बेनी-जोमसोम-कोरोला सडकको जोमसोम खण्ड धमाधम कालोपत्रे हुँदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङमा विकास निर्माणको कामले तीब्रता लिएको छ । सडक,पर्यटन र स्थानीय उत्पादनको बजारीकरणमा पछिल्लो समय लोभलाग्दो प्रगति भएको मुस्ताङमा सडक स्तरोन्नति र कालोपत्रे गर्ने कामले पनि गति लिएको छ ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरीडोर सडक आयोजना अन्तर्गत बेनी-जोमसोम-कोरोला सडक खण्डको मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका-२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका-३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम जारी रहेको छ । गौरी- पार्वती/कोषी एन्ड न्यौपाने जेभीले सो काम गरेको हो ।

मुस्ताङको थासाङ गाउँपालिका-२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका-३ र ४ जोमसोम काठेपुल जोड्नका लागि हाल कालोपत्रको काम धमाधम भइरहेको कम्पनीका प्रतिनिधि कमल भण्डारीले बताउनुभयो ।

उहाँले सरोकारवाला निकायले चासोका साथ सहयोग गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कालोपत्रको काम सक्ने बित्तिकै जोमसोम एयरपोर्टदेखि एक किलोमिटर ढलानको कामसमेत सुरु गर्नेछौँ ।’ प्राविधिक रुपमा समस्या नआएमा असार मसान्तसम्म कालोपत्रसँगसँगै अन्य महत्वपूर्ण कामहरुसमेत सकाउने उहाँले बताउनुभयो । काम सुरु भएको दिनदेखि नै स्थानीय निकाय, प्रशासन, स्थानीयवासी र आम सरोकारवाला निकायको भरपुर साथ र हौसला पाएको उहाँको जिकिर छ ।

चार नं प्याकेजअन्तर्गत १७ किलोमिटर सडक सम्पन्न गर्न हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको बेनी-जोमसोम-कोरोला सडक आयोजनाले जनाएको छ । हाल भइरहेको काम कालोपत्र र सडक ढलानको हो । यसमा १६ किलोमिटर अस्पताल पेमेण्ड कालोपत्र र एक किलोमिटर आरसिसी (रिजिट पेमेण्ड ढलान ) गरिने बेनी-जोमसोम-कोरोला सडक आयोजनाका सब-इन्जिनियर तुलबहादुर गुरुङले बताउनुभयो ।

उहाँकाअनुसार कालोपत्र सम्पन्न गर्नका लागि रु ७० करोड ५२ लााख ५७ हजार लागत लाग्नेछ । चार नं प्याकेज ठेक्का नं-४० मा हुन लागेको उक्त कालोपत्रको काम समयमै सकाउनका लागि आफू र आयोजनाको टिम लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सधैँभरि सडकलाई दोष दिएर मात्र हुँदैन, जिल्लाका नियमनकारी निकाय, राजनैतिक दल, सरोकारवाला निकाय र सम्बन्धित स्थानका जनप्रतिनिधिले चासो दिनुपर्छ ।’

विसं २०७३ चैत १ गतेदेखि सुरु भएको बहुचर्चित बेनी-जोमसोम-कोरोला सडक कठिन भू-बनोटका कारण पनि समयमै सकिन नसकेको हो ।
म्याग्दीको बेनीदेखि मुस्ताङको थासाङ गाउँपालिका-४ घासा पुछार अर्थात् काभ्रे भिर र घोप्टे भिरसम्म कठिन भू-बनोटकै कारण सडक निर्माण कार्य ढिलाइ भइरहेको छ । यद्यपि, मुस्ताङको घासादेखि जोमसोमसम्म सडक निर्माण कार्यले भने तीव्रता पाएको छ । विगत केही वर्षयता कोभिड-१९ र बाढी पहिराका कारण काममा ढिलाइ भइरहेकाले गर्दा पनि मुस्ताङका जनतामा निराशापन छाएको थियो ।

सडक स्तरवृद्धि र कालोपत्रको काममा ढिलाइ अनि म्याद थप जस्ता अन्य धेरै कुराले गर्दा आम मुस्ताङवासीलाई दुःखी बनाएको थियो । अब भने सबै तह र तप्काका सरोकारवाला निकायले चासो दिँदा कामले गति लिएको छ ।

यसैबीच, मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचेका वडाअध्यक्ष सुरेश थकालीले म्याद थप मात्रै गरिरहने तर काममा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘यदि कसैले विकासको काममा अवरोध गर्छ भने त्यसलाई पनि हदैसम्मको कारबाही गर्नेछौँ ।’ बेनीदेखि कोरोला नाकासम्म सात खण्डमा भइरहेको काममध्ये हाल भइरहेको ३ नं प्याकेज शर्मा गजरमुखी जेबी र ४ नं प्याकेज गौरी-पार्वती/कोषी एन्ड न्यौपाने जेबीले पनि आफ्नो जिम्माको काम जारी राखेको वडाअध्यक्ष थकालीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?