सार्वभौमसत्ता सम्पन्न राष्ट्रविरुद्ध बोल्ने छुट कसैलाई छैन : ओली

‘भारतले बार्गेनिङ क्षमता माथि पार्न विद्युत् आवश्यक नभएको गलत प्रचार गर्‍यो’

नारायण भण्डारी
Read Time = 10 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वभौमसत्ता मुलुकविरुद्ध कोही बोल्दै र चम्कँदै हिँड्छ भने जनताले त्यसै नछोड्ने चेतावनी दिनुभएको छ । शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११औँ महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले सत्ता गठबन्धनका नेताहरूतर्फ लक्षित गर्दै सार्वभौमसत्ता सम्पन्न राष्ट्रविरुद्ध बोल्ने कसैलाई छुट नभएको बताउनुभयो । ‘सार्वभौमसत्ता सम्पन्न राष्ट्र राख्नुभन्दा विदेशीलाई सुम्पिदियो भने साग सस्तो पाइन्छ, साइकल सस्तो पाइन्छ । किन यो देश राख्ने भन्छ’, उहाँले यस्तो भनेको सरकारले सुनेको छ कि छैन ? भन्दै प्रश्न गर्नुभयो । ‘यो देशको सन्तान पनि भन्न नसुहाउने देशद्रोही कुरा गरेर मान्छे हिँडिरहेको छ । सरकारले लगाएको कि नलगाएको सरकार सुन्छ कि सुन्दैन ?’, ओलीले प्रश्न गर्दै भन्नुभयोे, ‘यही प्रचारको जनताले प्रतिवाद गर्न नपरोस् । शान्ति सुव्यवस्था कायम गर्न सरकारले ध्यान देओस्, होइन भने जनताले प्रतिवाद गर्छ ।’

उहाँले राष्ट्रियताका विरुद्ध, राष्ट्रको अस्तित्वको विरुद्ध र राष्ट्रको सार्वभौमसत्ताविरुद्ध कोही चम्कँदै हिँड्छ भने कुनै बैंकका डिफल्टर हुन् कि जोसुकै हुन् जनताले सहन नसक्ने बताउनुभयो । ‘लडेर बनाएको र बचाएको देश हो यो । यस देशको हावा र पानी खाएर, देशको सास फेरेर जन्मिएको मान्छे कसरी बोल्न सक्छ कि यो देश अर्कालाई जिम्मा लगाइदिऊँ ?’, ओलीको प्रश्न छ ।

विद्युत् व्यापारभन्दा मुलुकमै खपत गर्नेपट्टि लाग्नुपर्छ
ओलीले मुलुकले विद्युत् व्यापार गर्ने बेला नभएको बताउनुभएको छ । अध्यक्ष ओलीले भारतप्रति संकेत गर्दै ६ रुपैँया प्रतियुनिटमा विद्युत विक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा विद्युत् खरिद गर्न नहुनेसमेत स्पष्ट पार्नुभयो । उहाँले भारतले आफ्नो बार्गेनिङ क्षमता माथि पार्नका लागि विद्युत् आवश्यक नभएको गलत प्रचार गर्ने गरेको र नेपाल त्यसको भ्रममा पर्न नहुने पनि पटक-पटक दोहोर्‍याउनुभयो । अध्यक्ष ओलीले मुलुकभित्रै विद्युत् खपत गरेर, उत्पादनमूलक उद्योगको स्थापना गरेपछि मात्रै यसको बिक्रीको कुरा गर्न उपयुक्त हुने धारणासमेत राख्नुभयो । भारतले अढाई रुपैयाँमा प्रतियुनिट आफ्नो जनतालाई विद्युत् दिने गरेको तर नेपाललाई भने प्रतियुनिट १२ रुपैयाँमा बेच्ने काम गरेर अन्याय गरेको उल्लेख गर्दै त्यस्ता खालको काममा लाग्न नहुने ओलीको भनाइ थियो । उहाँले भन्नुभयो, ‘विद्युत् निर्यात किन गर्नुपर्‍यो ? पहिले यहाँ खपत गरौँ । यहाँ रोजगारी सृजना गरौँ । उत्पादन उद्योगलाई अघि बढाऔँ । हाम्रो राष्ट्रिय खपत क्षमता वृद्धि गरौँ । अनि मात्रै व्यापारका कुरा गरौँला । अहिले विद्युत्को हाहाकार छ । तर, हाम्रो विद्युत् सस्तोमा किन्नका लागि के भन्दिन्छ-हामीकहाँ त विद्युत् आवश्यकताभन्दा बढी भइसक्यो । त्यसो भएपछि हाम्रो बार्गेनिङ क्षमता कमजोर हुने भयो । तपाईंहरूलाई नचाहेको भए पनि किनिदिनोस् भन्नुपर्‍यो । त्यस्तो पनि हुन्छ कुरा । नचाहिएर कसैले किन्छ ? उसकहाँ विद्युत् आवश्यकताभन्दा बढी भइसक्यो भने कुनै हालतमा पनि कुनै सर्तमा अनि सित्तै दिए पनि । मैले खाना पकाएर खाइसकेँ । तपाईंले सित्तै खाना खुवाउँछु भन्नुभयो । कसरी खान्छु ? मेरो आवश्यकता परिपूर्ति भइसक्यो भने म त्यो आवश्यकतामाथि कसरी उपयोगिताको पनि सीमान्तको नियम हुन्छ नि । त्यसकारण कसैले पनि आफूलाई चाहिएको छैन भने किन्दैन । भ्रममा नपरौँ । चाहिएको छ, त्यसकारण किनिराखेको छ । तर, हाम्रो विद्युत् क्षमता आवश्यकताभन्दा बढी विकास भइसक्यो भन्ने कुरा गलत हो । होइन भने हाम्रो विद्युत् किन्ने थिएन । खाली हामीलाई बार्गेनिङ गर्नका लागि ।’

ओलीले एकमहिने लामो यात्रामा जनतासँग भेट्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकमहिने लामो यात्रामा निस्कने हुनुभएको छ । उहाँले मध्यपहाडी लोकमार्गको बाटो हुँदै पूर्वदेखि पश्चिमसम्मको यात्रा गर्ने हुनुभएको हो । वैशाखको दोस्रो हप्ताबाट ओलीले मध्यपहाडी लोकमार्गबाट गाडीको यात्रा गर्दै जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । कानुनका विद्यार्थीसँग बिहीबारको अन्तरक्रियामा पनि अध्यक्ष ओलीले आफू मध्यपहाडी लोकमार्गको यात्रामा निस्किन लागेको बताउनुभएको थियो । उहाँ एकमहिना लामो यात्रामा त्यहाँ रहेका जनतासँग भेट्ने बताउनुभएको छ । मिसन ग्रासरुट अभियान चलाएको एमालेले स्थानीय जनतालाई आफ्नो कार्यकालमा गरेका कामको प्रचार र पार्टीको सुदृढीकरण अभियान थालेको छ ।

‘वर्तमान गठबन्धनमा गडबडी हुनसक्छ’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनमा गडबडी हुनसक्ने बताउनुभएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूको प्रश्नमा अध्यक्ष ओलीले कांग्रेसका केही नेताको भनाइका कारण गडबडीको अनुमान गर्न सकिने बताउनुभएको हो । कांग्रेस महामन्त्री गगन थापाले एमालेसँग तत्काल सरकारमा सहकार्य नहुने बताउनुभएको थियो । राष्ट्रपति निर्वाचनका दिन एमाले अध्यक्ष ओलीले कांग्रेससँग कहिल्यै नमिल्ने कसम नखाएको बताउनुभएको थियो । त्यसैको जवाफमा कांग्रेस महामन्त्री थापाले एमालेसँग तत्काल सहकार्य सम्भव नभएको प्रतिक्रिया दिनुभएको थियो । उहाँले २०८४ सालमा प्रतिपक्षी नेताका रूपमा ओलीलाई भेट्ने बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘२०८४ मा त्यो सम्भावना हुनसक्छ । हामी बालकोट आउँछौँ । प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटघाट गर्छौं ।’

त्यसैको प्रतिउत्तरमा एमाले अध्यक्ष ओलीले शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि भन्नुभयोे, ‘मैले अस्ति सरकारमा कांग्रेससँग सहकार्य कहिल्यै हुँदैन भन्ने कसम खाएको छैन भनेको थिएँ । एकजना चर्का कांग्रेसीले ०८४ सालपछि प्रतिपक्षमा एमालेसँग भेट हुन्छ भन्नुभएको रहेछ । प्रतिपक्षमा भेट्न ०८४ सालमा पर्खुनुपर्दैन अहिल्यै भेट्नुभएको छैन । यो कुराले उहाँहरूभित्र निकै गडबडी देखिन्छ । किन त्यस्तो कुरा बोल्नुप¥यो भन्दा त्यहाँ केही गडबडी छ कि ।’

सरकार बनाउने तपाईंहरूको कुनै अर्को तयारी छ कि भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, ‘सबै कुरा तपाईंहरूलाई भनेँ भने तयारी के भयो र ? डेमोक्रेटिक सिष्टममा हारजित हुनु त स्वाभाविक हो । यो डेमोक्रेटिक सिष्टमभन्दा पनि साँठगाँठे सिष्टम भयो । कसले जित्यो हा¥यो भन्ने कसको शक्ति कति भन्ने नै भएन । जनमत पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार उठाएको छ । यसलाई के भन्ने ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?