जावलाखेलले थ्री स्टारलाई हराउँदा चर्च ब्वाइज र मछिन्द्रको बराबरी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जावलाखेल युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तेस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्समा शुक्रबार थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराउँदै जावलाखेलले तेस्रो जित निकालेको हो । जावलाखेलको जितमा एन्कोटो मासोबीले निर्णायक गोल गर्नुभयो । मासोबीले खेलको १६औं मिनेटमा निर्णायक गोल गर्नुभएको थियो । जितसँगै जावलाखेलले पाँच खेलमा १० अंक जोडेको छ । थ्री स्टारले पाँच खेलमा सात अंक जोडेको छ ।

यता, चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । च्यासल मैदानमा शुक्रबार भएको खेलमा चर्च ब्वाइज र मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएको अवसरमा गोल निकाल्न सकेनन् । जसका कारण खेल गोलरहित बराबरीमा सकिएको हो ।

खेलको ११ मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले प्रहार गरेको बल पोष्ट बारमा लाग्दै बाहिरिएको थियो । २७औं मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले उपलब्ध गराएको पासमा आशिष चापागाईले पेनाल्टी क्षेत्रबाट बाहिर प्रहार गर्नुभयो । खेलको ३१औं मिनेटमा मछिन्द्रका उत्सव राईको दोस्रो बार नजिकैबाटको प्रहार चर्च ब्वाइजका गोलकिपर प्रिसोले जोगाउनुभयो । ४०औं मिनेटमा मछिन्द्रका सुजल श्रेष्ठको कर्नरमा देवेन्द्र तामाङको हेडर बल पोस्ट बारमा लाग्दै बाहिरिएको थियो । ४२औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड पाएपछि मछिन्द्र १० खेलाडीमा समेटियो । चर्च ब्वाइजका जोसेपलाई फउल गरेपछि रेफ्री नविन्द्र महर्जनले पुजनलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाउनुभएको थियो ।

५१औं मिनेटमा चर्च ब्वाइजका आशिष चापागाईले उपलब्ध गराएको पासमा अनमार्क रहेका एरिक विष्टको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो । खेलको ५५औं मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले प्रहारले पनि पोष्टको दिशा लिन सकेन । यस बराबरीसँगै चर्च ब्वाइजले पाँच खेलमा ११ अंक जोडेको छ । मछिन्द्रले पाँच खेलमा पाँच अंक जोडेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?