कविता : मेरो परिचय र इन्टरनेट

हिमालय टाइम्स
Read Time = 7 mins

✍️ प्रशंसा भट्टराई

मेरो हातमा खाली पान्ना छ
जहाँ मेरो आफ्नो तस्वीर खिच्नु छ,
मेरो परिचयको अक्षर कोर्नु छ,
अनि मलाई दिइएका अधुरा घुर्मैला परिचयलाई
सत्यका बान्कीमा
मेरो अस्तित्व सगरमाथा ठड्याउनु छ ।

म छोरी मान्छे,
जसलाई, आमाको कोखले कहिल्यै विभेद गरेन,
समाजले पुरुषको दाँजो मलाई कहिल्यै दिएन,
समाज डराउँछ मेरा लागि, पछ्यौरीले छेक्ने गर्छ,
जोगाउन आफ्ना नजरबाट, कालो टीका पोत्ने गर्छ ।

आज मलाई २१औं शताब्दीको मिरमिरे प्रभातमा उभिनु छ
समाजको धमिलिएको चश्मा फेरि
नवीनताको नयाँ अध्याय थाल्नु छ ।

म आधुनिक्तालाई अँगालेकी चेली,
प्रविधिसँग साइनो गाँस्न पुगेँ,
समाजले छुट्याएको मेरो कुनो
त्यही कुनोमा विश्व समेट्न पुगेँ ।

नयाँ युगको उपहार मलाई,
इन्टरनेट ‘आज विश्व त्यसैले धानिएको छ
त्यो कहिले मेरा लागि आवाज बनिदियो
कहिले ती आवाज सुनिदियो
मलाई आफू भएर बाँच्ने सपना देखाएको
आज मेरो परिचय सोझाउने मूल आधार बन्न पुग्यो ।

यहाँका महिलाको पुरुष सब समान
को अधि को पछिको दौड चल्दो रहेछ
म अनेक तस्वीर चिन्दै थिएँ
म अनेक तस्वीरमा आफूलाई चिनाउँदै थिएँ ,
म न्यूयोर्को मिटिङ न्यूरोडबाट लिन्छु
उता विकास योजनामा आबद्ध हुन्छु
नारी सशक्तीकरणको अभियानका लागि
विश्व परिवेशमा जुरमुराउँदै
डिजिटल साक्षीहरूको बिउ रोपण गर्दछु
परिवर्तनको बहाव बनी
आज डिजिटल प्रविधिले सहस्त्र शीर्ष
सहस्र चक्षु सहस्र भुजा ममा समाहित हुँदा
मेरो यो विराट व्यक्तित्व
अहं ब्रहृमास्मि बनाएको छ ।

आधुनिक्ता झल्कदा ममा,
समाज, त्यो कालो सिसामा चिप्लिएका
मेरा औंला स्वीकार्दैन अझै,
घरी घरी त्यहीभित्र, ती काला प्रोफाइलमा लुकेका
अजिङ्गरहरूले पनि मलाई झस्काउने गर्छन्,
कहिले निर्मला त कहिले सुस्मिता बनाउन खोज्छन्
सायद त्यसैले,
आज दुनियाँले आफूलाई खुला फिँजाएको ठाउँमा
म आफ्ना कुण्ठित वेदना फिँजाउन क्तै डराउँछु
नाम एक रूप अनेक फेरेर व्यापार हुँदा,
म आफू निर्दोष भएको प्रमाण देखाउन.. फेरि डराउँछु ।

समानताको कुरा चर्काचर्कीमा हुँदा
मेरो लैङ्गिक्ता हरेक कुरामा बाधा बनेको छ
काख एउटै ममता एउटै हेर्ने नजर फरक पर्न गयो,
कर्तव्य एउटै जिम्मेवारी एउटै भोग्ने व्यवहार फरक पर्न गयो,
तिम्रा आदर्श काइदाहरूमा बाँधिएर चल्दा पनि
एउटै बाटो कसैलाई चिल्लो कसैलाई खस्रो कसरी पर्न गयो...
अझै
महिला पुरुषबीच
असमानताको पगरी पहिरिएर
रथको एक पाङ्ग्रा कमजोर बनाएर
समाज कसरी गुड्न सक्छ ?
आज अन्तरसञ्जाल विभेदका पर्खाल भत्काउने
अमोघ अस्त्र बन्दा
अन्धकारका पत्रपत्र पन्छाउँदै,
चेतना आलोक बनेर मसँग आइपुगेको छ
अब कर्णालीको ‘म’ ले आफूलाई चिनाउन पाऊँ
राजधानीको ‘म’ ले आफूलाई सुरक्षित पाऊँ
कालो कोट र सेतो साडीबीच दूरी नरहोस्
केवल लैङ्गिता मेरो परिचय नबनोस् ।

आज मेरो क्षमता मेरो परिचय बनेर उग्रँदा
त्यही क्षमता, स्पष्टाउन
प्रविधि मेरो दर्पण बनेको छ,
जहाँ, मैले आफूलाई चिनाउन पाएँ,
चिन्न पाएँ,
मेरो कमजोरी, तागत, क्षमता
मेरा वरिपरि छरपष्ट हुँदा
मैले आफूलाई आफैँले केलाउन पाएँ,
मेरा हातको यो जन्तरभित्रबाट
नारीत्वको आवाज गुञ्जिरहेछ
जहाँ कक क्लारा जेटकिन योगमाया
र सिमोन द बौबार बोलिरहेछन्
युगौं युगदेखि शिर झुकाएर बसेकी म
अब शिर उठाएर सहअस्तित्वको नयाँ यात्रा थाल्नेछु
आज म सक्षम छु,
समाजको दाँजोमा आफूलाई ठड्याउन
तिम्रा ती आलोचनाका वाणीले मेरो सिद्धान्त डग्मगाउन्न अब,
म डट्न जानेकी, लड्न जानेकी, मलाई चुनौती मन पर्छ
आज म आफ्नो परिचयमा क्तै डर जोड्न चाहन्न
म आफ्ना बाँधिएका पाउ खुल्ला फिँजाउन चाहन्छु,
आज उड्न चहाने हर पक्षीका लागि इन्टरनेट खुला
आकाश बनेको बेला,
समाज तिम्रा बादल रूपी विभेदले
त्यो उडान रोक्ने छैन
उचाइ नापेर आइसकेँ अब झुक्ने छैन ।

अब, वास्तवमा एउटा अक्षर क्रान्ति गर्नुछ,
यही, एउटा पानामा मानव सभ्यताको लालीगुराँस फुलाउनु छ,
दुनियाँ सामु मेरो लैंगिक्ता
विपरीत परिचय टक्र्याउनु छ ।
मलाई मेरो परिचय आफैँ कोर्नु छ
ती खाली पानामा....।
इतिश्री.... (कालिका मानवज्ञान माध्यामिक विद्यालय बुटवल-रूपन्देही )

(१३१औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा युएनडिपीद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा लुम्बिनी प्रदेशबाट पुरस्कृत ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?