जिल्ला अस्पतालमा चरम आर्थिक अनियमितता

कार्यक्रम नै नचलाई निःशुल्क गर्भवती जाँचको बजेट सकियो

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 6 mins

खोटाङ । जिल्ला अस्पतालमा निःशुल्क गर्भवती जाँच कार्यक्रमका लागि आएको बजेटबाट सो कार्यक्रम नै नगरी बजेट सकेको खुलासा भएको छ । आर्थिक वर्ष २०७९/०८० को साउन १ गतेबाट गर्भवती जाँच कार्यक्रमअन्तर्गत गर्भवतीको रगत परीक्षण र भिडियो एक्सरेलगायत आवश्यकताअनुसार स्वास्थ्य परीक्षण गराउन मात्रै प्रदेश स्वास्थ्य मन्त्रालयबाट आएको दश लाख बजेटमा कार्यक्रम नै नचलाई आठ लाख एक हजार २०१ रुपैयाँ बजेट सामान खरिदमा खर्च भएको खुलासा भएको हो ।

२०७९ जेठ १७ गतेबाट अस्पतालको आर्थिक जिम्मेवारी सम्हाल्नुभएका ल्याब टेक्निसियन विमलकुमार देव र लेखापाल अर्जुन खवासको कार्यकालमा गर्भवती जाँच कार्यक्रममा आएको बजेट बस्नेत सर्जिकल हाउस त्रिपुरेश्वर र एमआरएस इन्टरप्राइजेज त्रिपुरेश्वरकोे मिलेमतोमा गर्भवती जाँचलाई चाहिने सामान किनेर बजेट सकेका छन् । एक लाख ९८ हजार ७९९ रुपैयाँ मौजुदा छ ।

गर्भवती जाँचलाई आएको बजेटले बस्नेत सर्जिकल हाउसमा भ्याटसहित ६ लाख नौ हजार ३०६ रुपैयाँ र एमआरएस इन्टरप्राइजेजमा भ्याटसहित एक लाख ९१ हजार ८९५ रुपैयाँको फलाटिन कपडा, हरियो कपडा, थर्मोमिटर, ओटी टावल, ओटी ड्रेस, टर्च लाइट, कोड कटिङ कैँची, सामान्य कँैची, लामखुट्टे झुल, बेड साइडस्क्रिन सेटलगायत खरिद गरेको बिलमा देखिन्छ ।

बजेट अनियमितता भएपछि छानविन समिति
कार्यक्रमको लक्ष्य एकातिर बजेट अर्कोतिर खर्च गरेर बजेट अनियमितता भएपछि अस्पताल सञ्चालन व्यवस्थापन समितिको १ चैतमा बसेको बैठकले अस्पताल सञ्चालन व्यवस्थापन समिति सदस्य कुमार आचार्यको संयोजकत्वमा ज्ञानेन्द्र जोशी र उपिनकुमार राईसहित तीन सदस्यीय छानविन समिति बनाएको छ । छानविन समितिले एक महिनामा प्रतिवेदन बुझाउनेछ ।

पैसा तिरेरै स्वास्थ्य जाँच गर्नुपर्ने बाध्यतामा गर्भवती
प्रदेश स्वास्थ्य मन्त्रालयबाट निःशुल्क गर्भवती जाँच कार्यक्रमलाई बजेट आएर पनि अस्पतालले कार्यक्रम नचलाउँदा साउन १ गतेबाट माघ मसान्तसम्म ३९२ जना गर्भवती महिलाले पैसा नै तिरेर रगत परीक्षण र भिडियो एक्सरेलगायत स्वास्थ्य परीक्षण गराउन बाध्य हुनुपरेको छ । एकजना गर्भवतीले पहिलो जाँच गर्दा झण्डै दुई हजार खर्च हुने गरेको छ । बजेट आएर पनि गर्भवती जाँच कार्यक्रम नगरी बजेट खर्च भएको थाहा भएपछि फागुन १ गते अस्पताल सञ्चालन व्यवस्थापन समितिको बैठकले फागुन २ गतेबाट निःशुल्क गर्भवती जाँच कार्यक्रम सुरु गराएको छ । फागुन २ गतेबाट कार्यक्रम सुरु भएपछि चैत २ गतेसम्म १४७ जना गर्भवतीले स्वास्थ्य परीक्षण गरेका छन् ।

हप्ता दिनमै पैसा फिर्ता गर्ने
अस्पताललाई सामान बेचेको बस्नेत सर्जिकल हाउसले ६ लाख नौ हजार ३०६ रुपैयाँ र एमआरएस इन्टरप्राइजेजले एक लाख ९१ हजार ८९५ रुपैयाँ बजेट हप्ता दिनमा अस्पताल सञ्चलान व्यवस्थापन समितिको खातामा जम्मा गर्ने भएको छ । दुई पार्टीले अहिले पैसा फिर्ता गराइदिने भएको छ । उहाँहरू अहिले होल्डमा बसिदिने हुनुभयो । अस्पतालका लेखापाल खवासले भन्नुभयो, अन्य शीर्षक मिलाएर पैसा पछि दिन्छौँ । भ्याटको पैसा तिरेर बिल मात्रै मिलाई पैसा खाएको र खानेहरूले संकलन गरेर पार्टीलाई पैसा पठाउने र पार्टीले यता अस्पतालको खातामा पैसा पठाउने योजनामा रहेको स्रोत बताउँछ । दुई पार्टीबाट खरिद गरिएको सामान खै त भन्दा सामान प्रयोग भइसकेको स्टोरकिपर सुनिल दाहालले बताउनुभयो ।

अनियमितताको घेरा बढ्यो
निःशुल्क गर्भवती जाँच कार्यक्रमको बजेट अनियमितता भएसँगै अस्पतालका खरिद प्रक्रियाहरूमा पनि अनिमितता भएको स्रोत बताउँछ । म्यादी प्रहरीलाई निरोगिताको प्रमाणपत्र दिएबापत जम्मा भएको करिब एक लाख बजेट आम्दानी नबाँधिएको देखि राजस्व नै जम्मा नगर्ने गरेको अस्पताल निकटस्थ स्रोत बताउँछ । यस्तै, एम्बुलेन्स खरिदमा पनि अनियमितता भएको स्रोत बताउँछ । आर्थिक वर्ष २०७८÷७९ मा प्रदेश सामाजिक विकास मन्त्रालयबाट आएको ३० लाख बजेटबाट भन्सार छुट गरी १२ लाखमा एम्बुलेन्स खरिद र तीन लाखमा बढी बनाउन गरी १५ लाख एम्बुलेन्समा खर्च भए पनि बाँकी १५ लाख बजेट मर्मत लगायतमा सकेको पाईएको छ । गएको साउनयता मात्रै एम्बुलेन्स मर्मतमा तीन लाखभन्दा बढी खर्च भएको देखिएको अस्पताल स्रोत बताउँछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?