क्रिकेट खेलाडीलाई सरकारले जनही तीन लाख दिने

कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न प्रधानमन्त्रीको निर्देशन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप छनोटमा स्थान बनाउन सफल नेपाली टोलीका सदस्यहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटार बोलाएर उक्त घोषणा गर्नुभएको हो ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन क्रिकेट रंगशालाहरूको कामसमेत पूरा गर्ने जनाउनुभएको छ । प्रधानमन्त्रीको निम्तोमा विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरू बालुवाटार पुग्नुभएको थियो ।

बिहीबार युएईलाई नौ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । योसँगै अंक तालिकामा ३६ खेल खेलेको नेपालले ४० अंकसहित तेस्रो स्थानमा रहृयो । सात टोली सहभागी विश्वकप क्रिकेट लिग-२ मा शीर्ष तीन टोली सोझै विश्वकपमा पुग्ने समीकरण थियो । नेपालबाहेक स्कटल्याण्ड शीर्षमा र ओमान दोस्रो स्थानमा रहँदै आगामी जुन/जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुगे ।

यस्तै लिग दुईबाट पुछारका चार टोली युएई, नामिबिया, अमेरिका र पपुवा न्युगिनीले प्लेअफ क्वालिफायर खेल्नुपर्ने भएको छ । नामिबियामा यसै महिना अन्तिममा हुने प्लेअफमा शीर्ष दुईमा पर्न सके पुनः विश्वकप छनोट खेल्न पाउनेछन् ।

लिग-२ का शीर्ष तीन टोली, विश्वकप छनोटमा सुपर लिग-२ का पुछारका पाँच टोली र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरि कूल १० टोली विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।

जसबाट हरेक समूहबाट शीर्ष तीन-तीन टोली सुपर सिक्समा स्थान बनाउछन् । सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

मधेस र बागमतीको पनि पुरस्कार
यस्तै मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई बधाई दिँदै खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई प्रोत्साहनस्वरुप मधेस प्रदेश सरकारको तर्फबाट जनही दुई-दुई लाख नगद प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

त्यसबाहेक बागमती प्रदेश सरकारले क्रिकेट विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहनस्वरूप जनही एक-एक लाख रुपैयाँ रकम पुरस्कार दिन लागिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो । उत्कृष्ट खेल प्रस्तुत गर्दै क्रिकेट खेलाडीले देशको शिर उच्च बनाएकाले प्रदेश सरकारले सम्मानस्वरूप खेलाडीलाई प्रोत्साहन गरिएको उहाँको भनाइ छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?