गठबन्धनले गति लिँदै

अब विश्वासको मत र मन्त्रिपरिषद् विस्तारतिर ध्यान

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिएसँगै नयाँ गठबन्धनले गति लिने देखिएको छ । दुवै निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएपछि गठबन्धनले गति लिने देखिएको हो । राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी, नेपालका रामसहाय यादव निर्वाचित हुनुभएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिएसँगै अब सरकारले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो सोमबार विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लाग्नुभएको हो । अहिले सत्ता गठबन्धनमा कांग्रेस-माओवादीसहित जसपा नेपाल, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा र आम जनता पार्टी छन् । उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्तिले गठबन्धन गरे पनि उनीहरूले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने गठबन्धनको विश्वास छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुनै निर्णय गरेको छैन । रास्वपाले पनि गठबन्धनलाई साथ दिने सम्भावना कायमै छ ।

राष्ट्रपति निर्वाचनमा रास्वपाले गठबन्धनका उम्मेदवारलाई मत दिएको थियो । राप्रपा र एमाले भने प्रतिपक्षमा बस्ने लगभग तय भएको छ । यद्यपि, एमालेले यसबारे आधिकारिक निर्णय गरिसकेको छैन । विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएसँगै १६ वटा मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले सम्हालिरहनु भएको छ । एमाले र राप्रपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेका छन् भने रास्वपाले समर्थन कायमै राखेको छ ।

चैत्र १० गतेसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत्र १० गते सरकारले पूर्णता पाउने बताउनुभएको छ । शुक्रबार लगानी बोर्डको बैठकपछि कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताउनुभयो । सबै दलहरूसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने उहाँको भनाइ छ । ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको चार दिनभित्रमा सरकारलाई पूर्णता दिन्छु,’ उहाँले भन्नुभयो । सरकार विस्तार हुन कुनै पनि अप्ठ्यारो नरहेको उहाँले बताउनुभयो ।

तीन मन्त्रालयमा एकीकृत समाजवादीको दाबी, गृहमा पहिलो प्राथमिकता : उपाध्यक्ष पाण्डे
नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरूको पहिलो प्राथमिकतामा गृह मन्त्रालय रहेको बताउनुभएको छ । शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न संसद् भवन पुग्नुभएका उपाध्यक्ष पाण्डेले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो पार्टी सरकारमा जाँदा गृह मन्त्रालयमा पहिलो दाबी हुने बताउनुभयो । आफूहरू गठबन्धनमा चौथो दल भएकाले कम्तीमा तीनवटा मन्त्रालयमा दाबी रहने उहाँको भनाइ छ । ‘अहिलेसम्म पार्टीमा कसले नेतृत्व गर्ने र कति मन्त्रालय लिने भन्नेबारेमा खास छलफल भएको छैन,’ उहाँले भन्नुभयो, ‘तर, हाम्रो पार्टीले कम्तीमा तीनवटा मन्त्रालय नघट्ने गरी दाबी गर्छ । राष्ट्रपति कांग्रेसले, उपराष्ट्रपति जसपाले, माओवादीले प्रधानमन्त्री रोज्यो । अहिलेको समीकरणभित्रको चौथो ठूलो दल भएकाले पहिलो प्राथमिकता हामीले गृहलाई नै दिन्छौँ ।’ पार्टी अध्यक्ष माधव नेपाल डेढ वर्ष प्रधानमन्त्री हुने उहाँको भनाइ छ ।

प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ, अब कांग्रेस सत्ता पक्षमा बस्नुपर्छ : थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ गते विश्वासको मत पाउने बताउनुभएको छ । उपराष्ट्रपति निर्वाचनमा मतदानपश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीले विश्वासको मत लिएपश्चात् सरकार विस्तार हुने बताउनुभयो । सरकार बनाउने विषयमा गठबन्धन एक ढिक्का हुने उहाँको भनाइ छ । ‘विश्वासको मत दिने बेलामा गठबन्धन एक ठाउँमा आउँछ । सहजतापूर्वक उहाँले विश्वसको मत पाउनुहुन्छ,’ थापाले भन्नुभयो, ‘सरकारलाई विश्वासको मत दिने र सरकार बनाउने कुरामा एक ठाउँमा उभिन्छौँ ।’ थापाले ५ गते बस्ने प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस सत्ता पक्षको बेञ्चमा बस्नुपर्ने धारणा राख्नुभयो । पार्टीले ५ गतेअघि नै सत्ता र प्रतिपक्ष दलको टुंगो लाग्नुपर्ने उहाँको भनाइ छ ।

तीन दलका शीर्ष नेताबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उपराष्ट्रपतिमा मतदानलगत्तै तीन दलका शीर्ष नेताबीच संघीय संसद् भवनस्थित प्रधानमन्त्रीको कक्षमा छलफल भएको हो । छलफलमा प्रधानमन्त्री प्रचण्डले चैत ६ गते लिने विश्वासको मत, सरकारलाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्नेे तयारी प्रधानमन्त्री प्रचण्डको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?