठूला सबै नगरहरूको समस्या हो । उपत्यकाभित्र भक्तपुर नगरपालिकाले फोहोर व्यवस्थापन गरेर कम्पोष्ट मल उत्पादन गरिरहेको छ भने काठमाडौंका नगरप्रमुखको क्रियाशीलता सेलाएर गएको छ । परिपाटी र प्रणाली नगरपालिकालगायत सरकारी निकायले बनाइदिने र कडाइकासाथ पालना गराउन सकेमा अपेक्षित उपलब्धि सहजतापूर्वक हासिल गर्न सकिन्छ । त्यसो त शहरलाई फोहोर बनाउन हामी नागरिकको पनि कम्ती भूमिका छैन । चाडबाडको समयमा त हामीले हाम्रा देवालयको हुर्मत नै लिइदिन्छौं । धर्मका नाममा गरिने कर्महरूले हामी धेरै फोहोर उत्पादन गरिरहेका छौं । उत्पादन त भयो त्यसको व्यवस्थापन सडकमा, नदीमा फोहोर फालेर गर्दछौँ ।

हाम्रा कति राजनीतिक नेताहरूको प्राथमिकतामा फोहोर व्यवस्थापन र सडक टाल्ने काम पर्दछ भन्ने चर्चा गर्दा, जति चाहिने हो त्यति भएको छैन । यसो भन्ने अवस्था पनि केही मन्त्री र मेयरहरूको केही गर्न सकिन्छ कि भन्ने क्रियाशीलताले बनाएको हो ।

हालैका दिनमा एउटा धार्मिक समूहसँग दोलखाको कालिञ्चोक जाने अवसर मिल्यो । सवारीसाधन चढ्नासाथ एकजना महिलायात्रुले आफूले उत्पादन गरेको फोहोरबाहिर सडकमा फाल्ने कोसिस गर्नुभयो । सहयात्री भएको नाताले एउटा प्लाष्टिकमा जम्मा गरेर राख्ने अनुरोध गरियो । प्रतिवाद गर्दै उहाँले सरकारलाई गाली गर्नुभयो । तपाईं हामीले सहयोग नगर्ने हो भने फोहोर व्यवस्थापनमा सरकारी निकायले मात्र के गर्न सक्दछन् भनेपछि उहाँ धेरै बोल्नुभएन । केही समयपश्चात्, हो त नि-सरकार एक्लैले के गर्न सक्दछ भनेको सुन्दा सुखको अनुभूति भयो ।

अधिकांश सहयात्रीमा फोहोर जम्मा गरेर उपयुक्त स्थानमा विसर्जन गर्नु पर्दछ भन्ने चेत भएर पनि बेवास्ता गरेको पाइयो । चालकको सिटको पछाडिपट्टि प्लाष्टिक राखेको मेसो पाएर प्लाष्टिकमा फोहोर राख्न सहजीकरण गर्दा पनि सोचेजस्तो हुन सकेन । फर्कने क्रममा जब भोटेचौरबाट अघि बढियो सहचालक भाइले फोहोरका पोकालाई खोलाकिनारतिर हुर्‍याएको देखेर त उनको चेतना र बुझाइप्रति टिठ लागेर आयो । त्यहाँ यसो नगर्नु भन्यो कि ओठेजवाफ फर्काइहाल्ने परिस्थितिले मूकदर्शक बनेर बस्नुबाहेक विकल्प रहेन । अन्तिममा उत्पादन गरेको फोहोरको पोको पनि भक्तपुरको सूर्यविनायकको चौडा सडकमा हु¥र्याएको देखेपछि प्रतिवाद गरियो, उनको जवाफ थियो–केही फरक पर्दैन । गरिहाल्छन् नि ।

उसो त सहचालक पढेलेखेका जस्ता थिए, साथीसँग लोकसेवा परीक्षा दिने कुरा गर्दै थिए । त्यहाँ यात्रु पनि अधिकांश के गर्नुहुने, के नहुने भन्नेमा जानकार नै थिए । कानुनको डर भएन भने मानिसको चेतना पनि उन्मत्त र भ्रमित हुँदोरहेछ जस्तो लाग्यो । देख्दा लाग्दथ्यो-धेरैका छोराछोरी विदेशमा थिए । विदेश भ्रमणको अनुभव पनि अधिकांशसँग थियो तर विकृत चेतनाले उनीहरूलाई आफ्नो मातृभूमिमा भने असभ्य बनाइरहेको थियो ।

भगवानको दर्शनमा पक्षपात :
दोलखा भीमेश्वरको दर्शनका लागि हाम्रो टोली दिउँसोको चार बजेतिर मन्दिर पुगेको थियो । साँझ साढे छ बजेमात्र खुल्ने भनेपछि हाम्रो टोली भजनकक्षमा गई भजन गर्नतिर लाग्यो । यसैबीच एकजना अग्ला गोरा ठूलामान्छे अघिपछि सुरक्षाकर्मी लगाएर रवाफका साथमा आए । ती कुनै प्रदेशतिरका सभामुख हुनुपर्छ । ढोका बन्द भएको देखेर उनका अगुवापछुवा पुजारीको खोजीमा लागे । केही समयपश्चात् पुजारी उपस्थित भएर ढोका खोलिदिए । तमाम दर्शनार्थीको भीडको अगाडि बसेर करिब पन्ध्र मिनट जति भक्तिभाव प्रदर्शन गरेर सान देखाउँदै उनी बिदा भए ।

ती ठूलाबडाको दर्शन सकिएपछि हाम्रो टोली लाइनमा बसेको थियो । अर्को एकजना मन्त्रीज्यू भन्दै घुस्न कोसिस गरिरहेका देखिए । उनको सुरक्षाकर्मी बलजफ्ती गरेर ठेल्दै थियो । हाम्रो समूहको सहयात्रीमध्ये एकजनाले जनताभन्दा ठूलो कोही पनि छैन भनेर प्रतिवाद गरेपछि बाहिरिए । तिनी कुनै प्रदेशतिरका मन्त्री हुनुपर्छ । उनी लाइन मिचेर दर्शन गर्न त्यति उत्सुक थिएनन् तर कुनै चाकडीवाजले भक्तिभाव प्रदर्शन गर्न त्यस्तो हर्कत गरेको थियो । उसको कारण हीनताबोध गर्दै फर्किनुपर्ने अवस्था बन्नपुग्यो ।

नाजुक सडकहरू :
नेपालमा खाल्डाखुल्डीरहित राजमार्ग वा सडकमा यात्रा गर्नु असम्भव जस्तो भएको छ । धुलिखेलबाट ओरालो लागेपछि पाँचखाल जानेबाटोको चौडाइ गर्ने काम कहिल्यै नसकिने गरी वर्षौंदेखि धुल्याम्य भएको छ । खाँडिचौरबाट उकालो लाग्दाको केही किलोमिटर बाटोबाहेक लामोदूरी तय गर्नुपर्ने बाटाको अवस्था गतिलो छैन । देलखा जाने राजमार्गबाट कालिञ्चोक उक्लिने बाटो आजभन्दा छ/सात वर्षअगाडिको तुलनामा धेरै सुधार भएको रहेछ । सुधारको काम चलिरहेको छ । राजधानी काठमाडौंको मुख्य पर्यटकीय गन्तव्य नगरकोट जानेबाटो तुलनामा यो बाटोको निर्माणकार्य राम्रो गतिमा भइरहेको पाइयो ।

काठमाडौं उपत्यका बाहिरका बाटाहरूको अवस्था सुधारोन्मुख देखिए तापनि काठमाडौं नजिकका गन्तव्यहरूको बाटाको अवस्था नाजुक छ । संरचनाहरूको मर्मतसम्भार पनि गर्न नसक्ने अवस्थाका कारण हाम्रो क्षमतामाथि गम्भीर प्रश्न उठेको छ । सडक मर्मतको कामलाई किन प्रणालीमा ढाल्न सकिएन ? के यो अवस्थामा सुधार गर्न सकिन्न त ? अहिलेको वैज्ञानिक विकासले असम्भव कामहरूलाई पनि सम्भव बनाएको छ । सडकको अवस्थामा सुधार गर्ने र त्यस्को स्तरीयता कायम गरिराख्ने विषय त सामान्य हो । किन हामी यसमा असफल बनिरहेका छौं भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने भएको छ । सबै राजनीतिक दलमा प्रभाव राख्ने गरी हावी भएका निर्माण व्यवसायी, निर्माण व्यवसायी संघको अनावश्यक दवाव खेप्न नसक्ने कमजोर सरकार, गलत गर्ने ठेकेदार बचाउँन हिँड्ने राजनीतिक नेता, प्रलोभनमा पर्ने कर्मचारीतन्त्र सबै यसका लागि जिम्मेवार छन् ।

चाडपर्वको समयमा ईश्वर, पितृ, भूतप्रेतका नाममा चढाइएको खाद्य पदार्थलगायत सामानका कारण सडक बस्ती प्रदूषित बनेका छन् । पूजा गरिएको सामान नदीमा बगाएर विसर्जन गर्ने मान्यताले हाम्रा नदी प्रदूषित बनेका छन् ।

वर्तमान प्रधानमन्त्री डेरा गरेर बस्ने घरका घरपतिले धेरै ठेक्का अलपत्र पारेको भनेर आलोचना भइरहेको छ । पप्पु कन्स्ट्रक्सन्सले धेरै आयोजना अलपत्र पारेको छ । नयाँ पुल नै भत्केका छन् तर उसलाई अपराध बमोजिमको दण्ड हुन सकेको छैन । सबै पार्टीका मानिस र सरोकारवाला प्राविधिकलाई सेवा सहयोग गरेको कारण आयोजनाको यस्तो हालत भएको भनेर सार्वजनिक आलोचना भइरहँदा पनि अपराध बमोजिमको सजाय नहुने परिस्थितिले दण्डहीनतालाई प्रश्रय दिने अवस्था रहेको छ ।

अन्त्यमा, सरकारहरूको क्षमता कमजोर रहेको विषय जगजाहेर छ । नागरिकहरू पनि जिम्मेवार नन्नु अर्को समस्या भएको छ । यस्को कारण सरकारले दण्डनीतिको प्रयोग नगरेको हुनसक्दछ । केही कुराको पालना गराउँन दण्ड नै प्रयोग गर्नुपर्ने हो भने अरू जीवकोभन्दा विशिष्ट रहेको मानव चेतनाको के अर्थ रहृयो ? विकसित देशमा फोहोर जथाभावी नफाल्ने विषय संस्कार जन्य भयसकेको छ । धर्म, राजनीति कुनै बाहनामा पनि त्यहाँ फोहोर सार्वजनिक स्थानमा विसर्जन गर्नुहुँदैन भन्ने मान्यता रहेको छ ।

चाडपर्वको समयमा ईश्वर, पितृ, भूतप्रेतका नाममा चढाइएको खाद्य पदार्थलगायत सामानको कारण सडक बस्ती प्रदूषित बनेका छन् । पूजा गरिएको सामान नदीमा बगाएर विसर्जन गर्ने मान्यताले हाम्रा नदी प्रदूषित बनेका छन् । सिमेन्टले ढलान गरेको र ढुंगा छापेको स्थानमा सतविज छर्दा पितृलाई शान्ति हुन्छ भन्ने मान्यताले हाम्रा देवालय फोहोरी हुने गरेका छन् । यस्ता धेरै विषय छन् जसको कारण हाम्रो टोलबस्ती प्रदूषित वनेका छन् । धार्मिक मान्यतालाई जगेर्ना गर्ने र शहर फोहोर नहुने परिपाटीको विकास अनिवार्य छ ।

रणनीतिक राजमार्ग खोल्न कुनै सांस्कृतिक कारणले अवरोध गर्ने समाजमा कुरो बुझाउन सहज त छैन तर सरकारी निकाय दृढतापूर्वक लागेको अवस्थामा असम्भव छैन । ठूला आयोजना, ठूलो काम कठिन होला तर सानातिना काम सरकार र जनताको सहकार्यमा गर्न सकिन्छ । फोहोर व्यवस्थानमा त नागरिकको दायित्व सरकारको सरह नैं छ । सडकको खाल्डा बनाउन समन्वय नभएका सरकारी निकाय, सामान्य निकासमा ध्यान नदिएर लापरबाह छोड्ने स्थानीय निकाय जिम्मेवार छन् ।

खाल्डो परेको सूचना समयमा दिने, आफ्नो घरअगाडिको निकासलाई आफैंले व्यवस्थापन गर्ने लगायतका कामहरू नागरिक तहबाट पनि गर्न सकिन्छ । वर्तमान प्रधानमन्त्री प्रचण्डले कुनै कार्यक्रममा भन्नुभएको थियो । जस्ता जनता त्यस्तै नेता । त्यही समाज, त्यही चेतनाको स्तरबाट आएको नेताबाट तिलस्मी उपलब्धिको अपेक्षा गर्नु व्यर्थ छ । सरकार गैंडाको छाला जस्तो भयो भन्दैमा जनता चेतना शून्य बन्न मिल्दैन । फोहोर व्यवस्थापन, सडकका खाल्डाखुल्डी पुर्नेलगायत झिनामसिना काममा नागरिक दायित्वलाई हेक्का राख्नु हामी सबैको कर्तव्य हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?